भियतनाम एयरलाइन्स र बोइङबीच आठ अर्ब डलरको सम्झौता, ५० वटा ७३७ खरीद गर्ने
भियतनाम। भियतनाम एयरलाइन्सले अमेरिकी विमान निर्माता कम्पनी बोइङसँग सात अर्ब ८० करोड अमेरिकी डलरको सम्झौता गरेको ह्वाइट हाउसले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । हनोईमा भएको भेटवार्तापछि अमेरिकी राष्ट्रपति जो बाइडेन र भियतनामका प्रधानमन्त्री फाम मिन्ह चिनले बोइङ र भियतनामको राष्ट्रिय वायुसेवा कम्पनीबीच भएको ऐतिहासिक सम्झौताको स्वागत गरेको ह्वाइट हाउसले जनाएको छ । यो सम्झौताले संयुक्त राज्य अमेरिकामा ३० हजारभन्दा बढी रोजगारीलाई सहयोग गर्नेछ । भियतनाम एयरलाइन्सले ७३७ मध्ये ५० वटा विमान खरिद गर्ने बाइडेनले अमेरिकी र भियतनामी उच्च कम्पनीका वरिष्ठ अधिकारीहरूसँगको गोलमेच सम्मेलनका क्रममा बताए । भियतनाम एयरलाइन्ससँग हाल १५ वटा बोइङ ७८७ ड्रीमलाइनरसहित १०० वटा विमान छन् । बोइङ जेटले एक दशकभन्दा पुराना विमानलाई प्रतिस्थापन गर्ने सरकारी सञ्चारमाध्यमले जनाएका छन् । हवाई यात्राका लागि बढ्दो माग र बजेटको यथेष्ठ विनियोजनका कारण हालैका वर्षहरूमा भियतनामको उड्डयन क्षेत्र फस्टाएको छ । रासस
मोरक्को भूकम्प : दुई हजारभन्दा बढीको मृत्यु, तीन दिन राष्ट्रिय शोक
मोरक्को । मोरक्कोमा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार नाघेको छ । सबैभन्दा धेरै अमूल्य जीवन दक्षिणी मराकेसमा भएको अधिकारीहरूले बताएका छन् । पर्यटकीयन नगर मराकेसभन्दा ७२ किलोमिटर दक्षिणपश्चिममा केन्द्रविन्दु बनाएर शुक्रबार राति ११ः११ बजे भएको ६.८ म्याग्निच्युडको भूकम्पको विनाश सबैभन्दा धेरै मराकेसमा नै भएको छ । शुक्रबारको शक्तिशाली भूकम्पमा परी दुई हजार १२ जनाको मृत्यु भएको तथा दुई हजार ५९ जना घाइते भएका छन् । गृह मन्त्रालयका अनुसार घाइतेमध्ये एक हजार चार सय जनाको अवस्था गम्भीर छ । भैैचालोमो ज्यान गुमाउने र घाइते हुने आधाभन्दा बढी अल–हौज र ताराउदान्ट प्रान्तका रहेका बताउँदै उक्त मन्त्रालयले मराकेस, अगादिर, कासाब्लाङ्का, और्जाजाटे, चिचौवा, अजिलाल र युसुफिया पनि अधिक प्रभावित भएका जनाएको छ । भूकम्पको केन्द्रविन्दु रहेको अल–हौज प्रान्तमा सबैभन्दा बढी एक हजार दुई सय ९३ जनाको मृत्यु भएको छ भने ४५२ को साथमा ताराउदान्ट प्रान्तमा चार सय ५२ जनाले ज्यान गुमाएका छन् । मौले ब्राहिम गाउँमा कलिला केटाकेटीका शव देखेर भक्कानिएका ७० वर्षका बौचारा उद्धारकर्मीले घर नजिकै ५० जनाको शव गाडेको बताएका छन् । निरन्तरको पराकम्पले भयभीत मोरक्कोली मध्यरातमा घर छोडेर भागेका थिए । उनीहरूले दुई रात घरबाहिर सडमा बिताएका छन् । अहिले पनि अधिकांश मानिस घरबाहिर त्रिपाल टाँगेर बसिरहेका छन् । मराकेस, कासाब्लाङ्कालगायत शहरी क्षेत्रका मानिसले सडकमा रात बिताएका छन् । सार्वजनिक स्थान, चौरस्ता एवं डबलीमा उनीहरूले आश्रय लिएका