बाकसभित्र लुक्दै विमान चढेर भाग्न सफल भएका थिए निशानका पूर्व कार्यकारी प्रमुख कार्लोस गोन
काठमाडौं । जापनिज कार उत्पादक कम्पनी निशानका पूर्व प्रमुख कार्लोस गोन नजरबन्दकै समयमा पनि सुटुक्क भाग्न सफल भएको समाचारले अहिले विश्वभरका मिडियाहरुमा विशेष स्थान पाएको छ । केहि दिन अघि मात्र जापान स्थित आफ्नो अपार्टमेन्टबाट भाग्दै लेवनन पुगेका गोनलाई जापानी अधिकारीहरुले कुनै पनि हालतमा जापान फर्काउने र कानुन बमोजिम कारवाहि गरिछाड्ने अठोट लिएका छन् । भाग्न अपनाएको शैली सीसीटीभी फुटेजमा देखिए अनुसार स्थानिय समय अनुसार दिउँसो दुई बजेर ३० मिनेट जाँदा कार्लोस आफ्नो निवासबाट एक्लै बाहिर निस्कन्छन् । उनी एउटा मास्कको सहायताले अनुहार ढाक्दै कुनै होटलमा पुग्छन् जहाँ उनको भेट दुई जना व्यक्तिहरुसँग हुन्छ । ती दुई सहित कार्लोस शिनागावा स्टेशन पुग्छन् र ओसाका जाने रेल चढ्छन् । ओसाकामा पुगेर उनीहरु विमानस्थल नजिकैको एउटा होटलमा बस्छन् । अधिकारीहरुले जनाए अनुसार होटलबाट एयरपोर्ट जाने क्रममा कार्लोसका दुई साथीहरु सांगितीक उपकरण बोक्ने एउटा ठूलो बाकस लिएर निस्कन्छन् । कार्लोस लुकेर बसेको सो बाकस ठूलो साइजको भएको हुनाले एयरपोर्टको एक्सरे मेशिनमा अटाउँदैन र विना कुनै सुरक्षा जाँच नै एयरपोर्ट भित्र रहेको एउटा निजी विमानसम्म पुग्न सफल हुन्छ । कार्लोस गोनसँग लेवनन, ब्राजिल र फ्रान्सका गरी तीन ओटा देशहरुको पासर्पोट थियो । लेवनन सरकारसँग नजिकको सम्बन्ध रहनु र त्यसैगरी लेवनन र जापानका बीच प्रत्यर्पण सन्धी पनि नहुनुले कार्लोसलाई लेवनन जान उचित लागेको हुनसक्छ । यदी उपरोक्त दुई देश बीच प्रत्यर्पण सन्धी गरिएको हुन्थ्यो भने लेबननले कार्लोसलाई पक्राउ गरी जापानलाई सुम्पिन सक्थ्यो । मौनता भङ्ग गर्ने सम्भावना अन्तर्राष्ट्रिय मिडियाहरुले जनाएअनुसार उक्त निजी विमानमार्फत् टर्की हुँदै लेवनन पुग्न सफल भएका कार्लोस गोनले बुधवार यसै विषयका बारेमा पत्रकार सम्मेलन गरी आफ्नो मौनता भङ्ग गर्ने सम्भावना प्रवल रहेको छ । यस्तो थियो कार्लोस माथि लागेको आरोप ६५ वर्षिय कार्लोस् गोनलाई कम्पनीमा आर्थिक अपचलन गरेको आरोपमा पक्राउ गरिएको थियो भने लगत्तै उनी कम्पनीबाट निलम्वनमा पनि परेका थिए । १०८ दिनसम्मको हिरासत बसाइपश्चात् उनी धरौटीमा रिहा भएका थिए । हिरासतबाट बाहिर निस्किए पनि उनलाई देश छाडेर बाहिर जान तथा आफ्नी श्रीमतीसँग भेट्न लगायतका प्रतिबन्ध चाहिँ लागिरहेको थियो । यस किसिमका नजरबन्दीको बावजुद पनि केहि दिन अघि मात्र उनी टोकियो स्थित आफ्नो घरबाट नाटकिय शैलीमा भागेर लेवनन पुग्न सफल भएका थिए । एक समय नायक मानिन्थे कार्लोस हाल आर्थिक अनियमितताको आरोप खेपिरहेका कार्लोसलाई जापानमा कुनै समयमा नायकको संज्ञा दिइएको थियो । सन् २००१ मा उनले टाट पल्टिन लागेको निशान कम्पनीमा प्रमुखको भूमिका सम्हाले पछि सो कम्पनीको अवस्थामा काया पलट नै ल्याइदिएका थिए ।
ईरानको मिसाईल हमलाप्रति ट्रम्प भन्छन्- ‘अल ईज वेल’
