भेनेजुयलामाथि प्रतिबन्धको प्रभाव, पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

काठमाडौं । भेनेजुयलामा आर्थिक प्रतिबन्धको घोषणाले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि भएकाे छ । राजनीतिक परिघटनालाई लिएर अमेरिकाले राष्ट्रपति निकोलस मदुरोमाथि सत्ता छोड्न निर्वाचन गराउन दवाब सिर्जना गर्ने उद्देश्यले थप पेट्रोलियम पदार्थमा मूल्य प्रभाव परेको हाे। ‘वेस्ट टेक्सास इन्टरमेडिएट (डब्लुटिआई)को मूल्यमा आगामी मार्चका लागि हुने आपूर्तिमा २.९ र ब्रेन्टको मार्चका लागि हुने आपूर्तिमा १.९ प्रतिशतले वृद्धि गर्ने बताएपछि यसको प्रभाव गत हप्तादेखि नै अमेरिका लगायत भेनेजुयलाबाट पेट्रोलियम पदार्थको आयात गर्ने मुलुकमा परेको छ । गत जनवरी २५ सम्म तेलको मूल्यमा सामान्य कमी देखिएको थियो । अघिल्लो हप्ता तेलको कच्चा पदार्थ, डब्लुटिआई मा ०.२ प्रतिशत र ब्रेन्टमा १.७ प्रतिशतको कमी आएको थियो । डब्लुटिआईको मूल्य प्रति ब्यारेल ५३.६९ अमेरिकी डलर र ब्रेन्टको मूल्य प्रतिव्यारेल ६१.६४ अमेरिकी डलर कायम भएको थियो । तर गत हप्ताको सोमबार डब्लुटिआईमा १.७० अमेरिकी डलर कमी आई प्रति ब्यारेल ५१.९९ अमेरिकी डलर र ब्रेन्टमा प्रतिब्यारेल १.७१ अमेरिकी डलरको कमी आई ५९.९३ प्रतिशत कायम भएको थियो । राष्ट्रपति मदुरोलाई दवाव दिन काराकासको तेलको निर्यातलाई नियन्त्रण गर्न अमेरिकाले भेनेजुयलाको राज्यद्वारा सञ्चालित तेल कम्पनीमाथि प्रतिबन्धको घोषणा गर्यो जसको प्रभाव गत साता देखि नै अमेरिकी राष्ट्रहरूमा तेलको मूल्यमा वृद्धि भएको हो । पछिल्लो परिवर्तनपछि तेलको कच्चा पदार्थ डब्लुटिआईमा १.३२ प्रतिव्यारेल अमेरिकी डलर वृद्धि भई ५३.३१ डलर कायम भएको छ भने ब्रेन्टमा १.३९ को वृद्धि भई ६१.३२ कायम हुन गयो । तर यो क्रम निरन्तर रहँदा डब्लुटिआइ को मूल्यमा आगामी मार्चका लागि हुने आपूर्तिमा २.९ र ब्रेन्टको मार्चका लागि हुने आपूर्तिमा १.९ प्रतिशतले वृद्धि गर्ने बताइएको हो । रासस/सिन्ह्वा

श्रीलङ्काद्वारा चीनसँग एक अर्ब डलर ऋण प्रस्ताव

कोलम्बो । श्रीलङ्काले राजधानी कोलम्बोबाट क्यान्डी सहर जोड्ने राजमार्ग निर्माणका लागि चीनसँग एक अर्ब डलर ऋण सहयोगका लागि आग्रह गरेको छ । श्रीलङ्कासँग विदेशी मुलुकलाई यसै वर्षमात्र करिब ६ अर्ब अमेरिकी डलर ऋण भुक्तानी गर्नुपर्ने दायित्व छ । अर्थ मन्त्रालयका प्रवक्ता एमआर हसनले राजमार्ग निर्माण सम्बन्धी ऋणका शर्तहरु स्वीकृत हुने अपेक्षा गरिरहेको बताए । श्रीलङ्काले हालैका वर्षहरुमा चीनबाट सबैभन्दा बढी ऋण प्राप्त गरिरहेको छ । राष्ट्रपति मैत्रीपाला सिरिसेनाको सरकारले विपक्षी महिन्दा राजापाक्षले मुलुकलाई चिनीया ऋणको जालोमा पारेको आरोप लगाउँदै आएको छ । तर, आर्थिक दबाब झेल्दै आएको वर्तमान सरकारले पुनः चीनसँग ठूलो परिमाणमा ऋण लिन लागेको छ । चीनसँगको निकटतालाई लिएर राष्ट्रपति सिरिसेना र प्रधानमन्त्री रनिल विक्रमासिङ्घेबीच राजनीतिक द्वन्द्व चर्किएको थियो । रासस/एपी

