ताईवानका ९० प्रतिशत जागिरे रोजगारी परिवर्तन गर्न चाहन्छन्, के होला कारण ?
ताईपेइ । ताईवानका ९० प्रतिशत जागिरेहरूले आफूले गरिरहेको जागिर परिवर्तन गर्न चाहेको पाइएको छ । ताइवानको अनलाईन जब बैंकले गरेको एक सर्वेक्षणमा सहभागी मध्ये ९० प्रतिशतले तलब थोरै भएकाले जागिर परिवर्तन गर्न चाहेको बताएका हुन् । उनीहरुले चिनियाँ नयाँ बर्षपछि जागिर परिवर्तन गर्न चाहेने गरेको पनि सोमबार सार्वजनिक भएको अध्ययनले देखाएको छ । ताइवानमा झण्डै नौ लाख जना जागिरेहरु रहेको अनुमान गरिएको छ । उनीहरु बढीमा दश बर्ष मात्रै खुशीका साथ काम गर्न सक्ने देखिएको छ । जागिर परिवर्तन गर्न चाहने मध्ये ५५ प्रतिशतले तलबमा चित्त नबुझेकाले जागिर परिवर्तन गर्न चाहेको बताएका थिए । त्यसैगरी कल्याणकारी सुविधा नभएको, स्तरोन्नतीको संभावना नभएको र रोजगारदाताप्रतिको उदासीनताका कारण जागिर परिवर्तन गर्न चाहनेहरुको सङ्ख्या पनि धेरै रहेको पाइएको छ । अध्ययनमा सहभागी मध्ये ६५ प्रतिशतले पहिले देखि नै नयाँ जागिरका लागि खोजी गरिरहेको बताएका छन् । अध्ययन प्रतिवेदनका अनुसार ८५ प्रतिशतले ताईवानभन्दा बाहिर धेरै तलब पाईने सुरक्षित जागिर खोजिरहेको जवाफ दिएका छन् । गत डिसेम्बरदेखि यही जनवरी ४ तारिखसम्म गरिएको सर्वेक्षणमा ९१२ कम्पनीका एक हजार २०४ जनाले उत्तर दिएका थिए । रासस/सिन्ह्वा
चीन-उत्तर कोरिया व्यापारमा मन्दी, ५३ प्रतिशतले कमी
बेइजिङ । संयुक्त राष्ट्रसङ्घको नाकाबन्दीका कारण उत्तर कोरियासँग चीनको व्यापारमा गत वर्ष ठूलो कमी आएको छ । उत्तर कोरियासँग चीनको घनिष्ठ सम्बन्ध रहिआएको छ र चीन नै उत्तर कोरियाको व्यापार एवम् सहायताको मुख्य स्रोत हो । तर, सन् २०१७ मा उत्तर कोरियाको आणविक तथा ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रम पश्चात चीनले पनि राष्ट्रसङ्घीय प्रतिबन्धलाई आत्मसात गरेको थियो । व्यापारमा प्रतिबन्धहरु लागेसँगै सन् २०१७ को तुलनामा गत वर्ष द्विपक्षीय व्यापारमा करिब ५३ प्रतिशतले कमी आएको छ । उत्तर कोरियाबाट चीनतर्फको आयातमा पनि सन् २०१८ मा ८८ प्रतिशतले कमी आएको छ । सरकारी विवरण अनुसार उत्तर कोरियाबाट सन् २०१८ मा करिब २१ करोड अमेरिकी डलर बराबरका सामानमात्र आयात भएको छ । भन्सार प्रशासनका प्रवक्ता ली कुवेनका अनुसार चीनबाट उत्तर कोरियातर्फको निकासीमा पनि ३३ प्रतिशतले कमी भई दुई अर्ब १८ करोडमा सीमित भएको छ । “चीन र उत्तर कोरियाबीचको व्यापारका सन्दर्भमा हामीले सुरक्षा परिषदको प्रस्तावलाई कडाईका साथ लागू गरेका छौं,” लीले बताए । व्यापार प्रतिबन्धका कारण उत्तर कोरियाले अन्तर्राष्ट्रिय प्रमुख मुद्रा आर्जनमा समस्या झेल्नु परेको छ । उत्तर कोरियाले खासगरी कोइला र अरु खनिज वस्तुहरु, माछा र कपडा निकासी गर्दछ । निर्यातमा आएको कमीका कारण मुलुकको अर्थतन्त्रमा जटिलता उत्पन्न भएको छ । सन् २०१७ मा उत्तर कोरियाको समग्र अर्थतन्त्र ३ दशमलब ५ प्रतिशतले खुम्चिएको छ । अर्थतन्त्रमा गम्भीर असर परेको विगत दुई दशकमै यो पहिलो पटक हो । अर्थतन्त्रको प्रक्षेपणलाई दक्षिण कोरियाको केन्द्रीय बैंकले समेत पुष्टी गरेको छ । दक्षिण कोरियाको केन्द्रीय बैंक बैंक अफ कोरियाका अनुसार, उत्तर कोरियाको खानी उद्योगमा सन् २०१७ मा ११ प्रतिशतले कमी आएको छ जबकी सन् २०१६ मा यसको वृद्धि ८ दशमलब ४ प्रतिशत थियो । औद्योगिक उत्पादनमा पनि गत वर्षको ४ दशमलब ८ प्रतिशतको वृद्धि खुम्चिएर ६.