कोरोना संक्रमितको संख्या साढे ३१ लाख नजिक, २ लाख १७ हजार भन्दा बढीको मृत्यु

काठमाडौं । नेपाली समय अनुसार बुधबार बिहान ७ बजेसम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ३१ लाख ३६ हजार ५ सय ७ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म २ लाख १७ हजार ८ सय १३ जनाको मृत्यु भइसकेको छ भने ९ लाख ५३ हजार ३ सय २१ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ ५९ हजार २ सय ६६ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने १० लाख ३५ हजार ७ सय ६५ रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या ३१ हजार ३ सय २४ पुगेको छ भने अहिलेसम्म १ हजार ८ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म ५४ जना संक्रमित भएका छन् भने १६ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । (तथ्यांक साभारः वल्डोमिटर)

लकडाउनकै बीच बंगलादेशमा गार्मेन्ट कारखानामा काम शुरु

ढाका । कोरोना भाइरसका कारण देशव्यापी लकडाउन गरिए पनि बंगलादेशमा तयारी पोशाक (गार्मेन्ट) उद्योगका हजारौं मजदूर काममा फर्किएका छन् । बंगलादेशमा कोरोना भाइरसको संक्रमण बढ्दै गए पनि मजदूरहरु काममा फर्किएका कारण थप चिन्ता उत्पन्न भएको छ । राजधानी ढाका र चटगाउँका कारखानाहरु खोल्न सरकारले अनुमति दिएसँगै सोमबारदेखि कारखानामा काम हुन थालेको हो । बंगलादेशमा गत मार्चको अन्त्यदेखि गार्मेन्ट कारखानाहरु बन्द भएका थिए तर निर्यातको बाँकी अर्डर पूरा गर्न कारखाना खोल्नुपर्ने माग सर्वत्र गरिएको थियो । बंगलादेशमा कोराना भाइरसको संक्रमण बढेसँगै आगामी मे महिनाको ५ तारिखसम्म लकडाउन घोषणा गरिएको छ । सोमबारसम्ममा ढाका र अन्यत्रका कम्तीमा एक हजार कारखाना खोल्ने योजना थियो । साथै तटीय बन्दरगाह शहर चटगाउँका कारखाना पनि खोलिने छन् । बंगलादेशको कूल निर्यातको करिब ८० प्रतिशत हिस्सा तयारी पोशाकले ओगटेको छ । तर कोरोना भाइरसका कारण तयारी पोशाकको माग घटेको वा रद्द गरिएका कारण बंगलादेशले यस आर्थिक वर्ष करिब ६ अर्ब डलरको नोक्सानी व्यहोर्नु पर्ने अवस्था सिर्जना भएको छ । गार्मेन्ट कारखानाका मजदूर मोफज्जल होसेनले कारखानामा तत्काल फर्कन आफू बाध्य भएको बताए । उनले मासिक करिब १ सय १५ अमेरिकी डलर कमाउँने जानकारी दिए । सोमबारसम्ममा बंगलादेशमा ५ हजार ९ सय जनामा कोरानाको संक्रमण देखिएको छ भने १ सय ५२ जनाको मृत्यु भइसकेको छ । श्रम अधिकारवादीहरुले मजदूरहरुका कारण कोविड–१९ को महामारी बंगलादेशमा अरु फैल्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । बंगलादेशका गार्मेन्ट कारखानामा ४० लाखभन्दा बढीले काम गर्दछन् । बंगलादेशबाट विश्वका चर्चित एचएन्डएम, इन्डिटेक्स र वाल्मार्ट जस्ता कम्पनीहरुका लागि गत वर्ष ३५ अर्ब डलरभन्दा बढीको तयारी पोशाक निर्यात भएको थियो । बंगलादेश तयारी पोशाक उत्पादक तथा निर्यात संघका उपाध्यक्ष मोहम्मद हातिमले कोरोनाभाइरसलाई जीवनको एक हिस्साका रुपमा स्वीकार्नुको विकल्प छैन भन्दै कारखाना तत्काल नखोलिए बंगलादेशमा आर्थिक संकट आउने बताए । गत महिना, सरकारले निर्यातमुखी क्षेत्रका मजदूरको तलब भुक्तानीका लागि ५८ करोड ८० लाख अमेरिकी डलर बराबरको राहत प्याकेज घोषणा गरेको थियो, तर गार्मेन्ट उद्योगीहरुले सरकारी प्याकेज अपर्याप्त रहेको गुनासो गरेका थिए । आइतबार, ढाकाका सडकमा लकडाउनकै बीच सामाजिक दूरीको समेत बेवास्ता गर्दै सयौं गार्मेन्ट मजदूरले प्रदर्शन गरेका थिए । उनीहरुले कामबाट बिमुख भएका दिनको समेत ज्याला पाउनु पर्ने माग राखेका थिए । उनीहरुले आफ्नो माग पूरा नगरिए लकडाउनको उल्लंघनलाई जारी राख्ने बताएका छन् । बंगलादेश सरकारले धार्मिक भेला र प्रदर्शनमा रोक लगाउन सेनालाई पनि सडकमा उतार्नु परेको थियो । रासस/एएनआई

