सर्पको डसाइबाट मात्र भारतमा वर्षमा ६४ हजारभन्दा बढीको मृत्यु

काठमाडौं । भारतमा सर्पको डसाईबाट मात्र वर्षमा ६४ हजार जना भन्दा बढीको ज्यान जाने गरेको तथ्याङ्क छ ।हालै सार्वजनिक भएको एक अन्तर्राष्ट्रिय अध्ययनको तथ्याङ्कमा सो कुरा उल्लेख गरिएको भारतको एक स्थानीय पत्रिकाले जनाएको छ । भारतको पत्रिका द हिन्दुले नेचर कम्युनिकेसन्स जर्नलमा प्रकाशित एक अनुसन्धानलाई उद्धृत गरेर दिएको समाचार अनुसार यहाँ हरेक वर्ष ६४ भन्दा बढीको सर्पले डसेर ज्यान जाने गरेको छ । भारतमा गत वर्षमात्र सर्पले टोकेर ६४ हजार एक सय जनाको ज्यान गएको थियो । विश्वका विभिन्न २१ देशका अनुसन्धानदाताहरु सम्मिलित रहेर गरिएको सो अनुसन्धानमा विश्वमा हरेक वर्ष ७८ हजार छ सय जनाको सर्पको डसाईबाट ज्यान जाने गरेको छ । भारतमा मात्र ६४ हजार जना भन्दा बढी रहेका देखाइएको छ । भारतको पनि उत्तर प्रदेशमा सबैभन्दा धेरै मानिसको सर्पको डसाइबाट मृत्यु हुुने गरेको छ । यस प्रदेशमा मात्र १६ हजार भन्दा बढीको सर्पले डसेर ज्यान जाने गरेको सो अनुुसन्धानले देखाएको छ । त्यसपछि भारतको मध्य प्रदेशमा धेरै मानिसको ज्यान जाने गरेको छ । भारतको मध्य प्रदेशमा पाँच हजार सात सयको ज्यान गएको थियो । त्यसपछि भारतको राजस्थानमा पाँच हजार तीन सय जनाको सर्पले डसेर ज्यान गएको थियो । संसारमा प्रति एक लाख जनामा ०।८ जनाको सर्पको डसाईबाट ज्यान जाने गरेको छ । भारतको तुलनामा यो निकै थोरै हो । यता भारतमा प्रति एक लाख जनामा चार जनाको सर्पको डसाइबाट ज्यान जाने गरेको तथ्याङ्क भेटिन्छ । रासस

नयाँदिल्लीका ८० प्रतिशत परिवार वायु प्रदूषणको चपेटामा

नयाँदिल्ली । भारतको केन्द्रीय राजधानी नयाँदिल्लीमा वायु प्रदूषणमा भएको वृद्धिले स्वास्थ्य जोखिम बढाइरहेका बेला सार्वजनिक भएको एक सर्वेक्षणले महानगर र आसपासका क्षेत्रमा बसोबास गर्ने करिब ८० प्रतिशत परिवार वायु प्रदुषणसँग सम्बन्धित रोग भएको देखाएको छ । वायुको गुणस्तर सूचकाङ्कले गम्भीरतह पार गरेको वर्तमान सन्दर्भमा सार्वजनिक भएको नयाँ सर्वेक्षण र त्यसका निष्कर्षलाई महत्वपूर्ण मानिएको छ । सर्वेक्षणका निष्कर्षलाई उद्धृत गर्दै बिजनेस स्ट्यान्डर्ड दैनिकले छापेको समाचारअनुसार नयाँदिल्ली र वरपरका क्षेत्रमा बसोबास गर्ने प्रत्येक पाँच परिवारमध्ये चारले प्रदूषण–सम्बन्धित रोगको शिकार भएको अनुभव गरिरहेको छन् । उनीहरूमध्ये १८ प्रतिशतले डाक्टर वा अस्पताल गएर रोगको निदान एवम् उपचार खोजेका छन् । नोएडा, गाजियाबाद, गुरुग्राम र फरीदाबाद नजिकका सामुदायिक सामाजिक सञ्जाल र स्थानीय समूहहरूसँगको सभागितामा गरिएको सर्वेक्षणमा १९ हजार जनालाई समेटिएको थियो । असी प्रतिशतले प्रदूषणका कारण धेरै समस्या सामना गरिरहेको बताए भने सात प्रतिशतले प्रदूषणबाट आफ्नो स्वास्थ्यमा कुनै समस्या नभएको बताएका छन् ।

हैजा नियन्त्रणका लागि विश्व स्वास्थ्य सङ्गठनद्वारा सहयोगको आग्रह

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठनले लेबनानमा हैजाको नियन्त्रणका लागि आर्थिक सहयोगका लागि अपिल गरेको छ । लेबनानमा केही समययता हैजाको प्रकोप बढेकाले सो सङ्गठनले सहयोगका लागि अपिल गरेको हो । हैजासहित अन्य जनस्वास्थ्यका समस्याको समाधानका लागि एक करोड दुई लाख अमेरिकी डलर बराबरको आर्थिक सहयोग आवश्यक रहेको आग्रह गरेको छ । लेबनान हाल आर्थिक सङ्कटमा परेको र यहाँ शुद्ध खानेपानी र सरसफाईका लागि ठूलो रकमको आवश्यक परेको भन्दै यसका लागि हाल लेबनानलाई सो आर्थिक सहयता चाहिएको विश्व स्वास्थ्य सङगठनले जनाएको छ । विश्व स्वास्थ्य संगठनका लेबनान प्रमुख अब्दिनाकिर अबुदकरले लेबनान आर्थिक समस्यामा परेको अहिलेको अवस्थामा यहाँ हैजा फैलिइरहेको देखिएकोले यसको नियन्त्रणका लागि सहयोगको याचना गरिएको बताए । लेबनानमा केही महिनायता फैलिएको हैजाबाट दुई हजार पाँच सयभन्दा बढी प्रभावित भएका छन् । अहिले पनि यहाँ चार सय १६ जना हैजाका विरामी रहेका छन् । लेबनानका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार हाल यहाँ १८ जनाको हैजाबाट ज्यान गएको छ । गत अक्टोबरको पहिलो हप्ता यहाँ हैजा देखिएको थियो र अहिले पनि यसको प्रकोप बढ्दो छ । समयमै हैजाको नियन्त्रण नगर्दा यहाँ यसले महामारीको रुप लिने त्रास भएकाले विश्व स्वास्थ्य सङ्गठनले तत्कालै नियन्त्रणका लागि आवश्यक उपाय अवलम्बन गर्न लेबनान सरकार र सबैसँग अपिल गरेको हो । विश्व स्वास्थ्य सङ्गठनले अफ्रिकामा देखिएको इबोला र लेबनानको हैजा नियन्त्रणका लागि सबैसँग अपिल गरेको छ । केही अफ्रिकी देशमा पछिल्ला केही महिनायता इबोलाको प्रकोप बढेको छ ।