पाकिस्तानमा लकडाउनको अवधि लम्बियो
इस्लामावाद । पाकिस्तानमा लागु गरिएको लकडाउनको अवधि थप गरिएको छ । कोरोना भाइरसको संक्रमण फैलिने क्रम नरोकिएकाले लकडाउनको अवधि थप गर्नु परेको सरकारी अधिकारीहरुले बताएका छन् । पाकिस्तानी सरकारले आगामी मे ९ तारिखसम्मका लागि लकडाउन लागु भइरहने घोषणा शुक्रबार गरेको हो । केन्द्रिय योजना तथा विकास मन्त्री असद उमराले राष्ट्रिय नियन्त्रण केन्द्रले लकडाउनको समयावधि बढाउने निर्णय गरेको जानकारी दिए । देशव्यापी लकडाउन लागु भइरहेको पाकिस्तानमा शुक्रबारसम्म कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या ११ हजारभन्दा बढी भएको छ । सरकारी अधिकारीहरुका अनुसार संक्रमित हुनेहरुको कुल संख्या ११ हजार ६ सय ५२ रहेको छ । त्यसैगरी देशभरी कोरोना भाइरसका कारण २ सय ४२ भन्दा बढीको मृत्यु भएको पनि सरकारी अधिकारीहरुले जनाएका छन् ।कोरोना भाइरसबाट सवैभन्दा धेरै पञ्जाव प्रदेश प्रभावित भएको छ । त्यहाँ चार हजार ८ सय ५१ जना सङ्क्रमित भेटिएका छन् । महामारी विरुद्धको कतिपय मापदण्डहरुलाई पाकिस्तानमा कतिपय व्यक्तिहरुले बेवास्ता गरेको पाइएको छ । शनिबारदेखि मुिस्लम धर्माबलम्वीहरुको एक महिने रमजान पर्व समेत शुरु भएकाले मुस्लिम समुदायको बाहुल्यता रहेको पाकिस्तानमा थप सतर्कता अपनाउन आह्वान गरिएको छ । रासस/एएनआई
कोरोना भाइरसपछिको आर्थिक मन्दी हटाउन विश्व बैंक, आईएमएफ र एडीबीले कस्तो प्याकेज ल्याए ?
काठमाडौं । अंग्रेजी नयाँ वर्षको सुरुवातसँगै कोरोनाको कहरबाट अहिले सारा विश्व नै आक्रान्त छ । कोरोनाको कहरबाट उत्पन्न भएको आर्थिक तथा मानवीय समस्याले संशारभर दिनदिनै चुनौति थपिँदै गैरहेको छ । यो समाचार तयार पार्दा सम्म करिब २७ लाख मानिसमा कोरोनाको संक्रमण भएको प्रमाणित भएको छ । करिब २ लाख मानिसले कोरोना संक्रमणका कारण ज्यान गुमाइसकेका छन् । यो वैश्विक माहामारिले मानवजातिको अस्तित्वलाई नै चुनौति दिइरहेको छ । यो कहरको अहिलेको स्थितिले गर्दा वैश्विक अर्थतन्त्रमा चरममन्दी आउन सक्ने भविष्यवाणी सरोकारवाला निकायले गरेका गरेका छन् । विश्व अर्थतन्त्रको बृद्धि, विस्तार तथा स्थिरताका लागि निरन्तर कार्यरत अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक जस्ता संस्थाले विश्व अर्थतन्त्रलाई सहयोग गर्न के कस्तो सहयोग गरेका छन् भनेर यो सामग्री तयार पारिएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले कोरोना महामारीको आर्थिक प्रभाव सामना गरिरहेका सदस्य राष्ट्रहरुका लागि विभिन्न शिर्षकहरुमा कुल ६ हजार ४ सय ८१ मिलियन अमेरिकी डलरको आपतकालिन आर्थिक सहयोगको घोषणा गरेको छ । आईएमएफको कार्यकारी बोर्ड द्वारा र्यापिड क्रेडिट फ्यासिलिटी (आरसीएफ) तथा र्यापिड फाइनान्सिङ इन्स्ट्रुमेन्ट (आरएफआई) अन्तर्गत अनुमोदन गरिएको आपतकालिन सहायता, विद्यमान वित्तीय राहात व्यवस्था अन्तर्गत बढाउन सक्ने समेत जानकारी दिएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोषले क्षेत्रगत आधारमा छुट्याएको राहत यसप्रकार रहेको छ । एसिया प्रसान्त क्षेत्र यो क्षेत्रमा जम्मा २४.