नयाँ दिल्लीमा २ सय जना स्वास्थ्यकर्मीमा कोभिड-१९ संक्रमण

नयाँ दिल्ली। भारतको राजधानी नयाँ दिल्लीमा मात्र कोभिड-१९ का कम्तीमा पनि २ सय जना चिकित्सकसहितका स्वास्थ्यकर्मी संक्रमित भएका बताइएको छ । दिल्ली राज्यका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनले सो कुराको जानकारी दिनुभएको हो । उनले नयाँ दिल्लीमा मात्र २०० जना स्वास्थ्यकर्मी कोभिड-१९ को संक्रमण भएका बताएका हुन् । उनले दिल्लीमा मात्र कोभिडका बिरामीको संख्या ३ हजार नाघेको बताए । उनले यहाँ ३ हजार १०८ जनामा यो संक्रमण देखिएको जानकारी दिए । उनले मङ्गलबार भने– यहाँ सरकारी तथा निजी अस्पताल सबैमा गरेर २०० जना स्वास्थ्यकर्मी कोभिड-१९ को विरामी परेका छन् । उनले यहाँका अस्पतालहरुमा दिन प्रतिदिन संक्रमित हुने स्वास्थ्यकर्मीहरुको संख्या बढ्ने गरेको पनि बताए । तर उनले दिएको जानकारी अनुसार कोभिड-१९ को उपचाराक लागि तोकिएका अस्पतालमा भन्दा बाहिरको अस्पतालका स्वास्थ्यकर्मीहरुमा यो संक्रमण देखिएको बताए । उनले दिल्लीको बाबु जग्जीवन राम मेमोरियल अस्पतालबाट मात्र ६० जना स्वास्थ्यकर्मीमा यो संक्रमण देखिएको जानकारी दिए । उनले दिल्लीमा मात्र ३ हजार १०८ जना संक्रमित भएकोमा ८७७ जना विरामी निको भएका छन् । हाल त्यहाँ २ हजार १७७ संक्रमित उपचाररत छन् । उनका अनुसार हिजोमात्र १९० जना संक्रमित दिल्लीमा थपिएका छन् । यहाँ ५४ जनाको ज्यान गएको छ । उनका अनुसार नयाँ दिल्लीमा गएको १३ दिनमा कोविड १९ का संक्रमितको संख्या दोब्बर हुन पुगेको छ । स्वास्थ्यमन्त्री जैनले भने– नयाँ दिल्लीमा लकडाउनका कारणले गर्दा यो रोग तीब्र गतिमा फैलिन नपाएको हो र लकडान नगरेको भए यहाँ यो संक्रमण अनियन्त्रित हुनेथियो ।