इन्डोनेसियामा ७.१ म्याग्निच्युडको भूकम्प
इन्डोनेसिया । इन्डोनेसियाको बान्दा सागरमा बुधबार सात दशमलव एक म्याग्निच्युडको भूकम्प गएको अमेरिकाको भूगर्भ सर्वेक्षण (युएसजिएस) ले जनाएको छ । भूकम्पबाट जनधनको क्षतिबारे तत्काल कुनै समाचार आएको छैन । एसजिएसका अनुसार भूकम्पका लागि कुनै पनि सुनामी जारी गरएको थिएन । प्रारम्भमा स्थानीय समयअनुसार बिहान ११ः५३ बजे छ दशमलव नौ म्याग्निच्युडको भूकम्प आएको बताइएको थियो । इन्डोनेसियाली मौसम विज्ञान, जलवायु र भूभौगर्भिक एजेन्सी (बिएमकेजी) का अनुसार मुलुकको तनिमबार टापु समूहको सौमलाकी सहरमा भूकम्पको कम्पन मध्यमरूपमा महसुस गरिएको थियो । ‘भूकम्प अत्यन्त तीव्र थियो तर यहाँका मानिस आत्तिएका थिएनन्, हामी भूकम्पको सामना गर्न अभ्यस्त भइसकेका छौँ’, सौमलाकी निवासी ल्याम्बर्ट टाटाङले एएफपीलाई भने, ‘विशेषगरेर सुनामीको कुनै खतरा छैन भन्ने थाहा भएपछि जनजीवन सामान्य भएको छ ।’ प्रशान्त क्षेत्रको ‘रिङ अफ फायर’ मा रहेका कारण इन्डोनेसियाले लगातार भूकम्पको अनुभव गर्दछ । जापानदेखि दक्षिणपूर्वी एसिया र प्रशान्त बेसिनसम्म फैलिएको ‘रिङ अफ फायर’ तीव्र भूकम्पीय गतिविधिको चाप हो । गत वर्ष नोभेम्बरमा मुलुकको मुख्य टापु जाभाको घना जनसङ्ख्या भएको पश्चिमी जाभा प्रान्तमा पाँच दशमलव छ म्याग्निच्युडको भूकम्पमा छ सय दुई जनाको मृत्यु भएको थियो । सन् २००४ मा सुमात्राको तटमा गएको नौ दशमलव एक म्याग्निुच्युडको भूकम्पका कारण आएको सुनामीमा उक्त सम्पूर्ण क्षेत्रमा इन्डोनेसियाका मात्रै एक लाख ७० हजारसहित दुई लाख २० हजार मानिसको मृत्यु भएको थियो । रासस
व्यवसायी शिव नाडर भारतका सबैभन्दा ठूला दानवीर
एजेन्सी । वार्षिक एडलगिभ हुरून इन्डिया फिलान्थ्रोपी लिस्ट २०२३ अनुसार भारतको अग्रणी सूचना प्रविधि कम्पनी एचसिएल टेक्नोलोजिजका सहसंस्थापक शिव नाडर सबैभन्दा ठूलो परोपकारी बनेका छन् । उनले सन् २०२३ मा हरेक दिन ५ करोड ६० लाख भारुका दरले हालसम्म २० अर्ब ४२ करोड दान गरेका छन् । यस वर्षको हुरून इन्डिया फिलान्थ्रोपी सूचीमा शिव नाडर, अजिम प्रेमजी, नन्दन निलेकणी, रोहिणी नीलेकणी, नितिन र निखिल कामथ, सुब्रतो बागची, सुस्मिता र एएम नाइकसहित शीर्ष १० मा २४ व्यक्ति छन् । विप्रोका संस्थापक अजिम प्रेमजीले १७ अर्ब ७४ करोड भारु दान गरेका छन् । शिव नाडरपछि यो सूचीमा अजिम प्रेमजी दोस्रो स्थानमा छन् । विप्रोका संस्थापक–अध्यक्ष प्रेमजीले २०२३ को हालसम्म उक्त रकम दान दान गरेका थिए । शीर्ष १० भारतीय परोपकारीहरूमा सात महिला छन्, जसमध्ये फिलान्थ्रोपिज संस्थापक रोहिणी नीलेकणी सबैभन्दा अगाडि छिन् । उनले २०२३ मा १ अर्ब ७० करोड भारु दान गरिन् । यससँगै उनले आफ्नो व्यक्तिगत सम्पत्तिबाट विशेषरूपमा दान गर्ने शीर्ष १० दाताहरूमा स्थान बनाएकी छिन् । रोहिणी नीलेकणी महिला