महिलाद्वारा महिला माथि हुने दमन ८० प्रतिशत, कर्पोरेट सिँढी चढ्न महिला नै बाधक
काठमाडाैं । कार्यालय समयभित्र एक महिला कर्मचारीले अन्य महिला सहकर्मीहरुलाई ८० प्रतिशतभन्दा बढी समय दमन गरिरहेका हुन्छन् । महिलाहरुमा हाबी हुने महिलाप्रतिको अचेत पूर्वाग्रहको कारण यस्तो अवस्था आएको अमेरिकी संस्था द वर्कप्लेस बुलिईङ्ग इन्स्टिच्युटले जनाएकाे छ । संस्थाले सन् २०१७ मा गरेको अध्ययनले साे कुरा बताएकाे हाे । उक्त अध्ययनले कार्यालयभित्र दुई तिहाइ (३० प्रतिशत) महिलाले अन्य महिला कर्मचारीहरुद्धारा नै प्रताडित हुनुपरेको प्रतिवेदन सार्वजनिक गरेको थियो । यसैगरी, सन् २००६ मा भएको एक अध्ययनमा कार्यथलोमा शोषित भएका महिलाहरुमध्ये करिव ५७ ले आफ्नै महिला सहकर्मीहरुद्धारा शोषणको सामना गर्नुपरेको प्रतिक्रिया दिएका थिए । विभिन्न अध्ययनहरुले करिब ६० प्रतिशत पूरुष कर्मचारीहरु बुलिईङ्ग क्रियाकलापमा संलग्न भएको र उनीहरुको शिकार महिला कर्मचारी भएता पनि यस्ता क्रियाकलापमा संलग्न महिलाहरुको संख्या पनि कम नभएको र उनीहरुको प्रत्यक्ष शिकार आफूभन्दा तल्लो तह र तप्काका महिला सहकर्मीहरु नै हुने गरेको देखाएका छन् । ह्यासट्याग मि टू र ह्यासट्याग टाईम्स अप जस्ता अभियानले सामाजिक विकास तथा संसारभरका महिलालाई एकतावद्ध गराउने लहरको थालनी गरेको छ । त्यसो त विभिन्न पेशा, रोजगारी तथा कार्यक्षेत्रमा संलग्न महिला कर्मचारी तथा व्यवसायिक व्यक्तित्वहरुले पूरुष सहकर्मीबाट खेप्नुपरेको यौन हिंसा, अश्लिल छेडछाड तथा अन्य विविध स्वरुपका शाेषणबारे खुलेर बोल्न थालेता पनि महिलाद्धारा महिला कर्मचारीहरुमाथि हुने शाेषण र दमनबारे भने अझै मुख खोल्ने वातावरणको विकास भइसकेको छैन । हालसालै प्रकाशित एक जर्नलले त ७० प्रतिशत जति महिला अधिकृतहरुले कायस्थलमा अन्य महिला कर्मचारीहरुद्धारा कुनै न कुनै रुपमा शोषण, हिंसा, दमन तथा थिचोमिचो झेलिरहेको र सोहि कारण पीडित महिलाहरुले यथोचित रुपमा ‘प्रोफेसनल ग्रोथ’ हासिल गर्न नसकिरहेको डरलाग्दो तथ्य उजागर गरको छ । आफ्ना पुरुष सहकर्मीहरुसँग बराबरीको हैसियत हासिल गर्न तथा समानरुपमा अधिकार एवं शक्तिको अभ्यास गर्नका लागि महिलाहरुले दशकाैंदेखि संघर्ष गरिरहेता पनि यस्ता संघर्षहरुले सोहि अनुरुपको चुनौती ल्याउने गरेको फोब्र्सले जनाएको छ । ‘कार्यालयमा उँचो स्थान हासिल गर्न सफल महिला कर्मचारीहरुले प्रायजसो सो वातावरणमा टिकिराख्न र आफूलाई जोगाइराख्न थप आक्रामक नेतृत्वको शैलीको अवलम्बन गर्दछन्,’ यस्तो आक्रामक नेतृत्व शैलीलाई टक्सिक मास्कुलिनीटी (हानिकारक पुरुषत्व) नाम दिएको फोब्रसले अगाडी लेखेको छ । के