‘रुस जान व्यक्तिगत श्रम स्वीकृति खुला गरिएको छैन’
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले हाल कुनै पनि व्यक्ति रुस जान श्रम स्वीकृतिको व्यवस्था नरहेको स्पष्ट पारेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बुधबार यहाँ आयोजना गरेको काठमाडौंको आँखामा कर्णाली विषय कार्यक्रम उनले हाल रुस जान व्यक्तिगत श्रम स्वीकृतको व्यवस्था बन्द नै रहेको र खुला नगरिएको स्पष्ट पारेका हुन् । मन्त्री अर्यालले वैदेशिक रोजगार व्यवसायीले रुसमा युद्धग्रस्त क्षेत्र होइन भन्ने स्पष्ट पारेको र जोखिम छैन भन्ने मागलाई स्वीकृत दिने अघिल्लो मन्त्रीको पालामा भएको निर्णयका सन्दर्भमा आफूहरु पुनःमूल्याङ्कनका लागि अध्ययनका क्रममा रहेको जानकारी गराए । सरकार अविछिन्न उत्तराधिकारी हुने र निरन्तर चलिरहने विषयका सन्दर्भमा भने आफू सजग रहेको उनको भनाइ थियो । मन्त्री अर्यालले श्रम स्वीकृति लिएर गएका नेपाली नागरिकको उद्धारका हकमा आफ्नो मन्त्रालयले जिम्मेवार हुने र श्रम स्वीकृति नलिई गएका नागरिकको हकमा परराष्ट्र मन्त्रालयले समन्वय गर्नुपर्ने बताए । कार्यक्रममा रास्वपाका उपसभापति एवं सांसद डा. स्वर्णिम वाग्लेले राजनीतिक सङ्गठन निर्माणसँगै मुलुकको समृद्धिका लागिसमेत पार्टीले ध्यान दिने बताए । उनले २०८४ सालमा पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा रास्वापा निर्वाचनमा होमिनेमा स्पष्ट रहेको उल्लेख गरे । उपसभापति डा. वाग्लेले कर्णालीमा अपार सम्भावना हुँदाहुँदा पनि विकास निर्माणमा पछाडि परेको बताउँदै सङ्गठन निर्माणसँगै समृद्धिका लागि नीतिमा पनि योगदान गर्नुपर्नेमा जोड दिए । कार्यक्रमको उद्घाटनपछि सत्रहरूमा विभिन्न विषयका विज्ञहरुले पार्टी सुदृढीकरण र कर्णाली विषयमा आफ्ना धारणा व्यक्त गरेका थिए ।
शिखर इन्स्योरेन्सको सञ्चालकमा चार जना निर्वाचित
काठमाडौं । शिखर इन्स्योरेन्सको सञ्चालकमा चार जना निर्वाचित भएका छन् । हालै सम्पन्न कम्पनीको १९औं वार्षिक साधारण सभाबाट चार जना सञ्चालक पदमा निर्वाचित भएका हुन् । जसमा गौरव अग्रवाल, बुद्ध एयरको तर्फबाट रमेश कुमार लुईटेल, डा. श्रुजना श्रेष्ठ र सौरभ ज.ब. राणा रहेका छन् । उनीहरु आगामी चार वर्षको कार्यकालको लागि निर्वाचित भएका हुन् ।
सेन्ट्रल फाइनान्सको स्वतन्त्र सञ्चालकमा पौडेल नियुक्त
काठमाडौं । सेन्ट्रल फाइनान्सको स्वतन्त्र सञ्चालकमा अशोककुमार पौडेल नियुक्त भएका छन् । चैत १२ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले पौडेललाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि संस्थाको उक्त पद रिक्त रहेको थियो ।