भारतले चिनी निर्यातको प्रतिबन्धलाई थप १ वर्ष निरन्तरता दिने, नेपालमा मूल्य बढ्न सक्ने
एजेन्सी । भारत सरकारले चिनी निकासीमा लगाएको प्रतिबन्ध २०२३ अक्टुबरसम्म लम्ब्याएको छ । घरेलु बजारमा चिनीको बढ्दो मूल्यलाई ध्यानमा राख्दै भारतले १ जुन २०२२ देखि ३१ अक्टोबर २०२२ सम्म चिनीको निर्यातमा प्रतिबन्ध लगाएको थियो । चिनीको उच्च निकासीपछि भारतमा चिनीको मूल्य बढेको मानिएको छ । भारत विश्वको सबैभन्दा ठूलो चिनी उत्पादक र ब्राजिल पछि दोस्रो ठूलो निर्यातकर्ता हो। बंगलादेश, इन्डोनेसिया, मलेसिया र दुबईमा भारतले सबैभन्दा धेरै चिनीको निर्यात गर्दै आएको छ । नेपालमा पनि भारतबाट ठूलो परिमाणमा चिनी आयात हुने गर्दछ । भारतले गत वर्ष ७० लाख र यो वर्षमा ८१ लाख चिनी निर्यात गरिसकेको छ । भारतले चिनी निर्यातलाई बन्द गरेपछि त्यसको असरले नेपालमा समेत चिनीको मूल्यमा प्रभावन पर्न सक्ने अनुमान गरिएको छ ।
गुजरातमा १ सय ४३ वर्ष पुरानो पुल चुँडिदा १ सय ४० बढीकाे मृत्यु
एजेन्सी । भारत,गुजरातको मोरबीमा आइतबार साँझ १४३ वर्ष पुरानो झोलुङ्गे पुल चुँडिदा १ सय ४० भन्दा धेरैको मृत्यु भएको जनाइएकाे छ। पुल चुँडिदा करिब ४ सय मानिसहरु नदीमा डुब्न पुगेका थिए । मृत्यु हुनेमा ५० भन्दा बढी बालबालिका र महिला रहेका छन् । अहिलेसम्म १ सय ७० जनाको उद्धार गरिएको छ। आइतबार साँझ ६ः३० बजे ७ सय ६५ फिट लम्बाई र ४ दशमलव ५ फिट चौडाई रहेको झोलुङ्गे पुल चुँडिदा दुर्घटना हुन पुगेको हो । २५ अक्टोबरमा सर्वसाधारणका लागि खुला गरिएको पुलमा आइतबार अत्याधिक भिड हुन पुगेको थियो । सोही अधिक भिडका कारण दुर्घटना भएको बताइएको छ । जीर्णोद्धारका लागि ६ महिना बन्द रहेको पुल गत असोज २५ गते मात्र खोलिएको थियो । यसको उद्घाटन २० फेब्रुअरी १८७९ मा मुम्बईका गभर्नर रिचर्ड टेम्पलले गरेका थिए।
संसारको सबैभन्दा ठुलो ड्युटी फ्री सपिङ कम्पलेक्स खुल्यो चीनमा
एजेन्सी । चीनको हाइनान प्रान्तमा विश्वकै सबैभन्दा ठुलो ड्युटी फ्री हाइकाउ सपिङ कम्पलेक्स खुलेको छ । उपभोक्ताहरुलाई उपभोगमा बढावा दिनको लागि उक्त विशाल सपिङ कम्पेक्स सञ्चालनमा ल्याएको जनाइएको छ । यो सपिङ कम्पलेक्स चाइना ड्युटी फ्री ग्रुपले निर्माण गरेको हो । २ लाख ८० हजार स्क्वायर मिटर क्षेत्रफलमा फैलिएको सो सपिङ कम्प्लेक्समा ८ सय भन्दा धेरै ब्राण्डहरु उपलब्ध रहेका छन् । हाइनान क्षेत्रमा अन्तर्राष्ट्रिय पर्यटक वृद्धि गर्नको लागि हाइकाउ सपिङ कम्प्लेक्सले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । साथै सो कम्प्लेक्स आन्तरिक मागलाई उच्चस्तरबाट सम्बोधन गर्दै पर्यट उद्योगलाई स्थानीय स्तरको विकासबाट सहयोग पुर्याउने तियानजिन युनिभर्सिटी अफ फाइनान्स एण्ड इकोनोमिक्सका डिन कोङ यी ले बताएका छन् । हाइनान यात्राको समयलाई मध्यनजर गरेर स्थानीय उत्पादनलाई बढावा दिने प्रयत्न गरिरहेको छ । स्थानीय प्राधिकरणले ७.३१ डलर बराबरको भौचर वितरण गरेको छ । जसलाई उपभोक्ताहरुले ड्युटी फ्री सपिङको लागि ३१ डिसेम्बरसम्म प्रयोग गर्न सक्छन् ।