हो टक्सिक मास्कुलिनीटी ? अमेरिकी मानव संशाधन व्यवस्थापक ऐञ्जिलिक हेमिल्टनले सफलरुपमा नेतृत्व प्रदान गर्न जब महिला कर्मचारी, सुपरिवेक्षक वा व्यवस्थापकहरुले आफ्ना समान तहका पूरुष कर्मचारीहरुको व्यवहारको सिको गर्ने प्रवृत्ति नै टक्सिक मास्कुलिनीटी भएको बताएकी छिन् । शुरु-शुरुमा आफूलाई कडारुपमा प्रस्तुत गर्नका लागि टक्सिक मास्कुलिनीटीको आचरण अंगिकार गरेतापनि यो अन्तत नेतृत्वको नकारात्मक शैलीको रुपमा विकसित हुन्छ । कन्फ्लिक्ट रिजोलुसन सेन्टरकी संस्थापक बिना पटेलका अनुसार महिलाहरुले उपल्लो दर्जाका नेतृत्वकर्ताहरुको नजरमा टिकिराख्नका लागि उनीहरुको वास्तविक भावनात्मक अवस्थालाई त्याग्ने गर्दछन् । अझ यदि उनीहरु काम वा पदमा नयाँ भर्ती भएका हुन् भने सो कार्यस्थल संस्कृतिमा उपयुक्त हुनका लागि जस्तोसुकै आवश्यक कदम पनि लिन सक्छन् । नरम र मिलनसार हुँदा अरुले हेप्ने र असक्षम देखिने सोचका कारण आफ्नो भावनात्मक बौद्धिकतालाई कम गरी टक्सिक महिलाहरुले अधिकरुपमा कठोर पूरुषको स्वभाव अनुशरण गर्दछन् । माइरुफपाल नामक एक अमेरिकी कम्पनीको संचालन प्रमुख कोवोर्टनी केनेले पूरुष सहकर्मीहरुसँग आफ्नो तालमेल मिलाइराख्न महिला कर्मचारीहरुलाई थप आक्रामक र निर्मम व्यवहार देखाउन दबाब परिरहेको हुन्छ जसको कारण उनीहरु नारीजन्य स्वभावको प्रदर्शनको कारण आफूबाट अरुले लाभ लिने वा आफूलाई अन्य कर्मचारीहरुले हलुका रुपमा लिने गलत सोचको शिकार हुन पुग्दछन् । एक अध्ययनअनुसार कार्यालय वा संस्थामा मध्य तहसम्म पुगेका महिला अधिकृत तथा व्यवस्थापकहरु अझ माथिल्लो स्थानमा उक्लने लक्ष्य राख्दछन् र सोक्रममा उनीहरुले आफू अन्य महिला कर्मचारीहरुभन्दा कडा र सक्षम भएको प्रमाणित गर्न चाहन्छन् । उनीहरुले कर्पोरेट सिँढी चढ्न असफल अन्य महिला कर्मचारीहरु भन्दा आफूलाई गतिशिल, सफल र सर्वोच्च मान्न थाल्छन् । टक्सिक मास्कुलिनीटीको स्वरुप कस्तो हुन्छ ? खासमा संस्था तथा कार्यालयप्रतिको उनीहरुको नियत सफा र सकारात्मक भएता पनि आफूभित्र भएको शंसय तथा असुरक्षाको कारण यस्ता महिलाहरु टक्सिक लिडर (हासिनकार नेतृत्वकर्ता) हुन पुग्छन् । आफूभन्दा तल्लो तहका अन्य महिला कर्मचारीहरुलाई सघाउन वा सशक्त बनाउनतर्फ लाग्नुको सट्टा उनीहरुले ती कमजोर कर्मचारीहरुलाई आफ्नो निशाना बनाउने गर्दछन् । सोउलस्टाइस कन्सलट्यान्सिका संस्थापक डक्टर फ्रउजा बुकरका अनुसार यस्तो टक्सिक वोमनले कुरा गर्दा अन्य महिला कर्मचारीहरुको अवमूल्यन र आफ्नो बढावा गर्नु सामान्य कुरा हो । उनको भूतपूर्व फिमेल बोसले ‘आफूले गर्न बाँकी (महत्वपूर्ण) काम केहि नरहेको र आफूजस्तो क्षमतावान कोहि