जी–७ का व्यापारमन्त्रीद्वारा मध्यपूर्वमा जारी द्वन्द्वको आर्थिक प्रभावबारे चिन्ता व्यक्त
एजेन्सी । मध्यपूर्वमा जारी द्वन्द्वको आर्थिक प्रभावबारे चिन्ता व्यक्त गर्दै जी–७ राष्ट्रका व्यापार मन्त्रीहरूको समूहले आइतबार चीन र रूसमाथि कटाक्ष गरेको छ । जापानमा भएको वार्तापछि जारी संयुक्त वक्तव्यमा रूसले जुलाईमा ‘ब्ल्याक सी’बाट सुरक्षित खाद्यान्न ढुवानीको अनुमति दिने सम्झौताबाट बाहिरिएपछि ‘युक्रेनी खाद्यान्न निर्यात पूर्वाधार ध्वस्त पारेको’ भन्दै आलोचना गरेको थियो । कुनै पनि देशको नाम नलिइकन जी–७ को वक्तव्यमा ‘आर्थिक निर्भरतालाई हतियार बनाउने कार्य’ र ‘महत्वपूर्ण खनिजपदार्थमा हालैको निर्यात नियन्त्रणका उपायहरूप्रति चिन्ता व्यक्त गरिएको’ पनि उल्लेख गरिएको छ । चीनले अन्य देशलाई राजनीतिक रूपमा दबाब दिन व्यापार प्रतिबन्धहरू प्रयोग गरेको आरोप लगाइएको छ । चीनले हालै केही प्रकारका विद्युतीय वाहन ब्याट्रीहरू बनाउनको लागि महत्वपूर्ण मानिने ग्रेफाइटमा निर्यातमा प्रतिबन्धहरू लगाएको छ । अमेरिकाले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा चीनको कामलाई सुस्त बनाउने प्रयासमा उच्च प्रविधियुक्त माइक्रोचिप्सको आप्रर्तिमा नयाँ प्रतिबन्ध लगाएको केही दिनपछि यो कदम चालिएको हो । टोकियोले फुकुशिमा आणविक केन्द्रबाट प्रशोधित फोहोर पानी छोड्न सुरु गरेदेखि नै चीन र रूसले जापानी समुद्री खाना आयातमा लगाएको प्रतिबन्धप्रति अर्को स्पष्ट संकेत गर्दै जी–७ राष्ट्रहरूले कुनै पनि प्रतिबन्ध ‘विज्ञानमा आधारित र विश्व व्यापार संगठन (डब्ल्यूटीओ) र अन्य अन्तर्राष्ट्रिय नियमअनुसार मात्र लागू हुनुपर्ने’ बताएका छन् । उक्त पत्रमा मध्यपूर्वको बारेमा कुनै प्रत्यक्ष उल्लेख गरिएको छैन । तर जापानको ओसाकामा भएको बैठकको सह–अध्यक्षता गरेका जापानका विदेशमन्त्री योको कामिकावाले इजरायल र प्यालेस्टाइनको पछिल्लो अवस्थाका कारण अनिश्चितता अझै बढ्न सक्ने चिन्ता व्यक्त गरेका छन् । जी–७ मा वर्तमान अध्यक्ष जापान, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, बेलायत र संयुक्त राज्य अमेरिकाका साथै युरोपेली सङ्घ रहेका छन् । सन् २०१४ सम्म यसले रूसलाई सदस्यका रूपमा समेटेको थियो । ओसाकामा भएको वार्तामा भारत, अस्ट्रेलिया, चिली, केन्या र इन्डोनेसियालगायत अन्य देशका प्रतिनिधि, अन्तर्राष्ट्रिय सङ्घसंस्था र निजी क्षेत्रका प्रतिनिधि पनि सहभागी थिए ।
सन् २०२३ मा चिनियाँ अर्थतन्त्र ५.२ प्रतिशतले बढ्ने
एजेन्सी । चालु वर्षमा चीनको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) पाँच दशमलव दुई प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय वित्तीय मञ्च (आईएफएफ) ले २०२४ मा चीनको जीडीपी ५ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ । चीनको दक्षिणी प्रान्त गुआङ्डोङको ग्वाङ्जाउमा आयोजित आईएफएफको २० वार्षिक बैठकका क्रममा जारी आईएफएफ २०२३ वैश्विक वित्त र विकास प्रतिवेदनअनुसार यो वर्ष वैश्विक विकास दर तीन दशमलव एक प्रतिशतमा अझ सुस्त हुने अनुमान छ । त्यस्तै सन् २०२४ मा पनि यस्तै कमजोर हुने सम्भावना छ । प्रतिवेदनमा