परोपकारीका लागि एक रोल मोडेल हुन्, किनकि एक समय थियो जब उनी सूचीमा एकमात्र महिला थिइन् । अहिले सात महिला छन् । थर्म्याक्सको अनु आगा र उनको परिवारले २३ करोड दान दिए र यूएसबीकी लीना गान्धी तिवारीले पनि त्यति नै रकम दान गरिन् । जेरोधाका सहसंस्थापक नितिन र निखिल कामथले जलवायु परिवर्तन र वातावरणीय स्थायित्वमा समर्पित संस्थालाई १ अर्ब १० करोड दान दिए । यस वर्ष आफ्नो आधा सम्पत्ति दान गर्ने वाचा गरेका निखिल कामथ सूचीमा सबैभन्दा कान्छो दाता हुन् । एडलगिभ हुरून इन्डिया फिलान्थ्रोपी २०२३ को वार्षिक प्रतिवेदन नोभेम्बर २ मा जारी गरिएको हो । यो सूचीले भारतमा परोपकार, सामाजिक कारण र सामुदायिक विकासमा महत्वपूर्ण योगदान पुर्याएका व्यक्ति र परिवारलाई स्थान दिन्छ । यस वर्षको सूचीमा कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) योगदानका अतिरिक्त व्यक्तिगत कोषबाट चन्दा दिनेहरू पनि समावेश छन्। शिव नाडरले दानका लागि मुख्यतया शिक्षा, कला र संस्कृति क्षेत्रमा ध्यान केन्द्रित गरेका छन् ।
भारतमा एप्पलको व्यापारमा नयाँ रेकर्ड, सीईओ कुकले साटे खुसी
एजेन्सी । भारतीय बजारमा आईफोन निर्माता कम्पनी एप्पलको व्यापार फस्टाएको छ । सेप्टेम्बरमा कम्पनीले आम्दानीमा नयाँ रेकर्ड कायम गरेको छ । भारत एक ‘अविश्वसनीय रूपमा रोमाञ्चक’ बजार बनेको कम्पनीकाे भनाइ छ । एप्पलले आर्थिक वर्ष २०२३ को तेस्रो त्रैमासिकको नतिजा सार्वजनिक गरेको छ । कम्पनीले याे अवधिमा ८९.५ अर्ब डलरकाे काराेबार गरेकाे छ । कम्पनीका सीईओ टीम कुकले भारतको आम्दानी ‘अल टाइम रेकर्ड’ भएको बताएका छन् । कुक आफैंले पनि भारतमा कम्पनीको व्यापार फस्टाउँछ भन्ने कल्पना नै गरेकाे प्रतिक्रिया दिएका छन् । ‘हामी भारतमा दोहोरो अंकको बलियो वृद्धिसँगै अगाडि बढेका छौं, यो हाम्रा लागि धेरै राम्राे बजार भएको छ र एक ठूलो फोकस पनि हो,’ कुकले भारतीय बजारबारे भने, ‘यो ठूलो बजारमा हाम्रो हिस्सा एकदमै कम छ, त्यसैले यहाँ धेरै काम गर्ने अवसर छ ।’ कुकले भारत एक ‘असाधारण बजार’ भएको पनि बताएका छन् । भारतका धेरै मानिस मध्यम वर्गतर्फ लागेको पनि उनको भनाइ छ । ‘हामीले यहाँ दुईवटा स्टाेर खोलेका छौं। यिनीहरूले हामीले सुरुवाती दिनमा नै राम्रो गरिरहेका छन् । र, म अहिले जसरी चलिरहेको छ त्यसमा खुसी हुन सक्दिनँ,’ उनले भनेका छन् । एकातिर एप्पलले चीनबाट हुने आम्दानीमा एकपछि अर्को झट्का सामना गरिरहेको छ । काउन्टरप्वाइन्टको मासिक भारत स्मार्टफोन ट्र्याकरले २०२३ को जुलाई–सेप्टेम्बर त्रैमासमा एप्पलको ढुवानी वार्षिकरू पमा ३४ प्रतिशत बढेर २५ लाख नाघेको जनाएको छ । बीक्यू प्राइमका अनुसार एप्पलले भारतमा लगभग ५० प्रतिशत आम्दानी वृद्धि गरेको छ । यसको आम्दानी लगभग ५ खर्ब भारु पुर्याएको छ । योसँगै नाफामा पनि राम्रो वृद्धि भएको उल्लेख गरेकाे छ ।