नभएको’ बताउने गरेको उनी सम्झिन्छन् । फोब्रसका अनुसार भिन्न मत तथा रायलाई ठाडै अस्विकार गर्नु, आफू अगाडी बढ्न कार्यालयभित्र फोहोरी राजनीतिक खेल खेल्नु र कसैस“ग पनि झुक्न वा माफी माग्न नपर्ने सोच पाल्नु टक्सिक वोमनका केहि चरित्रहरु हुन् । जसको परिणामस्वरुप उनीहरुले अन्य महिला कर्मचारीहरुलाई समूहबाट अलग्याउने, उनीहरुको कामको जिम्मेवारीलाई विना कारण नै अत्याधिकरुपमा बढाइदिने वा घटाइदिने, कार्यालयजन्य वा कामबारेको सूचना नियोजित ढंगबाट लुकाउने वा गलत सूचना प्रवाह गर्ने लगायत समग्र कार्यालयको माहोलमा नकारात्मक असर पर्ने खालको गलत अभ्यासहरु थाल्दछन् । संस्थाको माथिल्लो तहको पदसम्मको यात्रामा यस्ता टक्सिक महिला नेतृहरुले कामप्रति प्रतिवद्ध छु भनेर प्रमाणित गर्ने क्रममा आफ्नो वर्क-लाइफ सन्तुलनलाई बिगार्दछन् । उनीहरु सप्ताहन्त, छुट्टी मनाउँदा वा यति सम्म कि सुत्केरी बिदामा बस्दा पनि काममै सक्रिय भैरहेका हुन्छन् । यसैगरी, उनीहरुले अन्य महिला कर्मचारीहरुमाथि पनि ‘मात्र काम गर्नका लागि बाँच’ भन्ने नीति लाद्छन् र जसले सो गर्न चुक्छ, उनीहरुलाई दण्डित पनि गर्दछन् । आफूभन्दा माथिका व्यवस्थापहरुका लागि टक्सिक वोमनले कामप्रति देखाएको लगाव तारिफयोग्य हुनसक्ला तर बास्तविकता के हो भने यो उनीहरुको अरुमाथि नियन्त्रण गर्ने सोच र समूहमाथिको विश्वासको अभावको प्रतिविम्ब हो । किन महिलाहरु एक अर्काको खेदो खन्न तल्लीन छन् ? कार्यालयभित्र महिलाहरुले आफूजस्तै महिलाहरुको कारण त्रसित एवं असुरक्षित महसुस गरेका कारण उनीहरु एकअर्का बिरुद्ध खनिने गरेको अध्ययनहरुले देखाएका छन् । उनीहरुमा भएको सबैभन्दा ठूलो डर भनेको कतै मैले हासिल गर्न खोजेको कुर्सी वा पद अरु महिला कर्मचारीहरुले हात पार्ने त हैन भन्ने सोच हो । सबैजनासँगै मिलेर संस्थाको उद्देश्य हासिल गर्न तर्फ लाग्नुपर्नेमा टक्सिक महिलाहरु अरु महिलाहरुलाई प्रतिद्वन्दि मानी उनीहरु विरुद्धको काम थाल्दछन् । मनोविज्ञानको दृष्टिकोणबाट हेर्ने हो भने आफ्नो शक्तिको दुरुपयोग गरी अन्य महिला सहकर्मीहरुलाई प्रताडित गर्ने टक्सिक नेतृहरु शक्ति र सम्मान हासिल गर्ने आफ्नै मनोवैज्ञानिक युद्धमा तल्लीन हुन्छन् । उनीहरुका लागि अन्य महिलाहरुलाई माथि उठ्न दिनु भनेको आफू तल गिर्नु सरह हो । ‘सबैभन्दा खतरनाक कुरा के हो भने जब महिलाहरुले आफूलाई अन्य महिला सहकर्मीहरुभन्दा नीच सोच्दछन् अथवा त्रसित महसुस गर्छन्, त्यस्तो अवस्थामा उनीहरुले जस्तोसुकै क्रुर र हानिकारक काम गर्न पनि पछि पर्दैनन् ।’ सम्थिङ्ग मेजर नामक संस्थाका निर्देशक राण्डि ब्राउनले बताए । अध्ययनहरुले धेरै नै संख्यामा र छिटोछिटो महिला कर्मचारीहरुले जागिर छाड्ने गरेको बहुसंख्यक कार्यालयहरुमा महिला नै निर्णायक वा प्रमुख तहको कर्मचारी भएको पाइएको देखाएका छन् । अरुलाई शोषण गर्न शक्तिको दुरुपयोग गर्ने टक्सिक वोमनबाट अरुले पनि नेतृत्वमा बसेर काम गर्ने हो भने आफूहरु पनि त्यसैगरी कठोर हुनुपर्छ भनेर सोच्न थाल्दछन् जसले भविष्यमा टक्सिक लिडरहरुको संख्यामा उल्लेख्य वृद्धि ल्याउनेछ । सामना गर्ने उपायहरु लैङ्गकिताको बाबजुत मनमा सबैप्रति सद्भाव र माया भएको व्यवस्थापकसँग सुरक्षित, सम्मानजनक, स्वस्थ र उत्साहजनक वातारणमा काम गर्न पाउने अधिकार सबैमा निहित हुन्छ । परिस्थिती झन् बिग्रने डरका कारण शोषण वा थिचोमिचोको शिकार भएका असंख्य पीडितहरुले आफ्नो अवस्थाबारे खुलेर कुरा गर्न सकिरहेका छैनन् । यस्तो मौनताले कार्यालयभित्रको बुलिईङ्गको संस्कारलाई झन् संस्थागत गर्न सघाउँदछ । यदि आफू अरु महिला कर्मचारीहरुका कारण अनावश्यक रुपमा समस्यामा परेको छु भन्ने लाग्छ भने सो अवस्थामा ‘सबैलाई यस्तै त हो नि’ भनेर सहेरै बस्नुभन्दा पनि आफूमाथि किन अन्याय भइरहेको छ भनेर सोधीखोजी गर्न थाल्नु पर्दछ । यदि यसका लागि तपाईं एक्लै तयार हुनुहुन्न भने पिडामा पारिएका अन्य सहकर्मीहरुसँग मिलेर समूहको गठन गर्न सक्नुहुन्छ जसले तपाईंहरुको आवाज बुलन्द गर्न र कार्यालयभित्र सुमधुर वातावरणको निर्माण गर्न पनि सहयोग गर्दछ । बुलिईङ्गको घटनालाई रोक्न वा कम्तिमा कम गर्न प्रमाणहरुको संग्रह गर्नुपर्दछ जसमा घटनाको सकेसम्म सबै विवरण हुनुपर्दछ । उदाहरणको लागि, कसले, कसलाई, किन, केका लागि, कसरी, कुन अवस्था र परिस्थितीमा बुलिईङ्ग गर्यो र यदि सोको कोहि प्रत्यक्षदर्शी थिए भने उनीहरुको नाम पनि उल्लेख गर्ने । प्रमाणको यस्तो संग्रहलाई अरु कसैले नदेख्ने वा नभेट्ने गरी गोप्य तरिकाले राख्ने जुन भोली कम्पनीको मानव शंसाधन प्रमुख, कम्पनी प्रमुख वा बोर्डका अध्यक्ष लगायतलाई पेश गरी न्याय पाउन सकिन्छ । आफूमाथि किन शोषण भइरहेको छ भनेर बुझ्नु पनि फाइदाजनक हुन्छ । हुनत जुनसुकै बहानामा गरिएको भएता पनि बुलिईङ्ग पूर्णत गलत कार्य हो । तर कहिलेकाही आफूले यथोचित कार्यसम्पादन गर्न नसकेको र सो कुरा सिधै नभनेर वा भन्न नसकेर कतै तपाईंको टक्सिक नेतृले तपाईंलाई बुलिईङ्ग गरिरहेकी त छैनन्, सो बुझ्न सक्नुभयो भने आफ्नो सम्पादनलाई सुधार गरी तपाईं शोषणबाट जोगिन पनि सक्नुहुन्छ । सबै उपायहरुले काम नगरेको अवस्थामा तपाईंले कम्पनीका प्रमुख वा बोर्ड अध्यक्ष सामू उजुरी हाल्न सक्नुहुन्छ । तर सो अवस्थामा फेरी पनि टक्सिक लिडरले तपाईंस“ग बदला लिने प्रयास गरेका छन् भने तपाईंले कानूनी उपचारको साहार लिनुपर्दछ ।
