भारतका प्रभावशाली नेता मुलायम सिंह यादवको निधन

लखनउ । भारतका प्रभावशाली नेता मुलायम सिंह यादवको सोमबार ८२ बर्षको उमेरमा निधन भएको छ ।गुरुग्राम अस्पतालमा उपचारका क्रममा उनको निधन भएको अधिकारीहरुले जानकारी दिएका छन् । उनलाई गत आइतबार एक्कासी स्वास्थ्यमा थप समस्या उत्पन्न भएपछि अस्पताल भर्ना गरिएको थियो । अस्पतालको अति सघन कक्षमा राखेर उनलाई उपचार गरिएको थियो । उनकी श्रीमती साधना गुप्ताको गत जुलाईमा निधन भएको थियो । पहिलो श्रीमती मालतीदेवीको भने सन् २००३ मा निधन भएको थियो । यादवका छोरा तथा समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष अखिलेश यादव मालतीदेवीबाट जन्मिएका हुन् । समाजवादी पार्टीको स्थापना स्वर्गिय यादवले नै सन् १९९२ अक्टोबर ४ मा गरेका थिए । झण्डै पाँच दशक लामो राजनीतिक यात्राका क्रममा धेरै उतारचढाव भोग्नु भएका यादवलाई भारतमा प्रधानमन्त्री हुनै लागेका नेताका रुपमा चिनिन्छ । उनी सन् १९९६ र २०१४ मा प्रधानमन्त्री हुनै लाग्दा अन्तिममा रोकिनु परेको थियो । उनलाई भारतमा ‘नेताजी’ समेत भन्ने गरिन्थ्यो । उनले राजनीति धेरै पटक चुनौतीपूर्ण निर्णयहरु लिनु भएको थियो भने बेला बेलामा विवादमा पनि पर्ने गर्दथे ।भारतको सबैभन्दा धेरै जनसङ्ख्या भएको उत्तर प्रदेशमा उनी तीन पटक मुख्यमन्त्री बन्नु भयो भने एक पटक केन्द्रीय मन्त्री समेत भएका थिए । आम निर्वानचनबाट उहाँ १० पटक निर्वाचित भएका थिए । ती मध्ये सात पटक लोक सभा सदस्य बन्नु भएको थियो । उनी पहिलो पटक सन् १९६७ मा २८ बर्षको उमेरमा विधान सभा सदस्यमा निर्वाचित भएका थिए । उनको जन्म सन् १९३९ को नोभेम्बर २२ मा एतावाह जिल्लाको सैफै गाउँमा भएको थियो । रासस

वर्षाका कारण सिड्नीका बासिन्दालाई सुरक्षित स्थानमा जान चेतावनी

सिड्नी । केही दिनको भारी वर्षापछि नदीमा पानीको बहाव बढेपछि अस्ट्रेलियाको आपतकालीन सेवाले आइतबार सिड्नी र त्यसभन्दा बाहिरका बस्तीका लागि उद्धार आदेश जारी गरेको छ । अधिकारीहरुले पूर्वी राज्य न्यू साउथ वेल्समा २४ घण्टामा २८ वटा समूहलाई बाढीबाट उद्धार गरिएको जानकारी दिएका छन् । न्यू साउथ वेल्सको आपतकालीन सेवाका आयुक्त कार्लीन योर्कले आइतबार पत्रकार सम्मेलनमा भने, ‘हाम्रा सडकहरूमा बाढीको अत्यधिक खतरा छ । नदीहरु अझै बढिरहेका छन् र यसका कारण धेरै आकस्मिक सेवाको जरूरी देखिएको छ ।’ सिड्नीको उत्तरपश्चिमी किनारा र ‘न्यू साउथ वेल्स’का अन्य भागका तल्लो भेगका लागि एक दर्जन भन्दा बढी बाढी मुक्त गर्ने आदेश जारी गरिएको आपतकालीन सेवाले जनाएको छ । राज्यका अन्य २० वटा जोखिममा रहेका क्षेत्रहरूमा पनि चेतावनी जारी गरिएको छ । उक्त क्षेत्रमा बर्षाका कारण नदीहरू बढेका र डुवानको समस्या पनि देखिएकोले बाढीको जोखिम क्षेत्रका मानिसहरूलाई सुरक्षितस्थलतर्फ जान भनिएको छ । राज्यको मौसम विज्ञान विभागका अनुसार आइतबार वर्षामा कमी आएको छ तर अझै पनि न्यू साउथ वेल्स तटको भित्री र मध्य भागका नदीहरूमा बाढी कमी आएको छैन । सन् १८५८ मा रेकर्ड राख्न सुरु भएयता सिड्नी शहरमा सबैभन्दा बढी वर्षा भएको अष्ट्रेलियाली मौसमसम्बन्धी निकायहरूले बताएका छन् । गत मार्चमा अस्ट्रेलियाको पूर्वी तट क्विन्सल्याण्ड र न्यू साउथ वेल्समा आएको भीषण आँधीबेहरीपछि आएको बाढीका कारण २० जनाभन्दा बढीको मृत्यु भएको थियो । गत जुलाईमा आएको बाढीका कारण सिड्नीका दशौँ हजार बासिन्दालाई अन्यत्र जान आदेश दिइएको थियो । रासस

दश वर्षमा तिब्बतको वार्षिक कूल ग्राहस्थ उत्पादन वृद्धि दर ९.५ प्रतिशत पुग्यो

एजेन्सी । सन् २०१२ देखि २०२१ सम्म दक्षिणपश्चिम चीनको स्वशासित क्षेत्र तिब्बतको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) वार्षिक औसत ९.५ प्रतिशतले वृद्धि भएको छ । यो राष्ट्रिय औसतभन्दा २.९ प्रतिशत बढी हो । क्षेत्रीय विकास तथा सुधार आयोगले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा सन् २०२१ मा यस क्षेत्रको कूल गार्हस्थ्य उत्पादन २०० अर्ब युआन (करिब २८.१७ अर्ब अमेरिकी डलर) भन्दा बढी पुगेको बताइएको हो । सन् २०२१ मा प्रतिव्यक्ति कूल गार्हस्थ्य उत्पादन (जीडीपी) ५६ हजार ८०० युआन नाघेको छ । यससँगै एक दशकको औसत वार्षिक वृद्धि दर ७.६ प्रतिशतले वृद्धि गरेको छ । यो राष्ट्रिय औसतभन्दा १.५ प्रतिशत बढी हो । तिब्बतको औद्योगिक संरचनालाई निरन्तर अनुकूलन गरिएको आयोगका उपनिर्देशक तियान गुआङग्वाले बताए ।