११ मिलियन अमेरिकी डलर छुट्याएको छ । यो क्षेत्रमा नेपालसमेत रहेको छ । नेपालको भागमा २४.११ मिलियन अमेरिकी डलरमध्ये २.८५ मिलियन अमेरिकी डलर रहेको छ भने माल्दिभ्सलाई २१.२ मिलियन अमेरिकी डलर रहेको छ । युरोप कोरोनाको संक्रमणबाट ठूलो रुपमा आर्थिक तथा मानवीय क्षति ब्यहोरेको युरोपमा अन्तर्राष्ट्रिय मुद्रा कोषले ७५८.६ मिलियन अमेरिकी डलरको आर्थिक राहात प्याकेज छुट्याएको छ । मध्यपूर्व र मध्यएशिया जैविक इन्धन तथा पर्यटनलाई नै अर्थतन्त्रको मेरुदन्डको रुपमा विकास गरेको मध्यपूर्व तथा मध्यएशिया क्षेत्रमा कोरोना भाइरसको कारण उत्पन्न भएको आर्थिक मन्दीको अत्यन्त गम्भीर असर पारेको छ । यमन, सिरिया, लिबिया जस्ता द्वन्द्धग्रस्त क्षेत्रमा भने न्युनतम मानवीय आवश्यकतासमेत पुग्न सकेको छैन । यो क्षेत्रमा अर्थतन्त्रलाइ संरक्षण तथा मानवीय आवश्यतालाई विचार गरेर १ हजार ७६९.८५ मिलियन अमेरिकी डलरको आर्थिक राहात प्याकेज छुट्याएको छ । साहारा अफ्रिका क्षेत्र गरिबी तथा भोकमरीले ग्रस्त यस क्षेत्रमा कोरोनाको कारण समस्या झनै थपिएको छ । मानव बिकासको सुचाङ्कमा पुछारमा रहेको यो क्षेत्र गरिबीको चरमउत्कर्समा पुग्ने जोखिम उच्च रहेको छ । कोरोना प्रकोप नियन्त्रणको तयारी, उत्पन्न हुनसक्ने अन्य संकटको न्यूनिकरणका लागि २ हजार ८३२.९४ मिलियन अमेरिकी डलरको आर्थिक राहात प्याकेज छुट्याएको छ । पश्चिमी गोलार्ध बोलिभिया, पनामा, हैटीलगायतका राष्ट्रहरु रहेको यो क्षेत्रका लागि भनेर १ हजार १९१.५ मिलियन अमेरिकी डलरको आर्थिक राहात प्याकेज छुट्याएको छ । एसियाली विकाश बैंक (एडीबी) एसियाली विकास बैंक (एडीबी)ले कोरोना भाइरसको महामारीले निम्त्याएको आर्थिक क्षति तथा मन्दीलाई कम गर्न आफ्नो पूर्वघोषित सहयोग रकमलाई तीन गुणाले बढाएर २० बिलियन डलरमा पुर्याएको छ । मार्च १८ मा घोषणा गरेको ६.६ बिलियन डलरको आर्थिक राहात प्याकेजमा अप्रिल १३ मा १३.३ विलियन डलर थप गरी २० विलियन डलरमा पुर्याएको हो । एडीबीका अध्यक्ष मसासटुगु असकावाका अनुसार ‘यो महामारीले एसिया र प्रशान्त क्षेत्रमा आर्थिक, सामाजिक र विकास सम्पूर्ण आयामहरुमा गम्भीर रूपमा असर गर्ने, विकासका सुचकहरुलाई पछाडि पार्ने, गरिबी न्यूनीकरणमा उल्टो प्रगति र अर्थव्यवस्थालाई मन्दीमा र्पुयाउने खतरा बढेर गएको छ । मार्चमा भन्दा अहिले परिस्थिति झनै नाजुक भएकोले सहयोग रकममा वृद्धि गरिएको हो । हाम्रो यो विस्तारित राहात प्याकेज बोर्डको समर्थन, सहमति तथा सहयोगबाट नै सम्भव भएको हो । विश्व बैंकले कोभिड(१९ को असर न्यूनीकरण गर्न १२ अर्ब अमेरिकी डलरको आपत्कालिन सहयोग घोषणा गरेको थियो । गत