बिएफआइएन र भिक्टोरिया युनिभर्सिटीबीच सम्झौतापत्रमा हस्ताक्षर
काठमाडौं । बैंकिङ्ग फाइनान्स एण्ड इन्स्योरेन्स इन्टिच्यूट अफ नेपाल (बिएफआइएन) र भिक्टोरिया युनिभर्सिटी( भियु) बीच बुधबार आपसी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बिएफआइएनका प्रबन्ध निर्देशक डा. विनोद आत्रेय र भियुका व्यवसाय तथा कानुन संकायका प्रो.मार्क फरेलले हस्ताक्षर गरेका हुन् । माघ २८ गतेदेखि फागुन ३ गते सम्म भएको बिएफआइएन र भियुको संयुक्त आयोजनामा अष्ट्रेलियाको मेलबर्नमा संचालन गरिएको ५ दिने एक्सक्युटिभ लिडरसिप डेभलपमेन्ट प्रोगामको उद्घाटन समारोहमा उक्त समझदारी पत्रमा हस्ताक्षर भएको थियो । समझदारी पत्रमा दुई संस्था बिचको समन्वयमा नेपालका बैंक तथा वित्तिय संस्थामा उच्च पदस्थ कर्मचारीहरुको नेतृत्व विकास तथा अन्य सम्बन्धी बिभिन्न तालिम, गोष्ठी तथा सेमिनारहरुको आयोजना गर्ने, बैंक तथा बित्तीय संस्थाका कर्मचारीहरुको बैंकिङ्ग, बिमा, पुँजी बजार, व्यवस्थापन लगायतका अन्य क्षेत्रहरुसंग सम्बन्धित ज्ञान विकासका लागी संयुक्त रुपमा मान्यता प्राप्त ३ महिने, ६ महिने तथा १ बर्षे कार्यक्रमहरु संचालन गर्ने विषय रहेका थिए । यसैगरी, भियुले निर्धारण गरे अनुसारको योग्यता पुगेका अधिकृतहरु तथा विद्यार्थीलाई इन्टनशीपमा पठाउन सकिने, संयुक्त रुपमा वित्तिय क्षेत्रका बिभिन्न विषयमा खोज गर्ने लगायतका विषयवस्तुहरु समावेश गरिएका छन् । उक्त तालीम कार्यक्रममा भियुका व्यवसाय तथा कानुन संकायका प्रो.मार्क फरेलले उपस्थित विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रतिष्ठित संचालकहरुलाई स्वागत गरेका थिए । उक्त तालिममा नेपालका प्रतिष्ठित वाणिज्य बैंक, विकास बैंक तथा लघुवित्त संस्थाका १७ जना संचालकहरुको उपस्थिति रहेको थियो । भिक्टोरिया युनिभर्सिटी अष्ट्रेलियाको मेलबर्नमा स्थापित एक सार्वजनिक अनुसन्धान विश्वविद्यालय हो । सन् १९१० मा स्थापना भएको अन्तराष्ट्रिय स्तरको मान्यता प्राप्त यस विश्वविद्यालयले बिभिन्न बिषयमा प्राबिधिक तथा उच्च शिक्षा प्रदान गर्दै आइरहेको छ । बिएफआइएन इमर्जिङ्ग नेपाल लिमिटेड लगायत वाणिज्य बैंकहरु, विकास बैंकहरु, वित्त कम्पनीहरु, लघुवित्त संस्थाहरु र पूँजी बजारसँंग सम्बन्धित संस्थाहरु गरी कुल १६ वटा संस्थाहरुको संयुक्त लगानीमा स्थापना भएको हो
वारेन बफेट सबैभन्दा ठूला पराेपकारी, यी हुन् विश्वका २५ ठूला दानबीर
