चीन–अमेरिका व्यापार वार्ताको मिश्रित प्रभाव एसियाली शेयर बजारमा
काठमाडौं । व्यापारीहरूले अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भको नयाँ नीतिगत निर्णय र अमेरिका–चीन वार्तालाई पर्खिरहेका समय बुधबार एशियाली शेयर बजारमा मिश्रित प्रभाव देखिएको छ । जापानको शेयर बजारको लेखाजोखा राख्ने निक्के सुचकाङ्कमा २२५ अङ्क अर्थात् ०.५ प्रतिशतको कमी आई २० हजार ५५६ दशमलब ५४ अङ्क कायम भएको छ भने दक्षिण कोरियाली कोस्पीमा ०.९ प्रतिशतको वृद्धि भई २२ हजार तीन दशमलब १७ कायम भएको छ । हङकङको हाङसेङ सूचकाङ्कमा ०.१ प्रतिशत अङ्कले वृद्धिभई २७ हजार ५६४ दशमलब १९ अङ्क कायम भएको छ । साङघाइ कम्पोजिट सूचकाङ्कमा ०.२ प्रतिशतको ह्रास आउँदा २५ हजार ८९ दशमलब ७० अङ्क कायम भएको छ । अष्ट्रेलियाको एस एण्ड पी एएसएक्स २०० मा ०.२ प्रतिशत अङ्कले वृद्धि भई पाँच हजार ८८६ दशमलब ७० कायम भएको छ । ताइवानमा स्टक बजार स्थिर रहेको छ भने थाइल्याण्ड र इन्डिोनेसियामा वृद्धि देखिएको छ । रासस/एपी
अन्ना हजारेले शुरु गरे अनशन, लोकपाल विधेयक कार्यान्वयन गर्न माग
रलेगण सिद्धी, भारत । भारतका प्रख्यात सामाजिक अभियन्ता अन्ना हजारेले बुधबारदेखि आफ्नै गाउँमा आमरण अनसन सुरु गरेका छन् । केन्द्रमा लोकपाल र प्रदेशमा लोकायुक्तहरु नियुक्त गर्ने व्यवस्थासहितको लोकपाल विधेयक कार्यान्वयन गर्न माग गर्दै उनले अनशन सुरु गरेका हुन् । भ्रष्टाचार विरुद्धका काम गर्न मोदी नेतृत्वको सरकार असफल भएको भन्दै उनले स्वतन्त्र लोकपाल र लोकायुक्त नियुक्त गर्नुपर्ने माग गरेका छन् । “कुनै सर्वसाधारणले प्रमाणसहित उजुरी दियो भने लोकपालले प्रधानमन्त्रीलाई पनि छानबिन गर्न सक्दछ, त्यसैगरी लोकायुक्तले मुख्यमन्त्री, अन्य मन्त्रीहरु र प्रदेश सभाका सांसदहरुलाई पनि छानविन गर्न सक्छ,” आफ्नै गाउँमा अनसन शुरु गर्नुअघि उनले भने । आफूमाथि नै छानबिन गर्ने भएकाले उनीहरुले यस्तो व्यवस्था गराउन नचाहेको उनको आरोप छ । उनले यस्तो व्यवस्था कुनैपनि पार्टीको चाहनामा नपरेको बताए । लोकपाल विधेयक सन् २०१३ मा नै संसदले पारित गरिसकेको भएपनि सरकारले अहिलेसम्म त्यसमा भएको व्यवस्था अनुसार लोकपाल र लोकायुक्त नियुक्त नगरेकाले फेरि अनसनमा बस्नु परेको उनको भनाई छ । आफ्ना पूर्व समर्थकहरु, जो अहिले राजनीतिमा छन्, उनीहरुले पनि अनसनमा साथ दिन सक्ने बताउँदै उनले भने, “हाम्रो मञ्चमा अब कुनै राजनीतिक नेताहरुलाई ठाउँ छैन ।” उनले थपे, “लोकपाललाई निषेध गर्नेगरी तीन दिन भित्रमा उनीहरुले अर्को कानुन पारित गरेका छन्, त्यसमा राष्ट्रपतिले पनि लालमोहर लगाइसक्नु भएको छ, तर पनि लोकपाल नियुक्त गरिएको छैन ।” “पाँच वर्षसम्म पनि उनीहरुले यस बारेमा केही गरेनन्, त्यसैले राजनीतिक नेताहरुलाई हाम्रो ठाउँमा आउन दिदैनौँ,” हजारेले भने । भारतमा शहीद दिवसको रुपमा समेत मनाइने महात्मा गान्धीको स्मृति दिवस जनवरी ३० को दिन पारेर आफूले अनसन सुरु गरेको पनि उनले बताए । रासस/एएनआई
चीन-अमेरिका व्यापार वार्ता वासिङ्टनमा, गतिरोधबीच भएको वार्ताले के देला निश्कर्ष ?