फेब्रुअरी महिनाको अन्त्यमा उक्त घोषणापछि भने विश्व बैंकले हालसम्म अर्को नयाँ राहत योजना ल्याएको छैन । विकासशील राष्ट्रका लागि यो आपत्कालीन सहयोग स्वास्थ्य समस्या र आर्थिक प्रभावसँग जुध्न खर्च गरिने उल्लेख गरिएको छ । यो सहयोग महामारीको असर न्यूनीकरण गर्न डिजाइन गरिएको हो । विश्व बैंकका अध्यक्ष डेभिड मल्पासले विकासशील राष्ट्रले कोरोना भाइरसको प्रकोप र असरसँग जुध्न आवश्यकता अनुसार सहायता लिन सक्ने बताएका छन् । आपूर्ति प्रणालीको दिगोपना र सम्भावित जोखिम न्यूनीकरणमा आईएफसीले सहयोग गर्नेछ । विश्व बैंकले अहिलेको विश्वव्यापी संकट समाधान गर्न अन्य अन्तराष्ट्रिय संस्था र राष्ट्रिय निकायसँगको समन्वयमा काम गर्ने जनाएको छ । बैंकको यो पहलले कोरोना भाइरसले सिर्जना गरेको आर्थिक तथा सामाजिक प्रभाव न्यूनीकरणमा सहयोग बताइएको छ । अन्तराष्ट्रिय संचारमाध्यमहरुको सहयोगमा
नर्सिङ होममा आश्रित ११ हजारभन्दा बढीको मृत्युले अमेरिकामा चिन्ता
न्यूयोर्क । कोरोना भाइरसको बढ्दो संक्रमणले अमेरिकी समाजमा गहिरो प्रभाव पारिरहेकै छ, तर पछिल्लो पटक सार्वजनिक भएको विवरणले सबैलाई चिन्तित र आतङ्कित दुबै बनाएको छ । अर्थात् करिब दुई महिनाको अवधिमा नर्सिङ होममा रहेबसेका ११ हजारभन्दा बढी वृद्धवृद्धाको कोरोना भाइरसकै कारण ज्यान गएको छ । अमेरिकाभर फैलिएका यी नर्सिङ होममा आश्रित वृद्धवृद्धाको अझै पनि कोरोनाभाइरसको पर्याप्त परीक्षण गर्न नसकिएको खबरले सबैलाई सोचमग्न बनाएको छ । अझ न त संघीय सरकार न न्यूयोर्कजस्ता बढी मृत्यु भएका राज्यले नै नर्सिङ होममा रहेका व्यक्ति र त्यहाँ कार्यरत कर्मचारीको अनिवार्य स्वास्थ्य परीक्षण गर्नेतर्फ ध्यान दिएका छन । अमेरिकामा अहिले वृद्धवृद्धा र अशक्तलाई राख्न झण्डै १५ हजार नर्सिङ केयर होम सञ्चालनमा रहेका छन् । यीमध्ये करिब एक तिहाईमा मात्र परीक्षणको व्यवस्था गर्न सकिएको छ । परीक्षणपछि मात्र भाइरसको प्रसार रोक्न र बिरामी व्यक्तिलाई अलग्याउन सकिन्छ । “यसको अर्थ के भने केयर होममा रहेका सबै व्यक्तिको परीक्षण नगर्ने हो भने हामीले यस्ता कथाहरु अरु धेरै पढ्न पाउने छौं,” फेमिलिज फर बेटर केयरका लागि वकालत समूहका ब्रायन लीले बताए । “एक पटक यो रोग भित्रियो भने तत्कालै यसलाई रोक्न सकिन्न । परीक्षण गर्नुपर्ने कुरा थाहा हुँदा–नहुँदै धेरै मानिसमा संक्रमण फैलिइसकेको हुन्छ । त्यसपछि त शवको थुप्रो लाग्ने न हो ।” यस्तै घटना अमेरिकाका सबैभन्दा ठूला नर्सिङ केयर होममा देखिइसकेको छ । गत हप्ता ब्रुकलिनमा रहेको एउटै नर्सिङ होममा आश्रित ५५ जनाको ज्यान गयो । त्यसपछि नर्सिङ होमका प्रमुखले वृद्धवृद्धामा सामान्य लक्षण मात्र देखिएको तर कुनै पनि व्यक्ति वा कर्मचारीको कोरोना परीक्षण नगरिएको स्वीकार गरेका थिए । भर्जिनियाको रिचमन्डस्थित एक नर्सिङ होममा हालसम्म ४९ जना ज्येष्ठ नागरिकको मृत्यु