अधिकांश मुलुकमा मौद्रिक कडाइको चक्र सन् २०२४ सम्ममा समाप्त हुने सम्भावना रहेको उल्लेख गरेको छ । यद्यपि मौद्रिक र वित्तीय कडाइ जारी रहने सम्भावना छ र यसबाट मागमा वृद्धि कम हुनेछ र वैश्विक सुधार सुस्त रहने छ । त्यसैले आईएफएफले सन् २०२४ मा वैश्विक अर्थतन्त्र तीन दशमलव एक प्रतिशतको दरले बढ्ने अनुमान गरेको छ । यसमा विकसित अर्थतन्त्रहरूमा एक दशमलव तीन प्रतिशत र विकासशील अर्थतन्त्रहरूमा चार दशमलव तीन प्रतिशतले वृद्धि हुनेछ । वैश्विक समुदायले अल्पकालीन र दीर्घकालीन दुवै चुनौतीहरूको सम्बोधन गर्न मिलेर काम गर्नुपर्ने प्रतिवेदनमा औँल्याइएको छ । प्रतिवेदनमा भनिएको छ, ‘गरिबी न्यूनीकरण, पर्यावरणको संरक्षण र जलवायु परिवर्तनलाई न्यूनीकरण, अन्तरदेशीय द्वन्द्व समाधान गर्ने र भू–राजनीतिक तनाव कम गर्ने जस्ता साझा चुनौतीहरूको सामना गर्न अन्तर्राष्ट्रिय सहयोग र बहुपक्षीयतालाई अगाडि बढाउन आवश्यक छ ।’
मध्यपूर्व द्वन्द्वका कारण अमेरिकाका लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा
काठमाडौं । धेरै वर्षदेखि तनावमा रहेको मध्यपूर्व क्षेत्रमा अक्टोबर ७ देखि इजरायल र हमाबीचको द्वन्द्वले फेरि विश्वबजारका लगानीकर्तालाई चिन्ता थपिदिएको छ । मध्यपूर्वको द्वन्द्वमा अमेरिका र बेलायत जस्ता मुलुकका नेतृत्वहरु इजरायलमा नै पुगेर द्वन्द्वलाई घटाउने भन्दा विरोध र समर्थनमा उत्रिएपछि विशेषगरी अमेरिका र युरोपका ठूला लगानीकर्तालाई युद्धको सम्भावित परिदृष्यले चिन्तित बनाएको देखिन्छ । इजरायलले शनिबारबाट हमास विरुद्धमा भूमिगत सैन्य कारबाहीलाई समेत अगाडि बढाएको छ । पछिल्ला दिनहरुमा अमेरिकाले हमास, लेबनान र सिरियामा थप आक्रमण अगाडि बढाउन सेना पठाएपछि अमेरिकी लगानीकर्ताहरु चिन्तित बनेको रोयटर्सले उल्लेख गरेको छ । इजरायलको अवस्थाले धेरै चिन्ता पैदा गरेको ट्रेडिङ एन्ड डेरिभेटिभ्सका डाइरेक्टर र्यान्डी फ्रेडरिकले रोयटर्सलाई बताएका छन् । शुक्रबार क्रुड तेलको मूल्य स्थिर भयो तर, लगानीकर्ताहरुले सुरक्षित मान्ने सुनको मूल्यमा भारी वृद्धि हुन पुगेको छ । शुक्रबार क्यापिटल इकोनोमिक्समा विश्लेषकहरुले इजरायली तेल बजार ‘म्युट’ अवस्थामा रहेको प्रतिक्रिया दिएका छन् । तर, सो क्षेत्रका अन्य देशहरु सो युद्धमा सहभागी हुँदै गएमा भने त्यसले तेलको मूल्यमा ठूलो असर गर्ने अनुमान गरिएको छ । अहिलेसम्म इरान बाहेक अन्य मुलुकका अधिकारीहरुले भने आक्रामक वक्तव्यबाजी दिएका छैनन् । यदि द्वन्द्वका कारण अमेरिकाले युद्धमा खर्च वृद्धि गर्यो भने त्यसले १६ वर्षदेखि बढी भइरहेको ट्रेजरी खर्च थप बढ्ने प्रमुख बजार अर्थशास्त्री पिटर कार्डिलोले बताएका छन् । केही लगानीकर्ताहरुले भने ट्रेजरी खरिदलाई सुरक्षित समेत मान्ने गरेको पाइन्छ । तर, त्यसो भएमा यसले मूल्य वृद्धि र स्टक मार्केटमा भने असर गर्न सक्ने अनुमान गरिएको छ । जुलाइदेखि एस एन्ड पी ५०० को सूचकांक १० प्रतिशत भन्दा बढीले घट्न पुगेको छ । साथै अमेरिकी सरकारी बन्डहरुले अहिलेसम्म सुरक्षित प्रयोग भएको प्रदर्शन गर्न नसकेको ग्लोबल वेल्थ म्यानेजमेन्टले शुक्रबार एक नोटमा उल्लेख गरेको छ । एजेन्सीको सहयोगमा ।