बजेट पारित नभएपछि स्पेनका नयाँ प्रधानमन्त्री पेड्रोद्वारा निर्वाचनको घोषणा

मड्रिड । स्पेनको संसदबाट बजेट पारित नभएपछि शुक्रबार नयाँ निर्वाचनको लागि मिति घोषणा गरिएको छ । प्रधानमन्त्री पेड्रो सान्चेजले आगामी अप्रिल २८ तारिखका दिन निर्वाचन गर्ने गरी शुक्रबार मिति घोषणा गरेको अधिकारीहरुले जनाएका छन् । क्याटलोनिया सम्वन्धी विवाद र त्यसबाट संकट उत्पन्न भइरहेकै बेला संसदले बजेट प्रस्ताव अस्वीकृत गरेपछि निर्वाचन घोषणा गरेको हो । स्पेनमा गत चार बर्षको अवधिमा अहिले तेस्रो पटक निर्वाचनको मिति घोषणा भएको जनाइएको छ । “दुई विकल्पहरूमध्ये बजेट विना केही नगरी बस्ने वा स्पेनी नागरिकहरूलाई नै फैसलाको जिम्मा दिनेमध्ये मैले दोस्रो रोजेँ,” प्रधानमन्त्री सान्चेजले भने। नयाँ प्रधानमन्त्रीका रुपमा ४६ बर्षीय सान्चेजले आठ महिना अगाडि मात्रै जिम्मेवारी सम्हाल्दै तत्कालिन प्रधानमन्त्रीलाई अविश्वासको मतको प्रस्ताव राखेर पराजित गरी नाटकीय तरिकाले प्रधानमन्त्री बनेको जनाएका छन् । संसदमा क्याटलोनिया पृथकतावादीहरूको तर्फबाट १७ सांसद रहेका छन् । प्रधानमन्त्रीको बजेट प्रस्तावको विपक्षमा मत जाहेर गरेपछि बजेट प्रस्ताव अस्विकृत भएको हो । यसअघि प्रधानमन्त्रीको निर्वाचनका बेलामा सान्चेजलाई नै मतदान गरेका थिए । त्यस बाहेक सोसलिष्ट पार्टी, तत्कालिन विपक्षी पार्टी पोडेमोस र बास्कजस्ता क्षेत्रीय पार्टीहरुले पनि सान्चेजलाई मतदान गरेका थिए । स्पेनका समाजवादी नेता सान्चेज तत्कालिन प्रधानमन्त्री मारियानो राहोएलाई विस्थापित गरेर प्रधानमन्त्री बनेका हुन् । विश्वासको मत गुमाएर प्रधानमन्त्री पदबाट बाहिरिनेमा राहोए स्पेनी लोकतन्त्रको इतिहासमा पहिलो प्रधानमन्त्री भएको समाचारमा जनाइएको छ । रासस/एएफपी

अमेरिकामा राष्ट्रिय संकटकाल, मेक्सिकोसँगको सीमामा पर्खाल लगाएरै छाड्ने ट्रम्पको घोषणा

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रिय संकटकाल घोषणा गरेका छन् । मेक्सिकोसँगको सीमामा पर्खाल लगाउन संसद्ले बजेट विनियोजन नगरेपछि राष्ट्रपति ट्रम्पले संकटकाल घोषणा गरेका हुन् । संकटकाल घोषणापछि ह्वाइट हाउसमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले अब मेक्सिकोसँगको अमेरिकी सीमामा पर्खाल लगाएरै छाड्ने बताए । संकटकाल घोषणासँगै मेक्सिकोको सीमामा पर्खाल लगाउन आफूले झन्डै ८ अर्ब अमेरिकी डलर प्रयोग गर्न पाउने उनले बताए । राष्ट्रपति ट्रम्पले दक्षिणी सीमामा रहेको राष्ट्रिय सुरक्षाको संकट समाधान गर्ने दाबी गरेका छन् । तर डेमोक्र्याट्सहरुले भने यसलाई ‘शक्तिको दुरुपयोग’ भनेका छन् । डेमोक्र्याट्स पार्टीका उच्च नेताहरुले ट्रम्पको कदमलाई अदालतबाट चुनौती दिने बताएका छन् । (एजेन्सीहरुबाट)

राजकुमारीलाई उम्मेदवार बनाउन खोजेको आरोपमा थाईल्याण्डको एक पार्टी विघटन गर्ने तयारी

बैंकक । राजकुमारीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने प्रयास गरेको आरोप लगाउँदै थाईल्याण्डको एक पार्टीलाई विघटन गर्ने प्रक्रिया सुरु गरिएको छ । निर्वाचन आयोगले राजकुमारीलाई राजनीतिमा ल्याउन खोज्ने ‘थाई रक्षा चार्ट पार्टी’लाई विघटनका लागि प्रक्रिया अगाडि बढाएको हो । आयोगले पूर्वप्रधानमन्त्री थाक्सिन शिनावात्राको सो पार्टीलाई विघटनका लागि बुधबार संवैधानिक अदालतसँग सोधेको छ । रक्षा चार्टको तर्फबाट थाई राजकुमारी उबोलरतनाले केही दिन अगाडी प्रधानमन्त्रीका लागि आफूले उम्मेदवारी दिने घोषणा गरेका थिए । उनको घोषणाप्रति उनका भाई तथा थाइल्याण्डका राजा माहा वाजिरालोङकोर्नले आपत्ति जनाएका थिए भने उनले आपत्ति जनाएपछि निर्वाचन आयोगले उनलाई उम्मेदवार बन्न आयोग्य घोषणा गरेको थियो । राजाको असन्तुष्टि र आयोगको निर्णयपछि राजकुमारी उबोलरतनाले पनि कमजोरी भएको स्विकार गर्दै क्षमा याचना गरेकी छन् । उनले क्षमा याचना गरेसँगै निर्वाचन आयोगले उनलाई उम्मेदवार बनाउन खोजेको पार्टीलाई विघटनको प्रक्रिया थालेको हो । शाही परिवारका सदस्यलाई सक्रिय राजनीतिमा संलग्न गराउन खोज्नु कानुन विपरित भएकाले त्यस्तो कार्यमा संलग्न रक्षा चार्टलाई विघटन गर्ने प्रक्रिया सुरु गर्नु परेको आयोगका अधिकारीहरुको भनाई छ । आउदो मार्च २४ मा निर्वाचन हुन लागेकाले त्यो भन्दा अगाडी नै अदालतले यस विषयमा निर्णय गर्नु पर्ने भएको छ । अदालतले विघटन गर्ने निर्णय गरेमा यसले शिनावात्रा परिवार र सो पार्टीले अझ लामो समय प्रतिवन्ध भोग्नु पर्ने छ भने आसन्न निर्वाचनमा भाग लिन पाउने छैन । सैन्य विद्रोहपछि पदच्युत भई अहिले निर्वासित जीवन विताईरहनु भएका शिनावात्रालाई अहिलेको सत्ता पक्षले निषेध गर्ने रणनीतिको रुपमा यो विषयलाई अगाडी सारेको टिप्पणी गरिएको छ । रासस/एएफपी