भइसकेको छ । नर्सिङ होमका स्वास्थ्य निर्देशकले परीक्षण सामग्रीको अभावका कारण सबै व्यक्तिको परीक्षण गर्न झण्डै दुई हप्ता ढिला भएको स्वीकारेका छन् । परीक्षण गर्दासम्म कोरोनाको फैलावट नियन्त्रण बाहिर पुगिसकेको थियो । पछि, परीक्षण गर्दा कूल ९२ जनामा कोरोना पोजेटिभ देखियो । अमेरिकन हेल्थ केयर एसोसिएशनका प्रमुख कार्यकारी मार्क पार्किन्सन केयर होममा रहेका वृद्धवृद्धा र कर्मचारीको ज्यादै थोरै प्रतिशतको मात्र परीक्षण भइरहेको बताए । उनको भनाईमा संघीय र राज्य सरकारले शुरुमा नर्सिङ होमलाई खासै प्राथमिकतामा राखेका थिएनन् । “यस्तो लाग्छ, हामीलाई पूरै बेवास्ता गरिएको थियो,” पार्किन्सनले भने । “पक्कै पनि अहिले अस्पतालभन्दा पनि वास्तविक लडाईं नर्सिङ होमहरुमा हुनु पर्दछ । यहाँ पहिलो प्राथमिकता दिइनु पर्दछ ।” संयुक्तराज्य अमेरिकाका झण्डै दुई तिहाई नर्सिङ होममा अझै पनि “परीक्षण किटहरूमा सहज पहुँच” छैन । झण्डै ५० हजार वरिष्ट स्वास्थ्यकर्मी सदस्य रहेको दिगो स्वास्थ्य सेवा नामको समाजसेवी संस्थाका कार्यकारी निर्देशक क्रिस ल्याक्स्टनको विचारमा नर्सिङ होमहरुले अझै पनि पर्याप्त स्रोतसाधन प्राप्त गर्न सङ्घर्ष गर्नु परिरहेको छ । “स्थानीय अस्पतालहरू र स्वास्थ्य विभागहरूसँग राम्रो सम्बन्ध विकास गरेका नर्सिङ होममात्र अहिले भाग्यमानी देखिएका छन्” ल्याक्स्टनले भने । सार्वजनिक स्वास्थ्य अधिकारीहरूले हाल अपनाइएका उपायहरू जस्तै शरीरको तापक्रम जाँच गर्ने कार्य पर्याप्त नरहेको तर्क गरिरहेका छन् । स्वास्थ्यकर्मीको शरीरको तापक्रम नबढेको हुनसक्छ, र उनीहरु नर्सिङ होममा निर्वाध आवतजावत गरिरहेका हुन्छन् । तर नर्सिङ होम भ्रमण गर्ने सबैको कडा र बारम्बार परीक्षणले मात्र समाधान दिन्छ । ह्वाइट हाउसकी भाइरस सम्बन्धी सल्लाहकार डेबोरा बक्र्सको विचारमा यी अदृश्य क्यारिअर पत्ता लगाएर तिनीहरुलाई अलग्याउन सकिए मात्र भाइरसको प्रसार रोक्न सकिन्छ । अमेरिकामा हाल दैनिक १ लाख ५० हजार व्यक्तिको परीक्षण भइरहेको छ । सार्वजनिक स्वास्थ्य विशेषज्ञहरुको भनाईमा यसलाई अझ बढाउन पर्नेछ । हार्वर्ड ग्लोबल हेल्थ इन्स्टिच्युटका निर्देशक डा आशिष झाले भने, “भाइरसको प्रसार रोक्न हामीले दिनहुँ दशौं लाख परीक्षण गर्नु आवश्यक छ ।” संघीय स्वास्थ्य तथा मानव सेवा विभागले एसोसिएटेड प्रेससँगको जिज्ञासामा “अहिले धेरै परीक्षण भइरहेको र आफूहरुसँग पर्याप्त क्षमता रहेको” बताएको छ । अमेरिकामै वेस्ट भर्जिनियाका गभर्नर जिम जस्टिसले मात्र राज्यका सबै नर्सिङ होमहरूमा बिनाशर्त परीक्षण गर्न आदेश दिए । डेट्रोइट नगरका मेयर माइक डग्गनले शहरका सबै २६ वटा नर्सिङ होममा परीक्षणको आदेश दिए । यो परीक्षणमा प्रयोग हुने नयाँ किट्सले १५ मिनेटमै नतिजा दिन्छ । म्यासाचुसेट्सले यसै साता नर्सिङ होमहरूमा पठाइएका परीक्षण किटहरू एकाएक रोक्नु परेको थियो । खासगरी यी किटमध्ये करिब ४ हजार काम लाग्ने थिएनन् । न्यू हेम्पशायर, कोलोराडो, फ्लोरिडा, मेरिल्याण्ड, टेनेसी र विस्कन्सिनलगायत धेरै राज्यहरूले राष्ट्रिय गार्डलाई कोरोना परीक्षणका लागि फिल्डमा खटाएका छन् । संघीय सरकारले यसै हप्ता कोरोना संक्रमणको अवस्था ट्राक गर्ने र नर्सिङ होमको अवस्था समेतलाई समेटेर विवरण सार्वजनिक गर्ने जानकारी गराएको छ । यसैबीच, एपीले राज्यका स्वास्थ्य विभागहरू र मिडिया रिपोर्टका आधारमा संकलन गरेको विवरण अनुसार अमेरिकाभर नर्सिङ होम र दिर्घरोगीका उपचार केन्द्रहरुमा कोरोनाभाइरसको संक्रमणबाट ११ हजार २६० जनाको मृत्यु भएको छ । यीमध्ये करिब एक तिहाई न्यूयोर्कका रहेका छन् । न्यूयोर्कका गभर्नर एन्ड्र्यू कुमोले नर्सिङ होमहरुमा भएको संक्रमणलाई “सुख्खा घाँसमा लागेको आगो” को संज्ञा दिए । उनले नर्सिङ होममा बस्ने र काम गर्ने सबैले २० मिनेटभित्रै नतिजा दिने तिब्र परीक्षण गर्न आग्रह गरे । उनले भने, “यो परीक्षण दिनहुँ लाखौंको संख्यामा गर्नु पर्ने हुन्छ ।” कोरोनाबाट ४५ जनाको मृत्यु भइसकेको ब्रोङ्क्सस्थित नर्सिङ होमका मेडिकल निर्देशक डा रोय गोल्डबर्गले अझै पनि सबैको परीक्षण गर्न सम्भव नभएको बताए । उनले ज्वरो वा खोकी देखा परेकाहरूको मात्र परीक्षण गर्ने गरिएको जानकारी दिए । यस दुर्घटनाहरूको बीचमा आशावादी घटनाहरू पनि देखा परेका छन् जसमा प्रारम्भिक र आक्रामक परीक्षणले ठूलो फरक पारेको छ । विस्कन्सिनको शेबोयगन नर्सिङ होममा दुई जनाको मृत्यु भएपछि स्थानीय अन्य बासिन्दा तथा कर्मचारीहरू बिरामी पर्न थाले । नर्सिङ होमका प्रशासक कोलिन्डा नाप्पाले फोन गरी राज्यका अधिकारीहरूसँग बिन्ती गरे, “के भइरहेको छ भनेर मलाई थाहा भयो ।” लगत्तै नेसनल गार्डको एउटा ६५ सदस्यीय परीक्षण टोली आइपुग्यो । उनीहरुले टाउकोदेखि पैतालासम्मको सुरक्षा कवच लगाएका थिए । उनीहरुले नर्सिङ होममा रहेका १ सय जना र १ सय ५० जना कर्मचारीको तुरुन्तै परीक्षण गरे । समग्रमा, १९ जनामा पोजेटिभ देखियो । उनीहरु सबैलाई अहिले त्यही केयर होममा वा घरमा क्वारेन्टिनमा राखिएको छ । अहिले थप व्यक्तिको मृत्यु भएको छैन । करिब ४३ जना वृद्धवृद्धाको मृत्यु भएको सियाटल क्षेत्रको एउटा नर्सिङ होममा स्वास्थ्य अधिकारीहरुले सामान्य सङ्केत देखिएका सबैको परीक्षण गरेका छन् । राज्यमा कोरोनाभाइरसका “हटस्पट” समाप्त गर्ने भन्दै अरु १९ वटा त्यस्तै नर्सिङ होममा योजनाबद्ध रुपमा परीक्षणहरु केन्द्रित गरिएको छ । गत हप्ता, वासिङ्टन विश्वविद्यालयका डा थुआन ओङको नेतृत्वमा चिकित्सा टोलीहरुले नर्सिङ होमका कोठा कोठामा गएर सबैको स्वाब सङ्कलन गरेका थिए । उनीहरुले परीक्षण गरेका सबै १ सय १५ जनामा कोरोनाको संक्रमण देखिएन । यो कार्यले सबैमा खुशीको सीमा थिएन । “रोग फैलिनुभन्दा अघि यसलाई थाहा पाउनुको महत्व सबैभन्दा बढी छ,” डा ओङले भने । रासस–एपी