सिबिआईएल सेक्युरिटिजको प्रथम बार्षिक साधारण सभा सम्पन्न, सञ्चालक समितिमा ४ जना निर्विरोध
काठमाडौं । सिबिआईएल सेक्युरिटिजको प्रथम बार्षिक साधारण सभा सम्पन्न भएको छ । सिटिजन्स बैंकको साहयक कम्पनी सिबिआईएल सेक्युरिटिजको प्रथम बार्षिक साधारण सभा शनिबार सिबिआईएल सेक्युरिटिजको कार्यालय परिसर कुपण्डोलमा कम्पनीको सञ्चालक समितिको अध्यक्ष सप्तमान बज्राचार्यको अध्यक्षतामा सम्पन्न भएको हो । सो साधारण सभाबाट कम्पनीको आर्थिक वर्ष २०७५/७६ देखि आर्थिक वर्ष २०७९/८० सम्मको वासलात, नाफा नोक्सान हिसाब लगायत अन्य वित्तीय विवरण स्विकृत भएको छ । साथै कम्पनीको सञ्चालक समितिमा चार जना सञ्चालकहरु रामधन श्रेष्ठ, सप्तमान बज्राचार्य, सजु शाक्य र सृजेश ज्ञवाली निर्विरोध निर्वाचित भएका छन् । नेपाल धितोपत्र बोर्ड बाट अनुमतिपत्र प्राप्त धितोपत्र दलाल (ब्रोकर नं. ९१) सि.बि.आई.एल. सेक्युरिटिजले आफ्नो मुख्य कार्यालय ललितपुर–१०, कुपण्डोलबाट ग्राहकहरुलाई धितोपत्र कारोबार सेवा दिदै आईरहेको छ । साथै यस कम्पनीले सिटिजन्स बैंकका सम्पूर्ण शाखाहरु मार्फत ब्रोकर खाता खोल्ने फाराम भरी पठाउन सक्ने सेवा समेत प्रदान गर्दै आईरहेको छ ।
महालक्ष्मी विकास बैंकको कामु सीईओमा दिपेश लम्साल
काठमाडौं । महालक्ष्मी विकास बैंकको कायमुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)को जिम्मेवारी दिपेश लम्सालले पाएका छन् । बैंक सञ्चालक समितिको पुस २८ गते बसेको बैठकले वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत लम्साललाई माघ १ गतेदेखि कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो । साथै, सञ्चालक समितिले बैंकका सीईओ बोधराज देवकोटाले दिएको राजीनामा स्वीकृत गरेको छ । अर्काे व्यवस्था नभएसम्मका लागि कामु सीईओ जिम्मेवारी लम्साललाई दिइएको कम्पनी सचिव सोमराज पन्तले जानकारी दिए । लम्सालसँग बैंकिङ क्षेत्रको २४ वर्षभन्दा बढी अनुवभ छ । नबिल बैंकमा ८ वर्ष र कुमारी बैंकमा ४ वर्ष काम गरेका उनी महालक्ष्मी बैंकमा भने विगत १२ वर्षदेखि आवद्ध छन् ।
समृद्धि फाइनान्सको सञ्चालकमा बर्तौला नियुक्त
काठमाडौं । । समृद्धि फाइनान्स कम्पनीले २२औँ साधारणसभा सम्पन्न गरेको छ । मकवानपुरको हेटौँडामा सम्पन्न साधारणसभाले रिक्त रहेको सञ्चालक पदमा रामकुमार बर्तौलालाई नियुक्त गरेको छ । उनी पद्मोदय प्रालिको प्रतिनिधित्व गर्दै संस्थापक समूहबाट निर्वाचित भएका हुन् । सञ्चालक समितिका अध्यक्ष ठाकुरप्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न साधारणसभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने अघिल्लो आ.व.को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै वासलात, नाफा नोक्सान र नगद प्रवाह विवरण माथि छलफल गर्नुका साथै आ.व.२०८०/८१ लागि बाह्य लेखापरीक्षक नियुक्ति गर्ने लगायतका एजेन्डाहरूमा छलफलसहित पारित गरेको छ । साधारण सभामा अध्यक्षले सञ्चालक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त प्रतिवेदनमाथि सहभागी भएका सेयरधनीहरुबाट सल्लाह, सुझाव र जिज्ञासाहरूलाई सञ्चालक समितिका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले स्पष्ट पारेका थिए ।