अफगानिस्तानमा कठ्याङ्ग्रिएर २५ जनाको मृत्यु
अफगानिस्तान । बढ्दो चिसोसँगै निरन्तर हिमपात भएपछि अफगानिस्तानको उत्तरी जाज्जान र छिमेकी सारी पुल प्रान्तमा २५ जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरूका अनुसार जाज्जान प्रान्तको खमाब, खानका र आक्चा जिल्लामा बिगत दुई दिनदेखि भारी हिमपात हुँदा कठ्याङ्ग्रिएर नौ जना पुरुष, चार बालबालिका र पाँच जना महिलासहित १८ जनाको ज्यान गएको हो । त्यसैगरी निरन्तर बढिरहेको चिसोसँगै अनवरत हिमपात भएका कारण जाज्जानको छिमेकी सारी पुल प्रान्तमा महिला र बालबालिकासहित सात जनाको मृत्यु भएको प्रान्तीय प्रशासनका अधिकारी सैयद सफतुल्लाह सफवानले बताएका छन् । अधिक चिसो मौसममा भएको हिमपातले युद्धग्रस्त अफगानिस्तानका केही भागमा बाक्लो हिउँ जमेको छ । अघिल्लो साता अफगानिस्तानका केही स्थानको तापक्रम माइनस ३० डिग्री सेल्सियसमा झरेको थियो । कुन्दुज , फर्याब, बादघिस, जज्जान र सारीपुल प्रान्तमा हालसम्म महिला र बालबालिकासहित ६० जनाले चिसोका कारण ज्यान गुमाएका थिएभने हजारौँ चौपाया पनि मरेका थिए । यसैबीच, चिसोबाट घरलाई न्यानो पार्न हेरत प्रान्तमा प्रयोग गरिएको ग्यासबाट विषाक्त कार्बन मोनोअक्साड उत्पन्न हुँदा बिरामी भएका एक सय ४० जनालाई प्रान्तीय अस्पतालमा भर्ना गरिएको छ । देशमा दाउरा तथा अन्य आधारभूत वस्तुको मूल्य आकाशिएपछि अफगान नागरिकले घर कोठा तताउन ग्यास प्रयोग गर्दै आएका छन् । रासस
हेलिकप्टर दुर्घटनामा युक्रेनका गृहमन्त्रीसहित १६ जनाको मृत्यु
काठमाडौं । युक्रेनमा हेलिकोप्टर दुर्घटना हुँदा गृहमन्त्रीसहित १६ जनाको मृत्यु भएको छ । राजधानी किएभको बाहिरी भेगस्थित शिशु पाठशाला नजिक बुधबार भएको हेलिकप्टर दुर्घटनमा परी युक्रेनका गृहमन्त्रीसहित १६ जनाको मृत्यु भएको हो। दुर्घटनामा दुई जना बालबालिका पनि मारिएका अधिकारीहरूले बताएका छन् । अनलाइनमा पोष्ट गरिएको एउटा भिडियोमा आगो लागेको देखिन्छ भने रुवाबासी भएको आवाज सुनिन्छ । दुर्घटनाका सम्बन्धमा तत्काल थप विवरण प्राप्त भएको छैन । राष्ट्रिय प्रहरी प्रमुख इगोर क्लेइमन्कोले अहिलेसम्म १६ जनाको ज्यान गएको जानकारी प्राप्त भएको बताउनुभएको छ । गृहमन्त्रालयका कैयौँ उच्च अधिकारी, गृहमन्त्री डेनिस मोनास्ट्रास्के र उहाँका उपमन्त्रीको ज्यान गएको छ । ४१ वर्षीय गृहमन्त्री मोनास्ट्रास्के दुई सन्तानका पिता हुन । उनि दुई वर्षअघि गृहमन्त्री नियुक्त भएका थिए। दश जना बालबालिकासहित २२ जनालाई अस्पताल भर्ना गरिएको छ । दुर्घटनाका बेला शिशु पाठशालामा कर्मचारी र बालबालिका थिए । प्रहरी र चिकित्साकर्मी दुर्घटनास्थलमा उद्धार तथा उपचारमा सक्रिय छन् ।
क्यालिफोर्नियामा वर्षा र आँधी जारी, जनजिवन प्रभावित
अमेरिका । अमेरिकाको क्यालिफोर्निया राज्यमा केही दिनदेखि आँधी र हिमपात जारी रहेको बताइएको छ । सोमबार पनि यहाँ थप वर्षा र हिमपात भएको छ । सो हिमपातका कारण यहाँका लाखौँ नागरिक प्रभावित भएका छन् । क्यालिफोर्नियामा आँधीले ठूलो जनधनको क्षति गरेको छ । बाढीका कारण यहाँका धेरै घर भत्किएका यहाँका विपद् व्यवस्थापन अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुका अनुसार यस प्राकृतिक प्रकोपमा हालसम्म १९ जनाको ज्यान गएको छ भने धेरै मानिस घरबारविहीन भएका छन् । स्थानीय प्रशासनले उद्धारका लागि अभियान चलाएको छ तर निरन्तरको आँधीका कारण नागरिकहरुको उद्धार हुन सकिरहेको छैन । यहाँको राष्ट्रिय मौसम सेवाले आगामी दिनमा क्यालिफोर्निया र प्यासिफिक उत्तरपश्चिमी क्षेत्रमा थप आँधी आउन सक्ने र यसबाट ठूलो विनाश निम्त्याउन सक्ने अनुमान पनि गरेको छ । यहाँको स्थानीय सलिनास नदीमा पानीको सतह खतराको तहमा पुगेको बताइएको छ । नदीमा देखिएको खतरापछि यहाँका उद्धारकर्मीहरुले हजारौँ मानिसलाई सुरक्षित स्थानमा सारिएको बताएका छन् ।क्यालिफोर्नियाका स्थानीय सञ्चारमाध्यमका अनुसार क्यालिफोर्नियामा आएको बाढीले गत हप्तामा मात्र दुई लाख भन्दा बढी घर र व्यवसायहरूले बिजुली कटौतीको सामना गरेका छन् । यहाँ हप्ता दिनभन्दा लामो समयदेखि नै निरन्तरको वर्षाका कारण बाढी र पहिरो समेत आएको छ । यसका कारण यहाँका नागरिकले आधारभूत आवश्यकताको पनि जोहो गर्न नसकेको बताइएको छ । अधिकारीहरुले खराब मौसमका कारण बाढी र पहिरोको पनि समस्या देखिएको बताएका छन् । जसका कारण सवारी आवागमन पूर्णरुपमा अवरुद्ध भएको छ । यहाँका खेती लगाइएका खेतहरु तथा सडकहरू पनि डुबानमा परेका छन् । राससख