भटमास खरिद गर्न चीन तयार भएपछि ट्रम्पले भने-व्यापार वार्तामा प्रगति भो

वासिङ्टन । संयुक्तराज्य अमेरिका र चीनबीच वासिङ्टनमा जारी व्यापार वार्तामा उल्लेखनीय प्रगति भएको दुबै देशका प्रतिनिधिहरुले बताएका छन् । चीन र अमेरिकाबीचको “व्यापार युद्ध” नाम दिइएको अमेरिकी करवृद्धि योजनाले विश्व अर्थतन्त्रमै पार्न सक्ने गम्भीर प्रभावलाई ध्यान दिई हाल दुबै मुलुकबीच वार्ता भइरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनीया राष्ट्रपति सी चिनफिङबीच जी–२० बैठकको अवसरमा अर्जेन्टिनाको ब्युनस आयर्समा भएको भेटवार्तामा दुबै मुलुकबीच तीन महिने व्यापार युद्धविराम घोषणा गरिएको थियो । आगामी मार्च १ तारिखभित्रै वार्ताद्वारा नयाँ सहमति नभए अमेरिकाले २०० अर्ब डलर बराबरका चिनीया सामानमा हाल लाग्दै आएको १० प्रतिशत करलाई वृद्धि गरी २५ प्रतिशतसम्म बनाउने घोषणा गरेको छ । दुबै देशका व्यापार प्रतिनिधिबीच वासिङट्न डिसीमा जारी वार्तामा उल्लेखनीय प्रगति भएको अमेरिकी राष्ट्रपति ट्रम्पले बताएका छन् । ह्वाइट हाउसमा पत्रकारहरुसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले चिनीया राष्ट्रपति सी चिनफिङले लेखेको पत्र निकै स्वागतयोग्य रहेको पनि बताए । चीनको सरकारी सञ्चार माध्यम सिन्ह्वाले पनि दुबै देशका व्यापार प्रतिनिधिबीच दुई दिनको वार्तामा “महत्वपूर्ण प्रगति” भएको जनाएको छ । व्यापार वार्ताका लागि चीनका उपप्रधानमन्त्रीको नेतृत्वमा एक प्रतिनिधिमण्डल वासिङ्टन आएको छ । अर्थशास्त्रीहरुको भनाइमा आगामी मार्च १ तारिखको समयसीमाभित्र दुबै मुलुकबीच सम्झौता नभए त्यसले विश्व अर्थतन्त्रमा ठूलै नोक्सानी गर्नेछ । चिनियाँ राष्ट्रपति सी चिनफिङले अमेरिकी राष्ट्रपति ट्रम्पलाई लेखेको पत्र चिनियाँ प्रमण्डलले पढेर सुनाएको थियो । पत्रमा चिनीया राष्ट्रपतिले दुबै मुलुकबीचको सम्बन्ध अहिले “गम्भीर मोडमा” आएको चर्चा गर्दै परस्पर सम्मानका आधारमा दुबै मुलुकले मिलेर कार्य गरिने उल्लेख छ । जवाफमा राष्ट्रपति ट्रम्पले दुबै मुलुकबीचको सम्बन्ध ज्यादै राम्रो रहेको बताए । अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटिजर र अर्थमन्त्री स्टीभन मन्चिनले आगामी फेब्रुअरीको मध्यमा अर्को चरणको वार्ताका लागि चीनको भ्रमण गर्नेछन् । सिन्ह्वाका अनुसार, राष्ट्रपति ट्रम्पले व्यापार वार्ता सम्पन्न भएपछि चिनीया राष्ट्रपतिलाई भेट्ने बताएका छन् । त्यसपछि दुबै मुलुकबीच व्यापार सम्झौता हुनेछ । “सहमतिका बुँदाहरुलाई लिपिबद्ध गर्नु आवश्यक छ । हामीले अझै केही बुँदामा सहमति जनाइसकेका छैनौं । मेरो विचारमा त्यसमा सहमति हुनेछ । मेरो विचारमा म र राष्ट्रपति सीबीच भेटघाट हुनासाथ सबै बुँदामा सहमति हुनेछ,” राष्ट्रपति ट्रम्पले बताए । चीनको अर्थतन्त्रमा निकै मन्दी आइसकेको र बजार खुम्चिएका कारण पनि वार्ताको महत्व अझ बढेको छ । गत वर्ष, वासिङ्टन र बेइजिङले एकअर्का मुलुकका ३६० अर्ब डलर बराबरका सामानमा करवृद्धि गरेका थिए । चिनीया गलत व्यापार अभ्यासलाई लिएर राष्ट्रपति ट्रम्पले चीन विरुद्ध व्यापार युद्ध नै शुरु गरेका थिए । व्यापार वार्ताको समयावधि बढाउने सम्भावनका बारेमा सोधिएको एक प्रश्नमा राष्ट्रपति ट्रम्पले भने, “मार्च १ तारिखको समयसीमा बढाउने बारेमा हामीले कुरा गरेका छैनौं । मेरो विचारमा तोकिएकै समयभित्र दुई देशबीच सम्झौता हुन्छ ।” यसैबीच, चिनियाँ वार्ता टोलीको नेतृत्व गरिरहनुभएका चिनीया उपप्रधानमन्त्री लिउ हेले राष्ट्रपति ट्रम्पसँग बिहीबार भेटवार्ता गरेका छन् । उनले प्रति दिन थप पचास लाख टन भटमास (सोयाबिन) खरिद गर्न चीन तयार रहेको राष्ट्रपति ट्रम्पलाई जानकारी गराएका थिए । जवाफमा राष्ट्रपति ट्रम्पले चीनको यस कदमले अमेरिकी किसान खुशी हुने बताए । बेइजिङले यसअघि नै अमेरिकी सोयाबिन खरिद गर्न थालिसकेको छ । अमेरिकाबाट ठूलो परिमाणमा सोयाबिन चीन निकासी हुने गरेको छ । रासस/एएफपी