काठमाडौं । ईरानले गरेका मिसाईल हमलाप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अल ईज वेल भन्दै प्रतिकृया दिएका छन् । बुधबार बिहान ईरानले गरेको मिसाईल हमला प्रति अमेरिकाका राष्ट्रिपति डोनाल्ड ट्रम्पले यस्तो प्रतिकृया दिएका हुन् । ट्रम्पले ट्विटर मार्फत ‘अल ईज वेल । ईराकमा अवस्थित मिलिटेरी क्याम्पबाट ईरानले मिसाईल हमला गरेको छ । मिसाईले गरेको क्षतिको मापन गरिदैं छ । अहिलेसम्मै हामीसँग संसारकै शक्तिशाली सेना रहेका छन् । म भोली एउटा व्यक्तव्य जारी गर्नेछु ‘ लेखेका छन् । आफ्ना प्रमुख सैन्य कमाण्डर कासिम सुलेमानीको हत्या गरेपछि इरानले अमेरिकासँग बदलास्वरूप मिसाइल हमला गरेको हाे ।
लहैलहैमा होइन बुझेर आउनुपर्छ अष्ट्रेलिया
मेलबर्न । अध्ययनको लागि नेपाली युवापिँढीको आकर्षणक गन्तव्य अष्ट्रेलिया बन्ने गरेको छ । चीन र भारत पछि सबैभन्दा बढी यहाँ विद्यार्थी आउने देश पनि नेपाल हो । कक्षा १२ पढेर अष्टे«लिया आउने सपना धेरै विद्यार्थीले देख्ने गर्दछन् । तर लहैलहैमा यहाँ आउनेहरुले निकै दुःख पाउने गरेको यहाँका अनुभवीहरु बताउँछन् । बुझेर आउनेका लागि भने भविष्य उज्वल भएको यहाँ रहेका नेपालीको भनाइ छ । गैरआवासीय नेपाली महासङ्घ अष्ट्रेलियाका अध्यक्ष केशव कँडेल यहाँ आफ्ना सन्तान पठाउनुअघि अभिभावक र स्वयम् विद्यार्थीले विचार पुर्याउन नसक्दा दुःख पाउने गरेको बताउँछन् । उनका अनुसार सुजबुझबिना आउनेले विभिन्न समस्या भोगेको पाइन्छ । आधिकारीक तथ्याङ्क नभए पनि एक लाख ५० हजारभन्दा बढी नेपाली अष्ट्रेलियाको विभिन्न सहरमा अध्ययन र काममा छन् । कँडेल सङ्ख्या बढिरहेको भन्दै गएको ६ महिनामा ४६ हजार विद्यार्थी यहाँ आएको बताउँछन् । सन् १९७५ देखि नेपाली अष्ट्रेलिया आउन थालेको बताइन्छ । यो क्रम क्रमशः बढ्दै आएको हो । पूर्वतयारी बिना आएका विद्यार्थी यहाँ रोजगारी नपाउने, क्याम्पस शुल्क तिर्न नसक्ने, बस्न–खानदेखि विभिन्न समस्या भोग्न बाध्य छन् । यससँगै परिवार र यहाँको दोहोरो दबाबका कारण मानसिक समस्यामा पर्ने गरेका छन् । यस्तै, नक्कली बिहे, नक्कली लाइसेन्स र सीप नजानी प्रमाणपत्रमात्र बोकेर आउने जोकोहीका लागि अष्ट्रेलियामा समस्या बन्ने गरेको छ । मेलबर्नको एक प्रतिष्ठित अस्पतालमा कार्यरत अजिता दवाडी मानसिक समस्या बोकेर नेपाली विद्यार्थी आउने गरेको बताउँछिन् । उनले भनिन्, “नेपालमा अभिभावकले पैसा पठाउन दबाब दिने यहाँ काम नपाएर वा पाएर पनि क्याम्पसको शुल्क तिर्न कठिन हुँदा विद्यार्थी मानसिक समस्यामा पर्ने गरेका छन् ।” गैरआवासीय नेपाली महासङ्घका अध्यक्ष कँडेल अष्ट्रेलिया नेपालीका लागि महत्वपूर्ण गन्तव्य भएको भन्दै बुझेर आउनेका लागि भविष्य उज्वल भएको बताउँछन् । उनको भनाइमा नेपाली विद्यार्थी कम्तीमा स्नातक वा स्नातकोत्तर गरेरमात्र अष्ट्रेलिया आउनुपर्छ । आउनुअघि सीप लिएरै आउनुपर्छ । घरभित्रका नियमित कामदेखि सीपमा कफी बनाउने, वेटर, हाउसकिपिङ, फ्रन्टडेस्क, कार्यालय सहयोगी जस्ता कुनै न कुनै काम जानेकै हुनुपर्छ । यससँगै नक्कली नभएर गाडी चलाएर चालक अनुमतिपत्र लिएरै आउनुपर्ने उनको