छन् । पहाडी क्षेत्रमा भएको क्षति एवं हताहतीको विस्तृत विवरण प्राप्त भएको छैन । भूकम्पबाट अति प्रभावित दुर्गम पहाडी गाउँमा पुग्न सेना र आपतकालीन सेवाका अधिकारी खटिएका छन् । उद्धार टोलीहरू आवासीय भवनलाई भूकम्पले भग्नावशेषमा परिणत गरेका स्थानमा कोही जीवित भेटिन्छन् कि भन्ने आशमा दौडिएका छन् । उद्धारकर्मी र टोलीको सङ्ख्या बढाइएको गृह मन्त्रालयले जनाएको छ । ‘मैले सबै गुमाएँ,’ श्रीमती र चार छोराछोरी गुमाएका मौले ब्राहिमको पहाडी गाउँका बासिन्दा लाहसेन बर्बरी आसुँ झार्दै भन्छन् । उद्धारकर्मीहरूले लाहसेनका तीन छोरीको शव घरको भग्नावशेषबाट निकालेका छन् तर अहिलेसम्म उनकी श्रीमती र छोराको शव फेला परेको छैन । ‘म अब केही गर्न सक्दिन, म संसारबाट टाढा जान चाहन्छु,’ विलाप गर्दै उनको मुखबाट अवर्णनीय पीडा अभिव्यक्त हुन्छ । भूकम्प प्रभावित एउटा गाउँको एक स्थानमा भग्नावशेष पन्छाउँदा १८ जनाको शव निकालिएपछि एक जना ज्येष्ठ महिला नागरिकले डाको छोडेर रोयको दृश्यले उद्धारकर्मी तथा सञ्चारकर्मीलाई पनि भावुक बनाएको थियो । केन्द्रविन्दुभन्दा करिब ५० किलोमिटर पर अवस्थित ताफेघते गाउँमा केही भवनमात्र ठडिएका छन्भने अधिकांश ध्वस्त भएका छन् । बहत्तर वर्षीय ओमर बेन्हाना आफ्ना तीन जना नातिनातिनी र बुहारी एकै चिहान भएको बताउँछन् । शनिबार नै उक्त गाउँका स्थानीयले ७० जनाको शव व्यवस्थापन गरेका थिए । तीन दिन राष्ट्रिय शोक मोरक्कोका राजा मोहम्मद छैटौँले तीनदिने राष्ट्रिय शोक घोषणा गर्दै पीडित परिवारलाई खाना आवासको व्यवस्था गर्न सम्बद्ध निकायलाई निर्देशन दिएका छन् भने उद्धार टोलीहरूलाई सघाउन देशको राष्ट्रिय सेनालाई आग्रह गरेका छन् । राष्ट्रिय शोकको यो घडीमा सार्वजनिक स्थल र सरकारी भवनहरूमा फहराईएका राष्ट्रिय झण्डा आधा झुकाइने सरकारी समाचार समितिले जनाएको छ । यसअघि सन् १९६० को भूकम्पमा परी मोरक्कोमा १५ हजार जनाको मृत्यु भएको थियो । भूकम्पबाट अगादिर शहर तहसनहस भएको थियो । रासस
सन् २०२३ मा दुई लाख श्रीलङ्काली रोजगारीका लागि विदेश पलायन
श्रीलङ्का । श्रीलङ्काको वैदेशिक रोजगार ब्यूरोमा दर्ता भई यस वर्ष हालसम्म दुई लाखभन्दा बढी श्रीलङ्काली वैदेशिक रोजगारीमा गएका छन् । सन् २०२२ मा करिब तीन लाख ११ हजार श्रीलङ्काली वैदेशिक रोजगारीका लागि प्रस्थान गरेको र यस वर्ष पनि त्यति नै सङ्ख्यामा श्रीलङ्काबाट बाहिरिने अनुमान गरिएको श्रम तथा वैदेशिक रोजगारमन्त्री मानुषा नानायककाराले बताए । यसैबीच विदेशमा रहेका श्रीलङ्कालीहले सन् २०२३ को पहिलो छ महिनामा दुई अर्ब ८० करोड अमेरिकी डलरभन्दा बढी रकम स्वदेश पठाएका छन् । कामदारहरूको विप्रेषण श्रीलङ्काको विदेशी मुद्रा आयको एक प्रमुख स्तम्भ भएको छ । यसले बढ्दो व्यापार घाटाविरुद्ध पर्याप्त योगदान प्रदान गर्दछ र देशको बाह्य क्षेत्रको लचिलोपनलाई बढावा दिन्छ ।