काठमाडाैं । पछिल्लो समय धनी र गरिबबीचको आयमा अन्तर र श्रोतहरु माथिको उनीहरुको पहुँच र नियन्त्रण बिकरालरुपमा बढ्दो छ । अन्तर्राष्ट्रिय गैर-सरकारी संस्था अक्सफामले यसै साता प्रकाशित गरेको प्रतिवेदन ‘टाइम टु केअर’का अनुसार सन् २०१९ मा संसारका सबैभन्दा धनी २१ सय ५३ जनाको सम्पत्तिमाथि नियन्त्रण विश्वको अति गरिब ४.६ अर्ब मानिसको भन्दा बढी रहेको छ । यो प्रतिवेदन संसारभरीका गरिब तथा बिपन्न जनसंख्यालाई निराश बनाउने खालको छ । तथापि, केही समययता विश्वका सबैभन्दा धनी मानिसहरुको समूहले दलित, गरिब, सिमान्तकृत तथा अति-बिपन्न बर्गको हितका लागि बढाइरहेको सहयोगले यी बर्गका मानिसहरुलाई धेरै नै राहत दिइरहेको छ । विश्वप्रख्यात अर्बपतिहरुले गैरनाफामूल संस्थाहरुमार्फत नभइ आफैले च्यारिटी फाउण्डेसनको स्थापना गरी सोहि फाउण्डेसनहरु मार्फत परोपकारको काममा धेरैजसो लगानी गरिरहेका छन् । फोब्रसले सन् २०१४ देखि २०१८ सम्म अमेरिकाका सबैभन्दा ठूला धनाढ्यहरुमध्ये सबैभन्दा बढी च्यारिटीमा खर्च गर्ने २५ धनी मानिसहरुको सूची तयार गरेको छ, जसमध्ये २१ जना अर्बपति छन् । फोब्सकाअनुसार यी पाँचै वर्ष सबैभन्दा बढी दान गर्ने ब्यक्ति वर्कसायर हाथवेका मालिक वारेन बफेट हुन् जसले सो अवधिमा १४.७ अर्ब मानवहितको क्षेत्रमा लगाए । यस रकमको ठूलो हिस्सा उनले अर्बपति साथी बिल र मालिण्डले चयन गरेको कार्यमा गेट्स दम्पत्तिद्धारा नै स्थापित बिल एण्ड मालिण्डा फाउन्डेसनमार्फत खर्च गरेका थिए । अमेरिकाको सियाटलमा बसोबास गर्ने गेट्स दम्पत्ति पनि अत्यधिक उदार दम्पत्तिको रुपमा सुपरिचत छन् भने पछिल्लो पाँच वर्षको अवधीमा उनीहरुले समाजसेवाका लागि गरेको करिब ९.९ अर्ब अमेरिकी डलर बराबरको खर्चका आधारमा उनीहरु बफेटपछिको दोश्रो ठूलो दाता हुन् । ‘त्यसो त धेरै सम्पत्ति हुनेले धेरै दान गर्नु कुनै नौलो कुरा होइन, तर, कम सम्पत्ति भएर पनि धेरै दान गर्ने मामुलामा ड्युटी फ्रि स्टोर मालिक चक फिनीलाई कसैले जित्न सक्दैन,’ फोब्रसले उल्लेख गरेको छ । फोब्र्सका अनुसार बिगतमा अर्बपतीको सूचिभित्र पर्न सफल फिनीले २०१४ देखि २०१८ सम्म १.६ अर्ब अमेरिकी डलर दान गरे भने अहिलेसम्म आठ अर्ब अमेरिकी डलर गरिब तथा दिनदुखीका लागि समर्पित गरिसकेका छन् । लोकोपकारमा जेम्स बोण्ड भनेर चिचिने फिनीले आफ्नो जिवनभरको लगभग सबै कमाइ दानपुण्यमा लगाएका थिए । कुल सम्पत्तिको तुलनामा कसले कति दान गर्यो भनेर तुलना गर्न फोब्रसले दाताहरुको कुल सम्पत्तिको आधारमा दान गरेको रकमको प्रतिशत पनि निकालेको छ जसअनुसार फेसबुकका संस्थापक मार्क जुकरबर्गले पाँच वर्षका अवधीमा जम्मा सम्पत्तिको १.२ प्रतिशतमात्र दान गरे । फोब्रसको अध्ययनअनुसार अमेरिकाका २५ जना सबैभन्दा ठूला दाताहरुले अध्ययन अवधीमा कुल ५१.