सुझाव छ । प्रमाणपत्रमात्र होइन काम जानेरै आउन सुझाव दिँदै उहाँ योग्यता र सीपमा दक्ष र सक्षम भएर आउनुपर्ने बताउँछन् । अष्टे«लियाका लागि नेपाली राजदूत महेशराज दाहालले यहाँका बारेमा आफैँ नबुझी सीपबिना आउनेहरुका लागि शुरुका दिनहरु निकै कठिन भएको भन्दै प्राविधिक र व्यावसायिक तालीम लिएर आउनुपर्ने बताए । सबै कामको यहाँ उत्तिकै सम्मान भएको भन्दै उनले कम्तीमा एउटा सीप भयो भने निकै सहज हुने बताएका छन् । नेपाली विद्यार्थीहरुले कुनै समस्या परेमा तत्काल राजदूतावास, गैरआवासीय नेपाली महासङ्घका प्रतिनिधिलगायत सँग सम्पर्क गर्न र यी सङ्घसंस्थाका वेबसाइट अध्ययन गर्न दाहालले सुझाव दिए । परामर्शदाता कम्पनी छनोट गर्दा अष्ट्रेलियामा शाखा भएको, दर्तावाला, माइग्रेशन एजेन्ट भएको छान्ने र त्यो हो÷होइन विद्यार्थीले गुगलमा खोजी गर्नुपर्ने भन्दै एउटैमा मात्र निर्भर नभएर राम्रो गरी परामर्शदाता कम्पनी छान्नुपर्ने सुझाए । यहाँ ख्याति प्राप्त विश्वविद्यालय छान्न र अध्ययनमा ध्यान दिनुपर्ने भन्दै कँडेलले कुन सहरमा आउने हो सो सहरका बारेमा राम्रोसँग अध्ययन गर्न विद्यार्थीलाई सुझाव दिए । आफ्ना इष्टमित्र, साथीभाइ भएको सहर छान्न, एक वर्षका लागि आवश्यक खर्च व्यवस्थापन गरेरमात्र आउन (करिब आठ हजार डलर), एक वर्षका लागि विश्वविद्यालय शुल्कको तयारी घरबाटै गर्न र अक्टोबरको सत्रमा नआउन कँडेलको सुझाव रहेको छ । अष्टे«लियामा पढाइका लागि यहाँ सामान्यत दुई र केही विश्वविद्यालयमा तीन सत्र हुने गर्दछ । अक्टोवर, मार्च र जुलाई सत्र हुने गर्दछ । जुलाई सत्रपछि बिदा पर्ने भएकाले विद्यार्थीलाई काम खोज्ने अवसर मिल्ने गर्दछ । परामर्शदाता कम्पनीले जहाँ आफूलाई नाफा बढी हुन्छ त्यही भर्ना गरिदिने भएकाले विश्वविद्यालय आफैँ छान्नुपर्ने जानकारहरु बताउँछन् । कँडेल यहाँ आएपछि विद्यार्थीलाई छिटो साथी बनाउन, हरेक विश्वविद्यालयमा स्टुडेन्ट वेलफेयर सपोर्ट अफिसर हुने भएकाले भेट गरी आफ्नो समस्या राख्न सुझाव दिन्छन् । ती सुविधा विद्यार्थीले निःशुल्क पाउँछन् । अष्ट्रेलियमा २४ वर्षअघिदेखि बसोबास गर्दै आएका चितवनका विष्णु अधिकारी विद्यार्थीलाई एक्लो महसुस नगर्न सुभाव दिए । यहाँको यति फुटबल क्लबका संस्थापक अध्यक्ष अधिकारी हरेक सहरमा नेपालीका विभिन्न खेल र गतिविधि हुने भएकाले ती गतिविधिमा सहभागिता हुँदा एक्लोपनको महसुस नहुने र साथीभाई भेटघाटसँगै सहयोग आदानप्रदान हुने बताउँछन् । उपयोगी विषयमा अध्ययन गर्न सकेमा भविष्यमा यहाँमात्र नभएर नेपाल फर्किंदासमेत रोजागारीको अवसर मिल्ने उनको भनाइ छ । अष्ट्रेलियाको कानून तथा सामाजिक चालचलन बुझ्न र आफ्नो जीवन बीमालाई निरन्तरता दिन उनले सुझाव दिए । यहाँ आउँदा नै महिला र पुरुषले एकअर्कालाई सम्मान गर्न र रोजगारीका क्रममा जस्तोसुकै काम इमान्दारिताका साथ गर्छु भन्ने प्रतिबद्धताका साथ आउन अधिकारीको सुझाव छ । अष्ट्रेलियामा बस्ने नेपाली आप्रवासी समुदायमध्ये दोस्रो सबैभन्दा बढी रोजगारी गर्ने समुदायमा पर्दछन् । पहिलो ब्राजिल हो । रासस