कुवेतमा थप २० दिन लकडाउन घोषणा
काठमाडौं । कोरोना संक्रमण बढ्दै गएसँगै कुवेत सरकारले थप २० दिनको लकडाउन घोषणा गरेको छ । कोरोना भाइरस संक्रमणको रोक्नको लागि कुवेतमा मे १० देखि मे ३० सम्मका यो राष्ट्रव्यापी लकडाउन भएकाे सरकारले घाेषणा गरेकाे हाे । कुवेतमा कोरोना संक्रमित निरन्तर बढ्दै गएको छ, जसलाई ध्यानमा राख्दै कुवेत सरकारले यो निर्णय लिइएको छ । शुक्रवार मात्र कुवेतमा ६ सय ४१ जनामा नयाँ संक्रमण पुष्टि भएको छ भने हालसम्म ४७ जनाको मृत्यु भइसकेको छ । कुवेतमा संक्रमणको पहिलो केस फेब्रुअरी २ मा पुष्टि भयो । त्यस्तै करिब ७० हजार नेपाली श्रमिक रहेको कुवेतमा हालसम्म ८४ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको कुवेतस्थित नेपाल राजदुत दुर्गाप्रसाद भण्डारीले बताएका छन् ।
ब्राजिलमा लकडाउनबारे विवाद गहिरिँदै, एकै दिन ६ सयभन्दा बढीको मृत्यु
काठमाडौं । ब्राजिलमा लकडाउनका उपायका विषयमा राजनीतिक विवाद गहिरिँदै गएका बेला बिहीबर (एकै दिन) ६ सय जनाभन्दा बढी व्यक्तिको मृत्यु भएको छ। कोरोना भाइरसको संक्रमण बढेसँगै एकै दिनमा सबैभन्दा धेरै व्यक्तिले ज्यान गुमाए । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुने व्यक्तिहरूको सङ्ख्या ९ हजार १ सय ९० नाघिसकेको छ । हालसम्म ब्राजिलमा कोरोना भाइरसबाट १ लाख ३५ हजार ७ सयभन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन् । ब्राजिलका राष्ट्रपतिले दिए चेतावनी राष्ट्रपति जाइर बोल्सोनारुको सरकारले मेयर र क्षेत्रीय गभर्नरले लकडाउन जारी राखेमा देशको अर्थतन्त्र ध्वस्त हुने चेतावनी दिएको छ । अर्थमन्त्री पाउलो गेदेजले ब्राजिलका नागरिकहरूले केही महिनाभित्र खाद्यान्नको अभाव र सामाजिक अशान्तिको सामना गर्नुपर्ने बताए । विज्ञहरूले ब्राजिलमा कोरोना भाइरस सङ्क्रमणबाट ज्यान जाने व्यक्तिहरूको सङ्ख्या अझ बढ्न सक्ने चेतावनी दिएका छन् । तर अझै पनि राष्ट्रपति बोल्सोनारुले व्यापार, व्यवसाय, विद्यालय तथा सार्वजनिक स्थलहरू बन्द राख्ने राज्यहरूको निर्णयविरुद्ध आफूलाई प्रस्तुत गर्दै आएका छन्। जोखिममा रहेका समूहहरूलाई मात्रै क्वारन्टीनमा राख्नुपर्ने र बाँकी सबैलाई काममा फर्कन दिनुपर्नेमा पक्षमा उनी छन्। सङ्क्रमित व्यक्तिहरूको सङ्ख्या तीव्र गतिमा बढिरहँदा र न्यून सङ्ख्यामा परीक्षण भइरहेकोले स्थिति भयावह हुन सक्ने चिन्ताबीच राष्ट्रपतिले त्यसलाई गम्भीर रूपमा नलिएको आरोप लागिरहेको छ । (बीबीसीकाे सहयाेगमा)
दशगजा क्षेत्रमै खानाबस्ने व्यवस्था
चन्द्रौटा । भारतका विभिन्न क्षेत्रबाट नेपाल प्रवेश गर्न खोजेका नेपाली नागरिकलाई नेपाल–भारत दशगजा क्षेत्रमै खाना र बस्नका लागि व्यवस्था मिलाइएको छ । कपिलवस्तुका विभिन्न सीमा क्षेत्रबाट नेपाल प्रवेश गर्न खोजेका नागरिकलाई नेपाल प्रवेश गर्न नदिएपछि उनीहरुलाई दशगजा क्षेत्रमै खाना र बस्नको व्यवस्था गरिएको हो । कपिलवस्तु जिल्ला, कृष्णनगर नगरपालिकाका प्रमुख रजतप्रताप शाहले सीमामा अलपत्र नागरिकका समस्या पहिचान गरी दशगजा क्षेत्रमा पुगेर नगर क्षेत्रभित्रका सीमामा रहेका नेपालीलाई खाना र पालको व्यवस्था गरिएको बताए । त्यस्तै सीमामा पर्ने महाराजगञ्ज नगरपालिकाले पनि सीमामा रहेका नागरिकलाई खाना र बस्नको व्यवस्था गरेको नगरप्रमुख अब्दुल कलामले जानकारी दिए । रोजगारीका सिलसिलामा भारतका विभिन्न ठाउँमा पुगेका नेपाली कोराना भाइरसको संक्रमणको जोखिम बढेपछि नेपाल प्रवेश गर्न थालेका हुन् । भारतले नेपाल पठाउने र नेपालले प्रवेश गर्न नदिँदा उनीहरु सीमा क्षेत्रमै त्रिपाल टाँगेर बस्न बाध्य छन् । जिल्लाका कृष्णनगर, भिल्मीमा चाकरचौडामा हरदौनामा र मर्दादपुरमा गरी ३०७ नेपाली नागरिक सीमा क्षेत्रमा रहेको कपिलवस्तुका सशस्त्र प्रहरी उपरीक्षक जनक पुरीले बताए । पछिल्लो समयमा भारतीय प्रहरी तथा सीमा सुरक्षा बलले भारतबाट नेपाल आउने नेपालीका लागि खुकुलो गरेका कारण लुकिछिपी आउनेको संख्या बढेको छ । आफूहरुलाई भारतीय प्रहरीले नै नेपाल जान भनी पठाएको मायादेवी गाउँपालिकाका बुद्धिराम रैदासले भने । दशगजा क्षेत्रसम्म आएका नागरिकका विषयमा भारतीय प्रहरीसँग छलफल भइरहेको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए । रासस