फिलिपिन्स आँधी : एक सय पचास जनाको मृत्यु
फिलिपिन्स । फिलिपिन्समा पाएङ नामक शक्तिशाली आँधीका कारण मृत्यु हुनेको सङ्ख्या एक सय ५० पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्का अनुसार आँधीमा परी ३६ जना बेपत्ता भएका छन् । आँधीले ३९ लाख सर्वसाधारण नराम्ररी प्रभावित भएका छन् भने चार सय ९९ सडकमा क्षति भएको छ । त्यसैगरी एक सय २० वटा पुल आंशिक वा पूर्ण रूपमा भत्केका छन् । आँधीका कारण राजधानी मेट्रो मनिलासहित १७ क्षेत्रका ३१,९४२ गाउँका १८ लाख १२ हजार सात सय ४० जना प्रभावित भएका मनिला टाइम्सले जनाएको छ । आँधीसँगैेको बाढीका कारण कम्तीमा एक लाख १३ हजार चार सय आठ हेक्टर कृषि क्षेत्र प्रभावित भएको छ भने ११ हजार ७६१ मेट्रिक टन उत्पादनमा नोक्सानी भएको छ । आठ हजार छ सय आठ किसान र माछुवारा प्रभावित भएका छन् । मिमारोपा, विकोल क्षेत्र, पश्चिमी भिसायास, जाम्बोनागा प्रायद्वीप, दक्षिणी कोटाबाटो, सुल्तान कुदारत, साराङगानी र सान्तोस शहर अधिक प्रभावित भएका छन् । यी स्थानका धान, मकैका साथै अन्य बालीमा क्षति भएको छ । रासस
दक्षिण कोरियामा एकैदिन ४६ हजार भन्दा बढी कोरोनाका नयाँ संक्रमित
काठमाडौं । दक्षिण कोरियामा २४ घण्टा अर्थात बुधबार मध्यरातसम्म ४६ हजार आठ सय ९६ जना कोभिड–१९ का नयाँ सङ्क्रमित देखिएका छन् । यसैसँगै कुल सङ्क्रमितको सङ्ख्या २ करोड ५७ लाख १७ हजार दुई सय ७७ पुगेको स्वास्थ्य अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् । दैनिक सङ्क्रमितको सङ्ख्या अघिल्लो दिनको तुलनामा कम भएका छन् । एक दिनअघि सङ्क्रमितको सङ्ख्ण्या ५४ हजार ७६६ बाट कम भएर ४६ हजा आठ सय ९६ जना भएका कोरिया रोग नियन्त्रण र रोकथाम एजेन्सी बताएको छ । गम्भीर अवस्थामा रहेका सङ्क्रमितको सङ्ख्या अघिल्लो दिनको तुलनामा १३ ले कम भएर २९० पुगेको छ । यस सङ्क्रमणको कारण थप ४१ जनाको मृत्युको पुष्टि भएपछि कोरोना शुरु हालसम्म २९ हजार दुई सय ८० जनाको मृत्यु भएको समाचारमा जनाइएको छ । रासस
हालोविनको रात सिकागोमा १४ जनाको हत्या
सिकागो । अमेरिकाको तेस्रो ठूलो शहर शिकागो पश्चिमी भागमा हालोविनको रात चौध जनाको हत्या भएको छ । सवारी साधनबाट अन्धाधुन्ध गोली हानेर भागेका आक्रमणकारीलाई सुरक्षाकर्मीले खोजी रहेका छन् । सोमबार राति भएको उक्त घटनामा तीन वर्षको शिुशुसहित ११ र १३ वर्षका किशोर किशोरी पनि मारिएका छन् । अन्य मृतकको विस्तृत विवरण प्राप्त नभएको प्रहरीलाई उद्धृत गर्दै सिकागो ट्रिब्युनले जनाएको छ । आक्रमणकारीबाट ज्यान जोगाउन भागेकी एक महिलालाई आक्रमणकारी सवार गाडीले ठक्कर दिएको थियो । आक्रमणकारीको एक समूहले सडकको एक किनारमा बसेर आक्रमणकारीलाई सघाएको थियो भने अर्को समूहले गाडीबाटै गोली हानेको थियो । हालसम्म कसैलाई पक्राउ नगरिएको र घटनाको अनुसन्धान तथा अपराधीको खोजी भइरहेको प्रहरीले बताएको छ । रासस