माली विस्फोटन : नेपाली सैनिक सुरक्षित

काठमाडौं । अफ्रिकन मूलुक मालीमा विस्फोटनमा परी संयुक्त राष्ट्र सङ्घको शान्ति सैनिक मिसन (मिनुस्मा)मा कार्यरत सेनेगलका तीन जना शान्ति सैनिकको मृत्यु भएको छ । केन्द्र मालीमा मङ्गलबार भएको उक्त विस्फोटनमा परी अन्य पाँचजना सैनिक गम्भीर घाइते भएको मिनुस्माले जनाएको छ । मिसनमा कार्यरत सबै नेपाली शान्ति सैनिक भने सुरक्षित रहेको नेपाली सेनाका प्रवक्ता सहायरथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए । नेपाली सैनिक रहेको क्षेत्रको अवस्था सामान्य रहेको उनले बताए । मालीको शान्ति मिसनमा नेपालका ‘स्टाफ’, ‘अब्जर्भर’ ‘कन्टिजेन्ट’समेत गरी एक सय ८१ सकलदर्जा कार्यरत छन् ।

टर्कीमा पुनः शक्तिशाली भूकम्प, ६ जनाको मृत्यु

टर्की । टर्कीएमा पुनः शक्तिशाली भूकम्प भएको छ । दक्षिणी शहर एन्टाक्यालाई केन्द्रविदुन बनाएर सोमबार भएको छ दशमलव चार म्याग्निच्युडको भूकम्पमा परी छ जनाको मृत्यु भएको छ । भूकम्पको धक्का सिरिया, लेबनान र इजिप्टमा पनि महसुस गरिएको थियो । सोमबारको भूकम्प १० किलोमिटर गहिराइमा भएको युरोपेली भूमध्यसागरीय भूकम्प विज्ञान केन्द्रले जनाएको छ । गत माघ २३ गते टर्कीएको कहरामनमारसलाई केन्द्रविन्दु बनाएर भएको सात दशमलव आठ म्याग्निच्युडको भूकम्पमा परी टर्कीए र छिमेकी सिरियामा ४७ हजारभन्दा बढीको मृत्यु भएको छभने हजारौँ घाइते भएका छन् । टर्कीएका गृहमन्त्री सुलेमान सोयलुले सोमबारको भूकम्पमा परी घाइते भएका दुई सय १३ जनालाई अस्पताल भर्ना गरिएको बताएका छन् । सिरियामा एक सय ३० जना घाइते भएका तथा अघिल्लो भूकम्पबाट जीर्ण भएका केही भवन पूर्ण रूपमा भत्किएका छन् । रासस

अमेरिकाको बन्दुक हिंसामा एक वर्षमा ५ हजार ८ सयको मृत्यु

वासिङ्टन । हिजो आइतबारसम्मको विवरणअनुसार अमेरिकामा बन्दुकजन्य हिंसामा यो वर्ष ५ हजार ८०० जनाको मृत्यु भएको छ । बन्दुकजन्य हिंसासम्बन्धी अभिलेख अद्यावधिक गर्ने कार्यालयले सार्वजनिक गरेको विवरणमा उक्त सङ्ख्या उल्लेख गरिएको छ । आज टेनेसीको मेम्फिसमा भएको गोली काण्डमा एक जनाको ज्यान गएको छ भने अन्य १० जना घाइते भएका छन् । मेम्फिस प्रहरीका अनुसार गोलीकाण्ड गए राति एउटा नाइट क्लब र त्यसको आसपासको क्षेत्रमा भएको थियो । गोलीकाण्डको विवरण सार्वजनिक गरिएको छैनभने आक्रमणकारीका बारेमा पनि केही खुलाइएको छैन । घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गत शुक्रबार मिसिसिपीको एउटा ग्रामीण क्षेत्रमा गोली हानाहान हुँदा छ जनाको ज्यान गएको थियो ।