कम्प्युटरमा समस्या आउँदा टोयोटाले रोक्यो काम
एजेन्सी । यान्त्रिक गडबडीका कारण टोयोटा मोटरले उत्पादनसम्बन्धी सबै काम रोकेको छ । कम्प्युटर प्रणालीमा उत्पन्न खराबीका कारण जापानमा रहेका कम्पनीका १४ मध्ये १२ वटा एसेम्ब्ली प्लान्टको सञ्चालन मंगलबार बिहानैदेखि स्थगन गरिएको जनाइएको छ । टोयोटा मोटरका प्रवक्ताका अनुसार कारखानामा उपभोक्ताले मंगलबार बिहानैदेखि सवारी साधनका पार्टपुर्जा अर्डर गर्न नपाएकाे र कम्प्युटर प्रणाली कहिले सञ्चालन आउँछ भन्ने स्पष्ट छैन । फुकुओका प्रिफेक्चरको मियाता प्लान्ट र दाइहात्सु मोटर कम्पनीको क्योटो प्लान्ट बाहेक २५ कारखाना प्रभावित भएका छन् । गत वर्ष फेव्रुवरीमा टोयोटाले कम्पनीमा सरसामान र उपकरण आपूर्तिकर्ता कोजिमा इन्डस्ट्रिज कर्पोरेशनको प्रणालीमा समस्या हुँदा देशभरका सबै कारखाना बन्द भएका थिए । त्यस बेला १४ वटै कारखानामा काम नहुँदा १३ हजार सवारी साधन उत्पादन रोकिएिको थियो ।
सामाजिक सञ्जालमा आलोचना गर्नेलाई मृत्युदण्ड
काठमाडौं । साउदी अरबको एक अदालतले सामाजिक सञ्जालमा भ्रष्टाचार र मानवअधिकार उल्लङ्घनको निन्दा गरेका एक जनालाई मृत्युदण्डको सजाय सुनाएको छ । आतङ्कवादीविरुद्ध मुद्दा चलाउन सन् २००८ मा स्थापना गरिएको विशेष फौजदारी अदालतले गत महिना मोहम्मद अलघामदीविरुद्ध उक्त फैसला सुनाएको हो । अलघामदीमाथि साउदी नेतृत्वविरुद्ध षड्यन्त्र गरेको, राज्यका संस्थालाई कमजोर पार्ने र आतङ्कवादी विचारधारालाई समर्थन गरेको अभियोग लगाइएको उनका भाइले एएफपीलाई बताएका छन् । यससम्बन्धमा टिप्पणीका लागि एएफपीले गरेको अनुरोधलाई साउदी अधिकारीहरूले जवाफ दिन अस्वीकार गरेको छ । मानव अधिकारकर्मीहरूले अलघामदीविरुद्धको यो निर्णयले साउदीमा सामाजिक सञ्जालमा प्रकाशित आलोचना कति घातक हुन्छ भन्ने प्रष्ट पारेको छ । सामाजिक सञ्जाल एक्स अर्थात् तत्कालीन ट्वीटरमा उनले सरकारी रवैया र भ्रष्टाचारको आलोचना गरेका थिए । देश जनाभन्दा कम ‘फलोवर्स’ भएका अलघामदीलाई प्राणदण्डको घोषणा भएकामा मावनअधिकारवादी संस्थाहरूले साउदी सरकारलको आलोचना गरेका थिए । मोहम्मदका भाइ र साउद अरब बाहिर निर्वासनमा रहेका मावनअधिकारकर्मी सइद अलका अनुसार घामदीले सरकारको आलोचना गर्दै जेलमा परेका आस्थाका बन्दी र धार्मि व्यक्तिहरूको समर्थन गरेका थिए । साउदी सरकार मृत्युदण्डका कारण अन्तरराष्ट्रिय जगतमा बारम्बार आलोचनाको पात्र बनेको छ । गत वर्ष १७४ जनालाई मृत्युदण्ड दिएको रियादले यो वर्ष ९४ जनाको प्राण हरण गरिसकेको छ । साउदीले मृत्युदण्ड कसरी दिन्छ भन्ने नखुलाए पनि क्रुर ढङ्गले शिरच्छेदन गर्ने उसको परम्परा छ । साउदी अरबका वास्तविक शासक युवराजाधिराज मोहम्मद बिन सलमानको नेतृत्वमा देशलाई विश्वव्यापी पर्यटन र व्यापार गन्तव्यमा रूपान्तरण गर्ने महत्वाकाङ्क्षी ‘भिजन २०३०’सुधार योजनालाई अघि बढाइए पनि मृत्युदण्डको कठोर सजायका प्रावधानमा उक्त मुलुक उदार हुन सकेको छैन ।
एक्सपेङले चिनियाँ प्रतिस्पर्धी कम्पनीलाई ७४ करोड अमेरिकी डलरमा किन्ने
चिन । चिनियाँ विद्युतीय कार कम्पनी एक्सपेङले भाडामा यातायात सेवा प्रदान गर्ने (राइड–हेलिङ्ग प्लेटफर्म) डीडीको विद्युतीय सहायक कम्पनी ७४ करोड अमेरिकी डलरभन्दा बढीमा खरिद गर्ने र नयाँ ब्रान्डका सवारी साधन सार्वजनिक गर्ने सोमबार घोषणा गरेको छ । सन् २०१५ मा दक्षिणी प्रान्त गुआङडोङमा स्थापना भएको एक्सपेङ विश्वको सबैभन्दा ठूलो कार बजारमा विद्युतीय सवारी साधनमा आएको उछालको फाइदा उठाउन हालैका वर्षहरूमा उदाएका दर्जनौं चिनियाँ कम्पनीमध्ये एक हो । डीडी चीनको अग्रणी कार–हेलिङ्ग एप हो जसले विद्युतीय सवारी डिजाइन गर्ने सहायक कम्पनी पनि सञ्चालन गर्दछ । हङकङ स्टक एक्सचेन्जलाई दिएको जानकारीअनुसार एक्सपेङले दिदीसँग ७४ करोड ४० लाख अमेरिकी डलरमा उक्त सहायक कम्पनी किन्ने सम्झौता गरेको हो । यसले डीडीसँग साझेदारी गर्दै अर्को वर्ष नयाँ ब्रान्डको विद्युतीय कारहरू बजारमा ल्याउनेछ । चिनियाँ स्टक बजारले सम्झौताको स्वागत गरेको छ । जसले चिनियाँ निर्मातालाई सम्भावित प्रतिस्पर्धीलाई हटाउन र यसको उन्नत प्रविधिमा पहुँच प्राप्त गर्न अनुमति दिन्छ । एक्सपेङको शेयर सोमबार बिहान करिब १३ प्रतिशतले बढेको छ । सिलिकन भ्याली र एम्स्टर्डममा यसको कार्यालयहरू रहेको यस कम्पनीले युरोपमा पनि आफ्ना केही उत्पादनहरूको बजारीकरण गर्छ र करिब १४ हजार ४०० मानिसहरूलाई रोजगार दिँदै आएको छ । सिलिकन भ्याली र एम्स्टर्डममा यसको कार्यालयहरू छन् । एक्सपेङले सन् २०२३ को पहिलो छ महिनामा ४१ हजार ४३५ वटा गाडी बिक्री गरेको छ, जुन गत वर्षको तुलनामा ४० प्रतिशतले कम हो । हरितगृह ग्यास उत्सर्जन गर्ने विश्वकै सबैभन्दा ठूलो देश चीनले सन् २०३५ सम्ममा अधिकांश कार बिक्री विद्युतीय र हाइब्रिड बनाउने लक्ष्य राखेको छ । बीवाईडी, नियो, एक्सपेङ र अन्य फर्मजस्ता कम्पनीहरूद्वारा सञ्चालित उदार खरीद अनुदानले हालैका वर्षहरूमा विद्युतीय सवारी साधानको उत्पादनमा उछाल ल्याएको छ । रासस