युरोपियन मेडिसिन एजेन्सीले भन्यो : कोभिडको नयाँ लहरका लागि तयार रहौं
दि हेग । युरोपियन मेडिसिन एजेन्सी (इएमए) ले युरोपमा कोभिड १९ को नयाँ लहर आउनसक्ने भन्दै त्यसका लागि तयार रहन आग्रह गरेको छ । सो एजेन्सीले कोभिड १९ को महामारी पूर्ण रुपमा टरेको नभएर अहिले केही कम मात्र भएको भन्दै युरोपमा अर्काे लहर आउन सक्ने भएकाले तयार रहन भनेको हो । मङ्गलबार युरोपियन मेडिसिन एजेन्सीले युरोपका देशहरुमा अहिले महामारी कम भएको देखिएको छ भन्दै तर पनि महामारी अहिले घटेको भए पनि यहाँका नागरिकमा यसको प्रकोप भने नघटेको बताएको हो । युरोपियन मेडिसिन एजेन्सीका प्रमुख म्याक्रो क्याबलेरीले सो कुरा बताएका हुन् । उनले भनेका छन्– यहाँका देशहरुमा अहिले कोभिडको सङ्क्रमण घटेको पाइएको छ । युरोपियन देशहरुले आगामी दिनमा यो महामारीको अर्काे लहर आउन सक्छ भनेर यसबाट बच्ने उपायहरुको तयारीमा लाग्नुपर्छ । उनले युरोपमा आगामी शरद ऋतुमा यसको प्रकोप थप बढ्न सक्ने पनि बताएका छन् । उनले गएका दुई वर्षदेखि यो ऋतुमा कोभिडको महामारी बढेको पाइएकोले अब आउने सो ऋतुमा पनि महामारीको प्रकोप बढ्न सक्छ भन्ने हिसाबको तयारी गर्नुपर्ने बताए । उनले पहिलेका वर्षहरुका तुलनामा पछिल्लो समयमा विकासित भएका कोभिडका नयाँ प्रजातिहरुको प्रभाव झन् धेरै देखिएकाले पनि यो प्रकोपबाट हुन सक्ने क्षतितर्फ सचेत रही तयारीका साथ रहन आग्रह गरेका हुन् । रासस/सिन्ह्वा
दक्षिणी पाकिस्तानमा डेङ्गुको कारण २७ को मृत्यु
इस्लामावाद । पाकिस्तानमा डेङ्गु ज्वरोको फैलावट लगातार बढिरहेको छ । यो महिना देशको दक्षिणी प्रान्त सिन्धमा हालसम्म डेङ्गु सङ्क्रमणको कारण २७ जना बिरामीको मृत्यु भएको प्रान्तीय स्वास्थ्य विभागले जनाएको छ । यस सङ्क्रमणको कारण मृत्यु भएका सबै सिन्ध प्रान्तको प्रान्तीय राजधानी अर्थात देशको सबैभन्दा ठूलो सहर कराचीमा भएको बताइएको छ । पछिल्लो २४ घण्टामा सिन्ध प्रान्तमा कुल तीन सय ५३ जना नयाँ सङ्क्रमित भएका विभागले मङ्गलबार साँझ जानकारी दिएको छ । सेप्टेम्बरमा बिरामीको सङ्ख्या तीन हजार ५ सय ९४ पुगेको छ । वर्षभरि कुल बिरामीको सङ्ख्या छ हजार एक ६३ पुगेको छ । उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा पछिल्लो २४ घण्टामा दुई सय ८४ लाई डेङ्गु सङ्क्रमण भएको प्रान्तीय स्वास्थ्य विभागले जनाएको छ । यसवर्ष खैबर पख्तुनख्वा प्रान्तमा एक हजार सात सय २९ सक्रिय सङ्क्रमितको सङ्ख्या रहेका छन् । कुल सङ्क्रमितको सङ्ख्या पाँच हजार दुई ६४ पुगेको बताइएको छ । यसबाहेक, पूर्वी पञ्जाब प्रान्तमा पछिल्लो २४ घण्टामा दुई सय १५ सङ्क्रमित भएका प्रान्तीय स्वास्थ्य अधिकारीहरूले मङ्गलबार बिहान जानकारी दिएका छन् । पञ्जाबको राजधानी लाहोरमा एक सय पाँच जना सङ्क्रमित भएका छन् । रावलपिंडी सहरमा ५४ जनामा सङ्क्रमण देखिएको छ । यसवर्ष रावलपिंडीमा कुल सङ्क्रमितको सङ्ख्या तीन हजार ६ सय ४५ पुगेको छ । यसैबीच २४ घण्टाको समयावधीमा अर्थात मङ्गलबार साँझसम्म पाकिस्तानको विभिन्न भागमा परेको मुसलधारे वर्षापछिको बाढीमा परी कम्तीमा १० को मृत्यु भएको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले जानकारी दिएको छ । बाढी सम्बन्धी छुट्टाछुट्टै घटनाहरूमा ज्यान गुमाउनेहरूमध्ये चार बालबालिका र दुई महिला रहेका एनडीएमएले मङ्गलबार जनाइएको छ । देशको सबैभन्दा बढी प्रभावित क्षेत्र दक्षिणी सिन्ध प्रान्त नौ जनाको मृत्यु भएको छ । त्यसपछि दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा एक जनाको मृत्यु भएका जनाइएको छ । एनडीएमएले मङ्गलबार राति सार्वजनिक गरेको विवरणअनुसार देशका छुट्टाछुट्टै स्थानमा भएका बाढीसम्बन्धी घटनामा एक हजार पाँच सय ६९ जनाको मृत्यु भएको छ । बाढीजन्य भवितव्यमा परी १२ हजार आठ सय ६० जना घाइते भएका छन् । यस प्रकोपले ५० हजार नौ सय ४० घरहरु क्षतिग्रस्त पारेको समाचारमा जनाइएको छ । बाढी प्रभावित क्षेत्रमा प्राधिकरण, अन्य सरकारी संस्था, स्वयंसेवी र गैरसरकारी संस्थाले उद्धार तथा राहत सामग्री वितरणलाई निरन्तरता दिइरहेका छन् ।
कमेडियन राजु श्रीवास्तवकाे निधन
काठमाडौं । भारतिय हास्य कलाकार रनजु श्रीवास्तवको ५८ वर्षको उमेरमा निधन भएको छ ।श्रीवास्तवलाई साउन २५ गते जिममा ट्रेडमिलमा दौडिरहेको बेला हृदयाघात भएपछि दिल्लीको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स(एम्स) अस्पतालमा भर्ना गरिएको थियो । अस्पताल भर्ना गरेकै दिन उनको एन्जियोप्लास्टी अपरेसन पनि गरिएको थियो । श्रीवास्तवलाई अस्पतालमा लाइफ सपोर्ट सिस्टममा राखिएको थियो । भेन्टिलेटरमा १५ दिनपछि राखेपछि उनी होशमा आएका थिए । तर, भदाै १६ गते उनलाई १०० डिग्री ज्वरो आएपछि फेरि भेन्टिलेटर सपोर्टमा राखिएको थियो । उनले १९८० को दशकको अन्त्यदेखि मनोरञ्जन उद्योगमा काम गर्न सुरु गरेका थिए । २००५ मा स्ट्यान्डअप कमेडी शो ‘द ग्रेट इन्डियन लाफ्टर च्यालेन्ज’ को पहिलो सिजनमा भाग लिएपछि उनी चर्चामा आएका थिए ।