वासिङ्टन । चीन र संयुक्तराज्य अमेरिकाबीच दोस्रो चरणको व्यापार वार्ता बुधबार वासिङ्टन डिसीमा शुरु भएको छ । अमेरिकाले चिनियाँ विशाल टेलिकम कम्पनी हुवावे विरुद्ध दुई दर्जनभन्दा बढी फौजदारी अभियोग लगाएपछि उत्पन्न गतिरोधबीच वार्ता शुरु भएको छ । विश्वका दुई ठूला अर्थतन्त्र भएका चीन र अमेरिका उच्च प्रविधि उद्योगको भविष्यलाई लिएर सङ्घर्षरत रहेको अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटिजरले बताए । उनी वार्तामा अमेरिकी प्रमुख मध्यस्थकर्ता हुन् । तीन वर्षअघि बेइजिङले महत्वाकाँक्षी “मेड इन चाइना २०२५” कार्यक्रम सार्वजनिक गरेको थियो । उक्त कार्यक्रमको मुख्य उद्देश्य नै चीनलाई अन्तरिक्ष, रोबोटिक्स, आर्टिफिसियल इन्टेलिजेन्स, नयाँ पुस्ताको कार तथा अरु क्षेत्रमा अग्रणी स्थानमा पुर्याउने थियो । अमेरिकी अधिकारीहरुका अनुसार यी क्षेत्रहरुमा अमेरिकी प्रविधि र खोजको मुख्य हिस्सा रहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पटकपटक आफू स्वस्थ चिनीया अर्थतन्त्रको पक्षमा रहेको बताउँदै आउनुभएको छ, तर त्यो अमेरिकी व्यवसाय र प्रविधिको बदलामा होइन । खासगरी, अमेरिकी अधिकारीहरुले चिनियाँ व्यापारिक अभ्यासमाथि आक्रमण गरिरहेका छन् । उनीहरुको भनार्इमा चीनको व्यापार अभ्यास अस्वच्छ रहेको छ । चीनले जबर्जस्ती अमेरिकी प्रविधि हस्तान्तरण गरेको र बौद्धिक चोरी गरेको अमेरिकी अधिकारीहरुको भनाइ छ । चीनले अमेरिकी कम्पनीलाई चीनमा व्यवसाय गर्न चिनीया कम्पनीसँग साझेदारी गर्नैपर्ने बाध्यकारी अवस्था सिर्जना गर्ने गरेको छ । बेइजिङमाथि दबाब सिर्जना गर्न ह्वाइट हाउसले २५० अर्ब अमेरिकी डलर बराबरका चिनीया सामानमा करवृद्धि गरेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले दुई देशबीचको वार्तामा सहमति नभए आगामी मार्च २ तारिखदेखि २०० अर्ब डलर बराबरका चिनीया सामानमा २५ प्रतिशत कर लगाउने घोषणा गरिसकेका छन् । बेइजिङले पनि करिब ११० अर्ब डलर बराबरका अमेरिकी सामानमा करवृद्धि गरेको छ । अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच औद्योगिक राष्ट्रहरुको समूह जी–२० को ब्युनस आयर्समा भएको बैठकका क्रममा तीन महिने व्यापार युद्धविराम गर्ने सहमति भएको थियो । उक्त सहमति बमोजिम तीन महिनाभित्र वार्ता गरी दुई देशबीचका असमझदारी हल गर्ने र नयाँ व्यापार सम्झौता गर्ने उद्देश्यले दुबै देशका उच्च अधिकारीहरुबीच वार्ता जारी छन् । यसअघि चीनको बेइजिङमा पहिलो चरणको प्रारम्भिक वार्ता भइसकेको छ । उक्त वार्ताका विवरणहरु भने सार्वजनिक गरिएको छैन । रासस/एएफपी