भारतको आईटी क्षेत्रमा थप ३० अर्ब लगानी हुँदै
एजेन्सी । केही दिनअघि केन्द्र सरकारले भारतमा ल्यापटप आयातमा प्रतिबन्ध लगाएपछि विश्वको सबैभन्दा ठूलो कम्प्युटर हार्डवेयर र स्मार्टफोन बजारमा रहेका डेल, फक्सकन, एचपी र लेनोभोजस्ता कम्पनीले ‘पर्फर्मेन्स लिंक इन्सेन्टिभ’ (पीएलआई) योजनाका लागि आवेदन दिए । केन्द्र सरकारले पीएलआई योजनाका लागि २७ कम्पनी चयन गरेको छ । हार्डवेयर निर्माण कम्पनीहरूको यो कदमले भारतको आईटी हार्डवेयर उद्योगमा ३० अर्ब रुपैयाँ लगानी हुने र ५० हजारजनाले रोजगारी पाउने अपेक्षा गरिएको छ । भारतका इलेक्ट्रोनिक्स र सूचना प्रविधिमन्त्री अश्विनी वैष्णवले पीएलआई योजनाअन्तर्गत स्वीकृति प्राप्त गरेका २७ कम्पनीमध्ये २३ कम्पनीले तत्काल आफ्नो सञ्चालन र उत्पादन सुरु गर्न काम गरिरहेको बताए । भारत सरकारले हालै आईटी हार्डवेयर क्षेत्रका लागि उत्पादन लिंक प्रोत्साहन योजना सुरु गर्यो। यसबाट सरकारले स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्न सक्षम हुने अपेक्षा गरेको छ । आईटीमन्त्री वैष्णवले प्रदर्शन लिंक प्रोत्साहन योजनाअन्तर्गत २७ कम्पनीले स्वीकृति प्राप्त गरेको बताए । उनले यसबाट देशमा ३० अर्ब रुपैयाँ लगानी हुने, ५० हजारले प्रत्यक्ष रोजगारी पाउने र डेढ लाखभन्दा बढीले अप्रत्यक्ष रोजगारी पाउने बताए । एचपी, लेनोभोजस्ता ठूला कम्पनीहरू यस पीएलआई स्कीम योजनामा रुचि राख्ने ४० कम्पनीमध्ये छन् । तिनीहरूले आईटी हार्डवेयर पीएलआई योजनाका लागि आवेदन दिएका थिए । यी कम्पनीले भारतमा पर्सनल कम्प्युटर, ल्यापटप, ट्याब्लेट, सर्भर र सम्बन्धित उपकरणहरू निर्माण गर्न लागेका छन् । पीएलआई स्कीम योजनाको ६ वर्षको कार्यकालमा कम्पनीहरूले ४६ अर्ब ५० करोडबराबरका प्रोडक्ट तयार गर्न सक्छन् । गत अगस्ट ३ मा केन्द्र सरकारले ल्यापटप आयातमा प्रतिबन्ध लगाउने सूचना जारी गरेको थियो । विदेशबाट आउने ल्यापटप र कम्प्युटरको हार्डवेयरको सुरक्षामा सरकार चिन्तित भए पनि अमेरिकालगायत उद्योगका अग्रणी ल्यापटप कम्पनीहरूको आलोचनाको सामना गर्नुपरेको सरकारको भनाइ छ । ल्यापटपमा प्रतिबन्ध लगाउने सरकारको निर्णयको एप्पलसँगै सामसङ, डेल, लेनोभो र एचपीजस्ता कम्पनीले विरोध गरेका थिए । जियोबुक चीनबाट आयात भएकाले सरकारको यो निर्णयले जियोजस्ता कम्पनीले पनि घाटा बेहोरेका छन् ।
मुम्बई एयरपोर्टले तोड्यो पुरानो रेकर्ड, एकै दिन १०३२ उडान-अवतरण
एजेन्सी । दीपावलीको हप्ता मुम्बई एयरपोर्टबाट एकै दिन १ हजारभन्दा बढी उडान-अवतरण भएर नयाँ रेकर्ड कायम भएको छ । दिपावली हप्ता अर्थात नोभेम्बर ११ देखि १३ सम्म मुम्बईको छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थल (सिएसएमआइए) मा कुल ५ लाख १६ हजार ५ सय ६२ यात्रुले उडान भरेका थिए । जहाँ नोभेम्बर ११ मा १ हजार ३२ उडान–अवतरण भएका थिए । यो सिएसएमआइएका लागि ठूलो उपलब्धि हो । यसअघि पाँच वर्ष पहिले एकै दिन सबैभन्दा बढी उडानको कीर्तिमान थियो । २०१८ डिसेम्बर ९ मा एकै दिन १ हजार ४ उडान–अवतरण भएको थियो । सोही रेकर्ड मुम्बई एयरपोर्टले यसपालि तोडेको हो । मुम्बई अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापन अडानी समूहले गर्छ । अडानी ग्रुपका अध्यक्ष गौतम अडानीले मुम्बई एयरपोर्टको रेकर्डबारे सामाजिक सञ्जाल प्लेटफर्म ट्वीटरमा लेखेका छन्, ‘नयाँ विश्वकीर्तिमान १ मुम्बई एयरपोर्टले एकै दिनमा १०३२ उडानहरू मात्र एक रनवेमा प्रबन्ध गरेर आफ्नै रेकर्ड तोडेको छ । एएआई नेभिगेसन टोली, एटिसी, एयरलाइन साझेदारहरू र टिम अडानीलाई उनीहरूको समर्थन र प्रयासका लागि बधाइ ।’ यसपटक दीपावलीको समयमा मुम्बई विमानस्थलबाट आन्तरिक रुटमा ३ लाख ५४ हजार ५ सय ४१ यात्रुले उडान भरेका छन् भने अन्तर्राष्ट्रिय रुटमा १ लाख ६२ हजार २१ यात्रुले उडान भरेका छन् । कुल २ हजार १ सय ३७ आन्तरिक उडान र ७ सय ५७ अन्तर्राष्ट्रिय उडानसहित छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थलले २ हजार ८ सय ९४ उडान व्यवस्थापन गरेको छ । १० र १३ नोभेम्बर अर्थात दीपावली हप्ताको बीचमा कुल यात्रु आवागमनलाई हेर्दा नयाँदिल्ली, बैंगलोर र चेन्नई घरेलु यात्रुहरूका लागि शीर्ष गन्तव्यहरू थिए । जबकि, अन्तर्राष्ट्रिय गन्तव्यहरूमा दुबई, लन्डन, अबुधाबी र सिंगापुर समावेश छन् । एक दिनमा १ हजार ३२ एयर ट्राफिक आवागमनको रेकर्ड दर्ता गरेपछि मुम्बई एयरपोर्टले नोभेम्बर ११ मा १ लाख ६१ हजार ४ सय १९ यात्रुलाई सेवा दियो । जसमा १ लाख ७ हजार ७ सय ६५ आन्तरिक यात्रु र ५३ हजार ६ सय ८० अन्तर्राष्ट्रिय यात्रु थिए। यसले सेफ्टी, सेक्युरिटी र मानक यात्रु सेवाका मापदण्ड कायम राख्दै मुम्बई एयरपोर्टको क्षमता बढेको देखाउँछ।
दक्षिण फिलिपिन्समा ६.७ म्याग्निच्युडको भूकम्प
काठमाडौं । दक्षिण फिलिपिन्समा शुक्रबार छ दशमलव सात म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजिएस) ले बताएको छ । स्थानीय अधिकारीहरूले भूकम्पबाट सम्भावित क्षतिको चेतावनी दिएका छन् । ग्रिनविच मिन टाइमअनुसार बिहान ८ः१४ मा ७८ किलोमिटर गहिराइमा मुख्य दक्षिणी द्वीप मिन्डानाओको साराङ्गानी प्रान्तमा भूकम्प गएपछि सुनामीको कुनै खतरा नभएको युएसजिएसले एक विज्ञप्तिमा बताएको छ । हताहतको तत्काल कुनै खबर आएको छैन यद्यपि पहाडी द्वीपको फराकिलो क्षेत्रमा भूकम्प महसुस गरिएको छ । ‘मैले अनुभव गरेकोमध्ये यो सबैभन्दा शक्तिशाली भूकम्प थियो’, भूकम्पको केन्द्रविन्दुबाट करिब दुई सय किलोमिटर टाढा रहेको डाभाओ सहरमा एक कार्यक्रममा भाग लिन आएकी २७ वर्षीया केशिया लेरानले भने, ‘मेरो वरपरका मानिसहरू आतङ्कित हुँदै बाहिर जान दौडिरहेका थिए, यहाँ कार्यक्रममा सयौँ मानिस छन् त्यसैले मलाई भागदौड हुन्छ भन्ने डर थियो ।’ प्यासिफिक ‘रिङ अफ फायर’ को छेउमा रहेको फिलिपिन्समा भूकम्पहरू जानु सामान्य घटना हुन् । ‘रिङ अफ फायर’ तीव्र भूकम्पीय र ज्वालामुखी गतिविधिको चाप हो र यो जापानबाट दक्षिणपूर्व एसिया र प्रशान्त बेसिनसम्म फैलिएको छ । रासस