बङ्गलादेशमा डुङ्गा पल्टिँदा मृत्यु हुनेको संख्या ५१ पुग्यो

ढाका । बङ्गलादेशको गत आइतबार एक डुङ्गा पल्टिदा मृत्यु हुने यात्रीको सङ्ख्या कम्तीमा पनि ५१ जना पुगेको समाचारमा जनाइएको छ ।बङ्गलादेशको राजधानी ढाकाबाट चार यस ६८ किलोमिटर उत्तरतर्फ पर्ने पञ्चगढ जिल्लाको करातोया नदीमा आइतबार दिउँसो डुङ्गा पल्टिएको थियो । त्यसमा परी मृत्यु हुनेको सङ्ख्या प्रतिदिन बढ्दै गएको बताइएको छ । यहाँका अधिकारीहरुले सो डुङ्गा दुर्घटनामा परी हराएका व्यक्तिको शव भेटिने क्रम जारी रहेको बताएका छन् । अधिकारीहरुले सोमबार रातिसम्म यहाँ थप व्यक्तिको शव भेटिएको र अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ५१ जना पुगेको बताएका हुन् । यहाँका स्थानीय सञ्चार माध्यमहरुले सो डुङ्गा दुर्घटनामा परी आइतबार १६ जनाको मृत्यु भएको जनाएका थिए । सो दुर्घटनामा परेर हराएका व्यक्तिको शव भेटिँदै गएको बताएका छन् । पञ्जगढ जिल्लाका प्रहरी सुपरीटेन्डेन्ट एस एम सिराजुद हुडाले केही व्यक्ति हराइरेका र उनीहरुको खोजी कार्य जारी रहेको बताउँदै सोमबार रातिसम्ममा यहाँ बेपत्तामध्ये थपको शव भेटिएको र सोमबार रातिसम्म ५१ जनाको मृत्यु भएको जानकारी दिएका थिए । सो डुङ्गामा एक सय जनाजति यात्रु रहेका बताइएको थियो । अहिले पनि डुङ्गामा रहेका केही व्यक्ति हराइरहेका र उनीहरुको खोजी कार्य जारी रहेको ती प्रहरी प्रमुखले जानकारी दिएका छन् । प्रहरीले डुङ्गाको क्षमताभन्दा बढी व्यक्ति राखिएकाले बढी भार भएर सो दुर्घटना हुन पुगेको बताएको छ । बङ्गलादेशमा यसरी क्षमताभन्दा बढी व्यक्ति बोक्दा डुङ्गा दुर्घघटना हुने गरेका समाचारहरु आइरहन्छन् । रासस/सिन्ह्वा

थिङ्क ट्याङ्क नसमेट्दा श्रीलंका संकटमा फस्यो, नेपालले यसलाई समेट्नु पर्छ : डा. वाग्ले

काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले नेपालमा योजना बनाउँदा थिङ्क ट्याङ्कहरुको पृष्ठपोषण गर्न जरुरी रहेको बताएका छन् । आईतबार नीति अनुसन्धान प्रतिष्ठानको चौथो स्थापना दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले मुलुकमा कुनै पनि परियोजनाको सम्झौता रद्ध हुँदा मुलुकलाई नै हानीनोक्सानी विषयमा पनि थिङ्क ट्याङ्कहरुले पूर्ण जानकारी राख्नुपर्ने बताए । श्रीलंकाले थिङ्क ट्याङ्कहरु समेट्न नसक्दा आर्थिक संकट व्यहोरिरहेको उनको भनाई छ । श्रीलंकमा शासकहरुको सन्कीपनका कारण पनि मुलुक संकटमा फसेको बताउँदै उनले नेपालले पनि थिङ्क ट्याङ्कहरुलाई बेवास्ता गरेर गए मुलुकको विकास गर्न नसकिने स्पष्ट पारे । उनले कुनैपनि निर्णय गर्दा वैकल्पिक उपाय सोच्न जरुरी रहेको भन्दै थिङ्क ट्याङ्कहरुले दिएका सुझाव र योजनाका बारेमा गहन छलफल हुन आवश्यक भएको समेत बताए । उनले देशको नीति निर्माण गर्दा पारदर्शी र विश्वसनियता कायम गर्नुपर्ने आवश्यक्ता औंल्याए । पूर्व उपाध्यक्ष वाग्लेले थिङ्क ट्याङ्कहरु चलायमान भइरहनुपर्ने आवश्यक्ता रहेको भन्दै विश्वविद्यालय भित्र पनि थिङ्क ट्याङ्कहरुलाई विकास गर्न जरुरी रहेको बताए । ‘अरुण हाइड्रोपावर १९९५ मा क्यान्सिल भयो विभिन्न कारणहरुले, त्यो क्यान्सिल हुँदा यो राज्यले व्यहोरेको कस्ट कति ? कस्ट अफ एक्शन होइन, कस्ट अफ इनएक्शनतिर पनि हामी जानुपर्छ, यस्ता कुराहरु पनि थिङ्क ट्याङ्कहरुले बोल्दिनुपर्छ, मलाई हालैको श्रीलंकाको संकटमा भिज्ने मौका मिलेको हुनाले त्यहाँ के कारणले श्रीलंका जस्तो उन्नत मुलुक संकटमा फस्यो, फसेन भन्नेकुराको विविध कोणबाट विश्लेषण हुन्छ । मैले त्यसमा धेरै घोत्लिएको कारण थाहा भयो कि थिङ्क ट्याङ्कहरुको पृष्ठपोषण जिरो, कस्ताकस्ता निर्णयहरु गरिए ह्वीमका भरमा, शासकीय सनकका भरमा मन्त्रालयकै निर्णयहरुमा पनि थिङ्क ट्याङ्कहरुको कमी भएको देखियो, त्यसले गर्दा श्रीलंका या अवस्थामा पुग्नुमा ठूलो भुमिका खेलेको छ, जस्तो चुनाव जितियो राष्ट्रपति र प्रधानमन्त्रीले फुकिदिनुभयो, अब भ्याट रेट हाम्रो १५ बाट ८ प्रतिशत भयो भन्नुभयो, त्यसको पूर्ति गर्न के छन् वैकल्पिक उपाय यसको बारेमा सोच्दै नसोचेको देखियो । यस्तो निर्णयमा कुनैपनि थिङ्क ट्याङ्कहरुको गहिरो पृष्ठपोषण भएर वहस भएन, यस्ता नीति निर्माण गर्दा पारदर्शी बनाउनुपर्छ, विश्वसनियता र पारदर्शी भएमा थिङ्क ट्याङ्कहरुको सुझाव पनि सरकारलाई दिँदा राम्रो हुन्छ, थिङ्क ट्याङ्कहरु पनि इन आइशोलेशन रहने होइन, पश्चिमा मुलुकहरुबाट हामीले सिक्न जरुरी छ, विश्वविद्यालय भित्र थिङ्क ट्याङ्कहरुलाई सस्टेन गर्ने, पब्लिक फण्डिङबाट सस्टेन गर्ने हो ।’ पूर्व उपाध्यक्ष वाग्लेले थिङ्क ट्याङ्कहरुलाई सरकारको सहयोगमा विकास गर्न जरुरी रहेको भनाई राखे ।

