भारतीय उद्योगी अडानीको कम्पनीले तीन दिनमा गुमायो ७१ अर्ब डलर

भारत । भारतीय उद्योगी गौतम अडानीको कम्पनीले आफूमाथि लागेको ठगीको आरोप अस्वीकार गरेपनि लगानीकर्ताहरूलाई आश्वस्त पार्न असफल भएपछि सोमबार सेयर बजारमा अर्बौं डलर गुमाएको छ । यो गिरावट अमेरिकी लगानी समूह हिन्डेनबर्ग रिसर्चले गत हप्ता एक प्रतिवेदन सार्वजनिक गरी अडानी समूह ‘दशकौंदेखि स्टक हेरफेर र लेखा जालसाजी’ मा संलग्न रहेको आरोप लगाएको थियो । ब्लुमबर्ग न्यूजका अनुसार, तीन दिनको अवधिमा कम्पनीले बजार मूल्यमा लगभग ७१ अर्ब डलर गुमाएको छ । गत साता पनि अडानी समूहका फर्महरुको करिब ५० अर्ब डलर गुमाएका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका निकटतम मित्र समेत रहेका अडानी फोब्र्स म्यागाजिनको धनीहरूको सूचीमा पहिलोबाट तेस्रो स्थानमा खस्केका थिए । साठी वर्षीय अडानी गत सोमबार धनीहरुको सूचीमा नवौं स्थानमा थिए, र उनको सम्पत्ति ८५ अर्ब डलरको हाराहारीमा थियो । यसको मतलब उनी एशियाकै सबैभन्दा धनी अर्थात् पहिलो नम्बरको सूचीमा थिए । तर यो ताज भारतीय अर्का व्यवसायी एवं उद्योगी मुकेश अम्बानीले छोटो समयका लागि पहिरिन सफल भएका थिए । अडानी समूहले आफूहरुमाथि ‘दुराशययुक्त’ आक्रमण भएको बताएको छ र आइतबार कम्पनीले ४१३ पृष्ठको एक वक्तव्य प्रकाशन गरी हिन्डेनबर्गको दाबीलाई खण्डन गरेको छ । समूहले हिन्डेनबर्गले लगाएका आरोपहरू ‘झूट बाहेक केही नभएको’ बताएको छ । ‘यो केवल कम्पनीमाथि अनावश्यक आक्रमण मात्र नभई समग्र भारत, भारतीय संस्थाहरूको स्वतन्त्रता, अखण्डता र गुणस्तर, र भारतको विकास र महत्वाकाँक्षा विरुद्धको आक्रमण हो,’ समूहको वक्तव्यमा भनिएको छ । वक्तव्यपछि सोमबार खुलेको बजारमा अडानी इन्टरप्राइजेजको शेयर बजारमा सकारात्मक प्रभाव देखिए पनि अडानी आबद्ध कम्पनीहरुको शेयर बिक्री व्यापक बनेको थियो र त्यसलाई रोक्न कम्पनीको प्रयास सफल भएको थिएन । अडानीले स्टक बिक्री मार्फत २५ अर्ब डलर सङ्कलन गर्ने महत्वाकाँक्षी योजना अघि सारेलगत्तै बजारमा समस्या उत्पन्न भएको थियो । अडानी इन्टरप्राइजेजले प्रति शेयर भारतीय रुपैयाँ ३ हजार ११२ को हाराहारीमा बिक्री गर्न खोजको थियो । हिन्डेनबर्गले अडानीको वक्तव्यको जवाफमा भारतको भविष्य अडानी समूहद्वारा रोकिएको बताउँदै यसले देशलाई व्यवस्थित रूपमा लुट्न खोजेको आरोप लगाएको छ । ‘अडानीको लामो वक्तव्यले हिन्डेनबर्गले उठाएका सबालमाथि केन्द्रित भएर ३० पृष्ठमा मात्र जवाफ दिएको छ र धेरै प्रश्न अनुत्तरित छन् । वक्तव्यमा कम्पनीले आफ्नो बढाईचढाई मात्र गरेको छ ।’ अडानी समूहको मुख्य कम्पनी अडानी इन्टरप्राइजेजको मुम्बई शेयर बजारमा १.५ प्रतिशतले मात्र वृद्धि भएको थियो । अडानी टोटल ग्यास, अदानी ट्रान्समिसन र अडानी ग्रीन इनर्जीको कारोबार फेरि रोकिएको छ । शुक्रबार पनि यी कम्पनीको कारोबार यस्तै भएको थियो । अडानी पावर र अडानी विल्मारको पनि पाँच–पाँच प्रतिशतले शेयर मूल्य घटेपछि सर्किट ब्रेक गर्नु परेको छ । अडानी पोर्ट कम्पनीको कारोबारमा एक समय धनात्मक देखिए पनि १.५ प्रतिशतले घटेको छ । रासस

