गुगलले मिडियालाई ३५ करोड रुपैंयाँ बाँड्दै
एजेन्सी । गुगलले कोरोना भ्याक्सिनबारे फ्याक्ट चेक गर्न मिडियालाई ३ मिलियन डलर (३५ करोड, १० लाख, ५३ हजार एक सय रुपैंयाँ) छुट्याएको छ । भ्याक्सिनबारे गलत समाचार रोक्न यो बजेट छुट्याएको हो । द गुगल न्युज इनिसियटिभले मिडिया र फ्याक्ट चेक गर्ने संस्थाहरुलाई यो रकम प्रदान गर्न लागेको घोषणा गरेको छ । बेलायति समाचार संस्था रोयटर्सका अनुसार कोभिड १९ को भ्याक्सिन बारे भ्रमपूर्ण समाचार छापिएपछि सत्य, तथ्य सूचना दिन गुगलले चासो दिएको हो । यसअघि गुगलले फ्याक्ट चेकिङ प्रोजेक्टका लागी अप्रिलमा ६.५ मिलियन (७६ करोड, ६ लाख १५ हजार, ५० रुपैंयाँ) र डिसेम्बरमा १.५ मिलियन (१७ करोड, ५५ लाख, २६ हजार ५ सय ५० रुपैंयाँ) प्रदान गरेको थियो । गुगलले प्रदान गर्न लागेको यति ठूलो रकम कसले पाउँदैछ ? के फ्याक्ट चेकिङ मात्र पर्याप्त छ त ? फस्र्ट ड्राफ्ट, कोम्प्रोभा, फुल फ्याक्ट, मल्टिडाडट्इएस, कोरेक्टिभ, पोलिटिफ्याक्ट, कैसर हेल्थ न्युज, स्ट्यान्डफोर्ड युनिभर्सिटी, द इन्टरनेश्नल फ्याक्ट चेकिङ नेटवक्र्स, साइन्स फिड्ब्याक र डाटा लिड्सले अप्रिलले ग्रान्ट पाएका थिए । यस्तै डिसेम्बरको सूरुवातमा द अस्ट्रेलियन साइन्स मिडिया सेन्टर र द टेक्नोलोजि नन् प्रोफिट् मिडानले १ मिलियन डलर (११ करोड ७० लाख १७ हजार ७ सय) प्राप्त गरेका थिए । यी संस्थाले पत्रकारहरुलाई आवश्यक पर्ने सूचना र अनुसन्धानपछि प्राप्त तथ्य उपलब्ध गराउँथे । अहिले गुगलले प्रदान गर्न लागेको फन्डमा जुनसुकै मिडिया हाउसले एप्लाइ गर्न सक्नेछन् । तर, प्रतिष्ठित फ्याक्ट चेकिङ संस्थासँग मिलेर काम गर्नु पर्नेछ । फ्याक्ट चेकिङ संस्थासंग सहकार्य गरेर मिडिया आउटलेटले फ्याक्ट चेकको काम गर्न सक्नेछन् । यसमा पत्रकार, डाक्टर संयुक्त रुपमा पनि मिलेर काम गर्न सक्नेछन् ।
ट्रम्पलाई महाअभियोग
एजेन्सी । अमेरिकी राष्ट्र्रपति डोनाल्ड ट्रम्पलाई महाअभियोग लागेको छ । ट्रम्प एउटै कार्यकालमा दोस्रो चोटी महाअभियोग लाग्ने इतिहासमै पहिलो व्यक्ति बनेका छन् । यसअघि सन् २०२० मा उनलाई महाअभियोग लगाईएको थियो । बुधबार ट्रम्पमाथि महाअभियोग लगाईएको हो । यस पटक उनकै पार्टीका सेनेटरहरु पनि महाअभियोगको पक्षमा देखिएका छन् । यसअघि उनको पार्टीबाट महाअभियोगको समर्थन नगरिएको कारण महाअभियोग असफल भएको थियो । अमेरिकी संसदमा हुलहुज्जत गरेका कारण ट्रम्पमाथि महाअभियोग लागेको हो । सत्ताबाट बाहिरिनु ९ दिन अगाडी मात्रै उनीमाथि महाअभियोग लागेको हो । सभामुख न्यान्सी पेलोसिले भनेकी छिन्, ‘ट्रम्पले राज्यमाथि गद्धारी गरेकाले उनै जानैपर्छ । हामीले माया गर्ने देशका लागी उनी खतरा हुन् ।’
युगान्डामा फेसबुक लगायतका सोसल मिडिया प्रतिबन्ध
एजेन्सी । अफ्रिकी मुलुक युगान्डाले फेसबुक लगायत अन्य सोसल मिडियामाथि प्रतिबन्ध लगाएको छ । युगान्डाका राष्ट्रपति योवेरी मुसेभेनीले मंगलबार यस्तो कदम चालेका हुन् । यसै हप्ता युगान्डामा राष्ट्रपतिको चुनाव हुँदैछ । युगान्डाको राजधानी कम्पालामा भाषण गर्दै राष्ट्रपति योवेरीले सोसल मिडिया प्लेटफर्म प्रतिबन्ध लगाएको घोषणा गरेका हुन् । न्युयोर्क टाइम्स का अनुसार उनले फेसबुकलाई अहंकारी भएको आरोप समेत लगाएका छन् । केही दिन अघि मात्रै फेसबुकले दुई जना मुसेभेनिका समर्थकहरुको खाता बन्द गरिदिएको थियो । राष्ट्रको सुरक्षामाथि खतरा भएको भन्दै फेसबुक बन्द गरिएको उनले प्रतिक्रिया दिएका छन् । राष्ट्रपति मुसेभेनीले फेसबुक युगान्डा सरकारका विरुद्ध लागेको समेत आरोप लगाएका छन् । को असल, को खराब भन्ने अधिकार फेसबुकलाई नभएको उनले टिप्पणी गरेका छन् । ‘किन कसैले त्यसो गर्छ ?’ मुसेभेनीले भने, ‘मैले मेरा जनताहरुलाई फेसबुकको प्रयोग नगर्न भनेको छु ।’ फेसबुक लगायतका सोसल मिडिया प्लेटफर्म बन्द गर्नु दुर्भाग्य भएको बताउँदै उनले प्रयोगकर्ताहरुसँग माफी पनि मागेका छन् । सन् २०१६ को चुनावमा पनि युगान्डाले फेसबुकमाथि प्रतिबन्ध लगाएको थियो ।