नेपाली श्रमिकका समस्या समाधान गर्ने मलेसियाका लागि नवनियुक्त राजदूत पौडेलको प्रतिवद्धता

काठमाडौं । मलेसियाका लागि नवनियुक्त नेपाली राजदूत डिल्लीराज पौडेल कार्यभार सम्हाल्न मलेसियाको राजधानी क्वालालम्पुर प्रस्थान गरेका छन् । मलेसियाका लागि नेपालको आवासीय राजदूत नियुक्त भई गत भदौ २७ गते राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका पौडेल कार्यभार सम्हाल्न मलेसिया प्रस्थान गरेका हुन् । मलेसियामा राजदूत पौडेलले राजा अब्दुल्लाहसमक्ष ओहोदाको प्रमाणपत्र पेस गर्नेछन् । दुई लाखभन्दा धेरै नेपाली श्रमिक रहेको मलेसियाको नेपाली दूतावास लामो समय राजदूतविहीन थियो । दूतावासको सेवा प्रवाहको क्षमता बढाउँदै मलेसियामा कार्यरत नेपाली श्रमिकका समस्या सम्बोधनलाई प्राथमिकता दिने राजदूत पौडेलले बताए । तलब सुविधा, सीप विकास, आवास, उपयुक्त सूचनाको व्यवस्थालाई थप प्रभावकारी बनाउने तथा श्रमस्वीकृतिको अवधि सकिएर कानुनी हैसियत गुमाई अलेखबद्ध भएका श्रमिकका समस्या सम्बोधनलाई प्राथमिकता दिने उनको भनाइ छ । मलेसियाको बजारमा माग भएअनुसार उपयुक्त सीप तालिम लिई श्रमिकहरु जाने गरेमा ज्याला र सुविधामा वृद्धि हुने भएकाले त्यसतर्फ प्रयास गरिने उनले बताए । मलेसियामा विभिन्न पेसामा रहेका नेपालीहरुसँग सहज सम्पर्क स्थापना गर्दै उनीहरुको अधिकतम हित र सुरक्षाका कार्यहरुलाई प्राथमिकता दिने उनले बताए । सन् २०१८ मा भएको श्रम सम्झौता नवीकरणलाई पनि उनले प्राथमिकता दिएका छन् । नेपालको प्रतिष्ठा र राष्ट्रिय सम्मानको अभिवृद्धि गर्दै द्विपक्षीय सम्बन्ध बलियो बनाउने बताउँदै उनले नेपालका पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार, नेपाली उत्पादनको मलेसियाका बजारमा प्रवद्र्धन, नेपालमा लगानी गर्न इच्छुक लगानीकर्ताको पहिचान र सहजीकरण जस्ता कार्यहरुबाट नेपालको अधिकतम हित हुने गरी आर्थिक कूटनीतिमा समेत जोड दिने उनले बताए । नेपाल-मलेसियाबीच जनस्तरको सम्वन्ध विस्तारलाई प्राथमिकता दिने उनको भनाइ छ । पौडेललाई गत चैतमा बसेको मन्त्रिपरिषद्को वैठकले मलेसियाका लागि राजदुत सिफारिस गरेको थियो । संसदीय सुनुवाई समितिबाट अनुमोदन भई तथा राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरी उहाँ मलेसिया प्रस्थान गरेका हुन् । रासस