भारतमा प्रहरीले गोलि हानी मन्त्रीको हत्या गरे

काठमाडौं । भारतमा प्रहरीले गोलि हानी मन्त्रीको हत्या गरेका छन् । भारतको ओडिसा राज्यका स्वास्थ्यमन्त्री नवकिशोर दासलाई प्रहरीका असिस्टेन्ट सबइन्स्पेक्टरले गोली हानी हत्या गरेका हुन् । स्वास्थ्यमन्त्री दास सार्वजनिक कार्यक्रममा भाग लिन झारसुगुडा जिल्ला पुगेका थिए । मन्त्री दासलाई गाडीबाट ओर्लिने क्रममा सबइन्स्पेक्टर गोपाल दासले छातीमा गोली हानेका थिए । उनलाई लगत्तै उपचारका लागि अस्पताल र्पुयाएको थियो । तर, अस्पताल पुर्याउँदा उनी बाँच्न सकेनन् । गोली हान्ने प्रहरीलाई पक्राउ गरी सोधपुछ गरिरहेको छ । अहिलेसम्म घटनाको कारण खुल्न सकेको छैन ।

जापानमा चिनियाँ ‘भिसा’ सेवा पुनः शुरु

टोकियो । यहाँस्थित चिनियाँ राजदूतावासले प्रवेशाज्ञा सेवा पुनः शुरु गरेको छ । आज एक सूचना जारी गरेर दूतावासले भिसासेवा पुनः शुरु भएको जनाएको हो । बेइजिङस्थित जापानी राजदूतावासले चिनियाँ नागरिकलाई आइतबारदेखि प्रवेशाज्ञा दिने सूचना जारी गरेपछि चीनले पनि जापानमा भिसा सेवा सञ्चालन गर्ने निर्णय गरेको हो । जापान भ्रमण गर्न चाहने चिनियाँ नागरिकलाई टोकियोले कोरोना परीक्षण नकारात्मक भएको प्रमाणबिना प्रवेशाज्ञा जारी नगर्ने नीति अख्तियार गरेपछि बेइजिङले पनि जापानी नागरिकलाई भिसा नदिने प्रतिशोधात्मक कदम चालेको थियो । आफ्ना नागरिकलाई प्रवेशाज्ञा दिन बन्द गरेकामा जापानको आलोचना गर्दै चीनले पनि गत पुस २६ गतेदेखि जापानी नागरिकलाई ‘भिसा’ दिन बन्द गरेको थियो । बेइजिङको उक्त कदमको आलोचना गर्दै त्यसलाई फिर्ता लिन माग गरेको थियो । साथै चीनले दक्षिणकोरियाली नागरिकलाई भिसा नदिने सूचना जारी गरेको थियो । विश्व स्वास्थ्य सङ्गठनले चीनमा कोभिड–१९ को प्रकोपको स्थितिबारे वास्तविक तथ्याङ्क नदिएको आरोप बेइजिङमाथि लगाएको थियो भने पछिल्लो समय अमेरिकालगायत दर्जनौँ देशले चीनबाट आफ्ना भूमिमा आउन चाहने चिनियाँसहित जुनसुकै देशका नागरिकले आफूलाई कोरोना सङ्क्रमण नभएको पुष्टि गर्ने प्रयोगशाला प्रतिवेदन पेश गर्नुपर्ने प्रावधानलाई अनिवार्य गरेका थिए । महामारीका बीच चीनले गत महिना अचानक कोभिड–१९ नियन्त्रणसम्बन्धी सबै प्रतिबन्धात्मक कदम हटाएपछि विश्वसमुदाय सशङ्कित भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले चीनमा कोरोना महामारीमा परी धेरै नागरिकको ज्यान गएको जनाएका थिए । केही साताअघिसम्म कठोर नियम कार्यान्वयन गराएको विरोधमा देशका प्रमुख शहरमा विरोध प्रदर्शन भएका थिए । कलकारखाना बन्द गर्ने घरबाहिर निस्कन नपाउने नियमको विरोधमा सर्वसाधारण उत्रिएका थिए ।