नेपाल वायुसेवा निगमले दोहा उडान स्थगित गर्यो

काठमाडाैं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कतारको दोहामा गर्दै आएको नियमित उडान हाललाई स्थगन गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को सन्त्रासका कारण निगमले आजैदेखि लागू हुनेगरी दोहा गन्तव्यको उडान स्थगन गर्ने निर्णय गरेको हो । कतारले कोरोना भाइरसको सङ्क्रमण जोखिमलाई न्यूनीकरण गर्न नेपालसहित विभिन्न १४ मुलुकका नागरिकलाई कतारमा प्रवेश गर्न अस्थायी प्रतिबन्ध लगाएपछि निगमले उक्त मुलुकको उडान स्थगन गर्नुपरेको निगमले विज्ञप्तिमार्फत जनाएको छ । “कतारले अस्थायी प्रतिबन्ध लगाएका १४ देशमध्ये नेपाल पनि एक भएकाले नेपालीले पनि हाललाई कतार प्रवेश गर्न नपाउने भएकाले दोहाको नियमित उडान हाललाई १० मार्च २०२० बाट अर्को निर्णय नहुन्जेल स्थगन गर्नुपरेको हो”, निगमको विज्ञप्तिमा भनिएको छ । निगमले २०७६ फागुन २६ गते र सो भन्दा पछिका उडानका टिकट खरिद गरेका यात्रुलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पूरै उपलब्ध गराइने जनाएको छ । त्यस्तै, टिकटको उडानको मिति दुई पटकसम्म परिवर्तन गर्न शुल्क नलाग्ने व्यवस्था गरिएको जनाएको छ । निगमले हालसम्म दोहाका लागि हप्तामा सातै दिन उडान गर्दै आएको थियो । यसअघि हिमालय एयरलाइन्सले सोमबारदेखि लागू हुनेगरी दोहा गन्तव्यको उडान रोक्ने निर्णय गरेको थियो । कतारले नेपालसहित १४ देशका नागरिकलाई प्रवेशमा अस्थायी प्रतिबन्ध लगाएकाले अर्को सूचना जारी नभएसम्मका लागि हाललाई दोहा उडान स्थगन गरिएको कम्पनीका सेवा सुधार शाखा प्रमुख उज्ज्वला दलीले बताएका छन् । रासस

सभामुखसँग भारतीय राजदूतको भेट

काठमाडाैं । सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले आज शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा सभामुख सापकोटाले नेपाल र भारतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७३ वर्ष पूरा भएको स्मरण गर्दै दुई देशबीच सरकार, संसद् र जनस्तरसम्म सम्बन्ध रहेको बताए । नेपालमा २०७२ साल वैशाखमा विनाशकारी भूकम्पपछि उद्धार, राहत एवं पुनःनिर्माणमा भारतले गरेको सहयोगका लागि धन्यवाद दिँदै उनले दुुई देशबीच पछिल्लो समय दूरगामी महत्वका सम्झौता भएकामा खुशी व्यक्त गरेकाे सभामुखको सचिवालयले जनाएको छ । साथै,सभामुख सापकोटाले दुबै देशमा बलियो र स्थायी सरकार रहेकाले सम्बन्ध थप विस्तारका लागि विरलै प्राप्त हुने अवसर रहेको उल्लेख गरेका थिए । सो अवसरमा राजदूत क्वात्राले सापकोटालाई सभामुखमा निर्वाचित भएकामा बधाई दिँदै कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै दुुई देशबीच वृहत र गहिरो सम्बन्ध रहेको तथा आगामी दिनमा यो सम्बन्ध अझ विस्तार हुँदै जाने विश्वास व्यक्त गरे । रासस

भारतीय येस बैंकका संस्थापक राना पक्राउ

मुम्बई । भारतको समस्याग्रस्त घोषणा गरिएको “येस बैंक”का संस्थापक राना कपूरलाई आइतबार सम्पत्ति शुद्धिकरणको आरोपमा पक्राउ गरिएको छ । भारतको वित्तीय अपराध सम्बन्धी जाँच एजेन्सीका अधिकारीहरुले आइतबार बिहान ३ बजे बैंकका संस्थापक राना कपूरलाई मुम्बईस्थित निवासबाट पक्राउ गरेकाे हाे । जाँच एजेन्सीका एक अधिकारीले एएफपीलाई बताएअनुसार रानाले बैंकसम्बन्धी अनुसन्धानमा असयोग गरेका थिए । भारतमा निजी क्षेत्रको चौथो ठूलो यस बैंकको वित्तीय अवस्था कमजोर भएसँगै भारतीय रिजर्भ बैंकले कारोबारमा अस्थायी प्रतिबन्ध लगाएको छ । भारतको केन्द्रीय बैंकले आकस्मिक रुपमा शुक्रबार मध्यराति उक्त बैंकलाई नियन्त्रणमा लिनुका साथै बैंकबाट ५० हजार भारुभन्दा बढी रकम झिक्न नपाइने गरी प्रतिबन्ध लगाएको थियो । पछिल्ला दिनहरुमा बढ्दै गएको खराब कर्जाका कारण बैंकमाथि सङ्कट आएको थियो । येस बैंकले पनि रानाको गिरफ्तारीको पुष्टी गरेको छ । अधिकारीहरुले मुम्बईस्थित रानाको भव्य महलमा छापा मारेको थियो । भारतीय रिजर्भ बैंकले यस बैंकका ग्राहकलाई एक महिनाको अवधिमा ५० हजार भारतीय रुपैयाँ मात्र झिक्न पाउने व्यवस्था गरेपछि ग्राहकहरुमा निराशा छाएको छ । मानिसहरु येस बैंकका एटिएम र शाखाहरुमा शुक्रबार र शनिबार लामो लाइनमा बस्न बाध्य भएका थिए । रिजर्भ बैंकको उद्दार योजना बमोजिम भारतीय स्टेट बैंक (एसबिआई)ले समस्याग्रस्त “येस बैंक”को ४९ प्रतिशत शेयर खरिद गर्न २ अर्ब ४५ करोड भारतीय रुपैयाँ लगानी गर्ने जनाएको छ । एसबिआईका अध्यक्ष रजनिश कुमारले यस बैंकमा लगानी गर्न २३ जना लगानीकर्ताले अभिरुचि देखाइसकेको पनि जानकारी दिए । यस बैंकले खराब ऋण उठाउन नसक्दा पर्याप्त पूँजी लगानी गर्न नसकेको रिजर्भ बैंकको भनाई छ । यस बैंकका एक हजारभन्दा बढी शाखा र एक हजार ८ सयभन्दा बढी एटिएम छन् । रासस