६ अर्ब अमेरिकी डलर बराबरको दान गरेका थिए जुन रकम गरिब मुलुक तथा पछाडी पारिकएका समाजले भोगका समस्याहरु जस्तै आपराधिक न्याय, शिक्षामा सुधार, वैज्ञानिक अनुसन्धान र गरिबी निवारणजस्ता क्षेत्रमा गएको थियो । तल सन् २०१४ देखि २०१८ सम्म सबैभन्दा बढी दान गर्ने प्रमुख २५ मध्ये २० जना दाताहरुको सूची प्रस्तुत गरिएको छ । १. वारेन बफेट दानको क्षेत्र – स्वास्थ्य, शिक्षा, सामाजिक न्याय, महिला अधिकार, गरिबी निवारण लगायत कुल सम्पत्ति – ९० अर्ब अमेरिकी डलर पाँच वर्षभित्र गरेको दान – १४.७ अर्ब अमेरिकी डलर कुल सम्पत्तिमा दान गरेको रकमको प्रतिशत – १६.३ २. बिल र मेलिण्डा गेट्स दानको क्षेत्र – स्वास्थ्य, गरिबी निवारण लगायत कुल सम्पत्ति – १०९.६ अर्ब अमेरिकी डलर पाँच वर्षभित्र गरेको दान – ९.९ अर्ब अमेरिकी डलर कुल सम्पत्तिमा दान गरेको रकमको प्रतिशत – ९ ३. जर्ज सोरोस दानको क्षेत्र – आर्थिक विकास, मानव अधिकार, प्रेश स्वतन्त्रता, मतदाता स्वतन्त्रता लगायत कुल सम्पत्ति – ८.३ अर्ब अमेरिकी डलर पाँच वर्षभित्र गरेको दान – ३.१ अर्ब अमेरिकी डलर कुल सम्पत्तिमा दान गरेको रकमको प्रतिशत – ३७.४ ४. माइकेल ब्लुमबर्ग दानको क्षेत्र – स्वास्थ्य, जलवायू परिबर्तन लगायत कुल सम्पत्ति – ५९.५ अर्ब अमेरिकी डलर पाँच वर्षभित्र गरेको दान – ३ अर्ब अमेरिकी डलर कुल सम्पत्तिमा दान गरेको रकमको प्रतिशत – ५ ५. वाल्टन परिवार दानको क्षेत्र – शिक्षा, वातावरण संरक्षण लगायत कुल सम्पत्ति – १८१.४ अर्ब अमेरिकी डलर पाँच वर्षभित्र गरेको दान – २.३ अर्ब अमेरिकी डलर कुल सम्पत्तिमा दान गरेको रकमको प्रतिशत – १.३ ६. जिम र म्यारिन सिमोन्स् दानको क्षेत्र – स्टिम (साइन्स्, टेक्नोलोजी, इञ्जिनियरिङ्ग एण्ड म्याथम्याटिक्स) अनुसन्धान कुल सम्पत्ति – २१.६ अर्ब अमेरिकी डलर पाँच वर्षभित्र गरेको दान – १.६५ अर्ब अमेरिकी डलर कुल सम्पत्तिमा दान गरेको रकमको प्रतिशत – ७.६ ७. चक फिनी दानको क्षेत्र- विज्ञान, मानव अधिकार, यूवा लगायत पाँच वर्षभित्र गरेको दान- १.६ अर्ब अमेरिकी डलर कुल सम्पत्तिमा दान गरेको रकमको प्रतिशत- १०० ८. हान्सजइर्ज विस दानको क्षेत्र – वातावरण, विज्ञान लगायत कुल सम्पत्ति – ६.३ अर्ब अमेरिकी डलर पाँच वर्षभित्र गरेको दान – १.५५ अर्ब अमेरिकी डलर कुल सम्पत्तिमा दान गरेको रकमको प्रतिशत – २४.६ ९. पाइरी ओमिडायर दानको क्षेत्र – शिक्षा, गरिबी निवारण, मानव अधिकार, प्रकोप उद्धार लगायत कुल सम्पत्ति – १३.३ अर्ब अमेरिकी डलर पाँच वर्षभित्र गरेको दान – १.४ अर्ब अमेरिकी डलर कुल सम्पत्तिमा दान गरेको रकमको प्रतिशत – १०.५ १०. गोर्डन र बिटी मुर दानको क्षेत्र – शिक्षा, वातावरण, विज्ञान लगायत कुल सम्पत्ति – ११.