९ प्रतिशत भएको छ । कृषि र माछापालनमा पनि १.३ प्रतिशतले कमी आएको छ । चीन र रुस दुबैले प्योङयाङमाथि लागेका राष्ट्रसंघीय प्रतिबन्धहरुमाथि पुनर्विचार गर्नुपर्ने बताएका छन् । वासिङटनले भने उत्तर कोरियाले आणविक हातहतियार निर्माणलाई तत्काल बन्द गर्नुपर्ने शर्त राखेको छ । गत साता उत्तर कोरियाली नेता कीम जोङ उनले चीनको चौथो पटक भ्रमण गर्नुभएको छ । उत्तर कोरियामाथिका प्रतिबन्ध फुकुवा गर्न एवं बहुप्रतीक्षित अमेरिका-उत्तर कोरिया शिखर वार्तामा सहमति जुटाउन भ्रमण उपलब्धिमूलक रहेको बताइएको छ । रासस/एएफपी
अमेरिकी आग्रहमा हुवावेको सेवा बहिष्कारबारे यूरोपमा के आयो प्रतिक्रिया ?
पेरिस, फ्रान्स । हुवावेको फाइभ–जी टेलिकम सामग्रीलाई बहिस्कार गर्न गरिएको अमेरिकी आग्रहमा मिश्रित प्रतिक्रिया आएका छन् । केही मुलुकका सरकारले हुवावेले जासूसी गरेको आशङ्कालाई खण्डन गरेका छन् भने केहीले प्रतिबन्धको समर्थन गरेका छन् । कम्पनीका लागि पछिल्लो चुनौतिका रूपमा रहेको उक्त बिषयमा पोल्याण्डमा कार्यरत एक जना कर्मचारीले चीनका लागि जासूसी गरेको आरोप लगाइएपछि उनलाई कम्पनीले पदबाट बर्खास्त गरेको थियो । “उहाँमाथि लगाइएको आरोपको कम्पनीसँग कुनै सम्बन्ध नरहेको,” हुवावेले एएफपीलाई फ्याक्समार्फत उपलब्ध गराएको विज्ञप्तिमा भनिएको छ । हुवावेको संस्थापककी छोरीलाई यस पहिले नै अमेरिकी अनुरोधमा क्यानाडाबाट पक्राउ गरिएको थियो । अमेरिकाले हुवावेमाथि सुरक्षा चासो देखाउँदै उसलाई अन्तराष्ट्रिय रूपमा कालो सूचीमा राख्ने प्रयास गरेको छ । विश्लेषकहरूले बताए, “यसबारे कतिपय एसियाली तथा प्रशान्त क्षेत्रका मुलुकहरूले वासिङ्टनको हुवावेमाथि प्रतिबन्ध लगाउने आह्वानप्रति समर्थन जनाएका छन् । तर यूरोपमा भने यसको प्रभाव सुक्ष्मभेदी देखिएको छ किनकि हुवावेको फाइभ–जी सेवा क्षमताहरू साह्रै नै आकर्षक छन् । तिनीहरू स्वीडेनको एरिक्सन, फिनल्याण्डको नोकिया र दक्षिण कोरियाको सामसुङकाभन्दा निकै अघि छन् ।” पाँचौ पुस्ताको (फाइभ–जी) प्रबिधिले ताररहित सञ्चार गतिमा गुणात्मक फड्को मार्न सक्षम बनेको छ र यो स्वचालित कारलगायतका इन्टरर्नेटजन्य विकासका लागि महत्वपूर्ण मानिएको छ । त्यसैले यूरोपले जतिसक्दो छिटो उक्त प्रबिधिलाई बिस्तार गर्न चाहन्छ । “प्रबिधिको सञ्चालकहरूले विकल्पहरूको खोजी गरिरहेका छन् र हुवावेको सेवालाई थप नवीन र सम्भवतः फाइभ–जी का लागि उत्तम विकल्प मानेका छन्,” फिच सोलुसनका विश्लेषक डेक्सटर थिलियनले भने । अमेरिकासहित जापान र अष्टे«लियाले फाइभ–जी इन्टरनेट सञ्जाल विस्तारमा नै रोक लगाएका छन् । तर पोर्चुगल, नर्वे, बेलायत, स्पेन, जर्मनी, पोल्याण्डलगायतका देशहरूमा यसका सेवा रूचाइएको छ । यूरोपमा हुवावेको बजार बढ्ने सम्भावना व्यापक छ भने मध्यपूर्व र अफ्रिकामा २७ प्रतिशत बजार हुवावेको रहेको छ । रासस/एएफपी