८ अर्ब अमेरिकी डलर पाँच वर्षभित्र गरेको दान – १.४ अर्ब अमेरिकी डलर कुल सम्पत्तिमा दान गरेको रकमको प्रतिशत – ११.९ ११. जोन र लौरा अर्नल्ड दानको क्षेत्र – शिक्षा, स्वास्थ्य र अपराधीक न्याय लगायत कुल सम्पत्ति – ३.३ अर्ब अमेरिकी डलर पाँच वर्षभित्र गरेको दान – १.२ अर्ब अमेरिकी डलर कुल सम्पत्तिमा दान गरेको रकमको प्रतिशत – ३६.४ १२. मार्क जुकरबर्ग र प्रिससिला चान दानको क्षेत्र – शिक्षा, रोगको उपचार, समावेशी समाज, विज्ञान र अपराधीक न्याय लगायत कुल सम्पत्ति – ८१.८ अर्ब अमेरिकी डलर पाँच वर्षभित्र गरेको दान – १ अर्ब अमेरिकी डलर कुल सम्पत्तिमा दान गरेको रकमको प्रतिशत – १.२ १३. जुलियन रोबर्टसन जुनियर दानको क्षेत्र – शिक्षा, वातावरण र औषधीजन्य अनुसन्धान लगायत कुल सम्पत्ति – ४.४ अर्ब अमेरिकी डलर पाँच वर्षभित्र गरेको दान – ८८ करोड १० लाख अमेरिकी डलर कुल सम्पत्तिमा दान गरेको रकमको प्रतिशत- २० १४. इली र इडिथ ब्रोड दानको क्षेत्र – शिक्षा, कला, विज्ञान लगायत कुल सम्पत्ति – ६.८ अर्ब अमेरिकी डलर पाँच वर्षभित्र गरेको दान- ८१ करोड ६० लाख अमेरिकी डलर कुल सम्पत्तिमा दान गरेको रकमको प्रतिशत – १२ १५ चार्ल्स कच दानको क्षेत्र – शिक्षा कुल सम्पत्ति – ४२.८ अर्ब अमेरिकी डलर पाँच वर्षभित्र गरेको दान – ७९ करोड १० लाख अमेरिकी डलर कुल सम्पत्तिमा दान गरेको रकमको प्रतिशत- १.९ १६. पाउल एलन दानको क्षेत्र – संरक्षण, विज्ञान लगायत कुल सम्पत्ति – २०.३ अर्ब अमेरिकी डलर पाँच वर्षभित्र गरेको दान – ७२ करोड १० लाख अमेरिकी डलर कुल सम्पत्तिमा दान गरेको रकमको प्रतिशत – ३.६ १७. लिन र स्टासी स्टुस्टरम्यान दानको क्षेत्र – शिक्षा, यहुदीको भलाइ लगायत कुल सम्पत्ति – ३.४ अर्ब अमेरिकी डलर पाँच वर्षभित्र गरेको दान – ७१ करोड ३० लाख अमेरिकी डलर कुल सम्पत्तिमा दान गरेको रकमको प्रतिशत – २१ १८. डस्टिन मोस्कोभिच र कारी टुना दानको क्षेत्र – विज्ञान, स्वास्थ्य र अपराधीक न्याय लगायत कुल सम्पत्ति – १३.५ अर्ब अमेरिकी डलर पाँच वर्षभित्र गरेको दान – ७० करोड ५० लाख अमेरिकी डलर कुल सम्पत्तिमा दान गरेको रकमको प्रतिशत – ५.२ १९. केन ग्रीफिन दानको क्षेत्र – शिक्षा, कला र विज्ञान लगायत कुल सम्पत्ति – १३.१ अर्ब अमेरिकी डलर पाँच वर्षभित्र गरेको दान – ६२ करोड अमेरिकी डलर कुल सम्पत्तिमा दान गरेको रकमको प्रतिशत – ४.६ २०. माइकेल र सुसान डेल दानको क्षेत्र – शिक्षा, गरिबी निवारण लगायत कुल सम्पत्ति – ३१.५ अर्ब अमेरिकी डलर पाँच वर्षभित्र गरेको दान – ६१ करोड ४० लाख अमेरिकी डलर कुल सम्पत्तिमा दान गरेको रकमको प्रतिशत – २