राष्ट्रिय सहकारी बैंकले माग्यो ९२ जना कर्मचारी (विज्ञापनसहित)

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले कर्मचारीको माग गरेको छ । बैंकले विभिन्न १० पदका लागि ९२ जना कर्मचारीको माग गरेको हाे । बैंकले खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्नेगरी व्यवस्थापक, अधिकृत र सहायक तहमा एकसय कर्मचारी माग गरेको जनाएको छ । बैंकले कनिष्ठ सहायक पदको लागि सबैभन्दा धेरै ६० कर्मचारी माग गरेको छ । त्यस्तै, व्यवस्थापन प्रशिक्षार्थी र शाखा प्रमुख १५/१५ जना र कर्जा अधिकृत २ जना कर्मचारीको लागि आवेदन खुलाएको छ । ईच्छुकले तथा योग्यता पुगेका नागरिकले पुस २५ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ । आवेदन बैंकको वेबसाइटबाट अनलाईन दरखास्त फारम भर्न सकिने बैंकले जनाएको छ ।

सीआईटीको ईडीमा ५ जना सर्टलिष्ट, बहालवाला सीईओदेखि पूर्व सहसचिवसम्मको दौडधूप

काठमाडौं । नागरिक लगानी कोष(सीआईटी)को कार्यकारी निर्देशक (ईडी) पदका लागि ५ जनाको नाम सर्टलिष्ट गरिएको छ । कोषको कायर्कारी निर्देशक छनोट समितिको मंगलबार (पुस १० गते) बसेको बैठकले ५ जनाको नाम सिफारिस गरेको हो । कार्यकारी निर्देशक पदका लागि पर्वत कुमार कार्की, राजेन्द्र पण्डित, लेखनाथ शर्मा पंगेनी, विश्वमोहन अधिकारी र डा.शिवहरी श्रेष्ठको नाम सर्टलिष्ट गरिएको छनौट तथा सिफारिस समितिले जनाएको छ । योग्यता र अनुभव प्राप्त व्यक्तिलाई आवेदनका आधारमा ५ जनाको नाम छनोट गरेर सिफारिस गरिएकाे समितिकाे भनाइ छ । उम्मेदवारको शैक्षिक योग्यता तथा कार्य अनुभव र पेस भएको व्यावसायिक कार्ययोजनाको मूल्याङकनको आधारमा ५ जनालाई सर्ट लिष्टिङ्ग गरी अन्तरवार्ताका लागि छनौट गरिएको बताइएको छ । अब पाँचै जनाले दिने प्रस्तुति तथा अन्तर्वार्ताको आधारमा उच्चतम अंक प्राप्त गर्ने ३ जनालाई ईडीका लागि सिफारिस गरिनेछ । र, तीनै जनामध्ये एक जना कोषको कार्यकारी निर्देशक बन्नेछ । सर्टलिष्टिङमा परेका ५ जनामध्ये सबैभन्दा बलियो उम्मेदवार को होला र कसले ईडी पदमा बाजी मार्ला भन्ने विषय चासोका साथ हेरिएको छ । किसान लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत पर्वत कुमार कार्की सर्टलिष्टको पहिलो नम्बरमा परेका छन् । उनी राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन् ।  उनले ग्रामिण विकास बैंकको सीईओ भएर पनि काम गरिसकेका छन् । उनले व्यवस्थापनमा स्नातकोत्तर तहसम्मको शिक्षा हासिल गरेका छन् । सर्टलिष्टमा परेकामध्ये राजेन्द्र पण्डित राष्ट्र बैंकबाट अवकास प्राप्त कर्मचारी हुन् । राष्ट्र बैंकमा ३० वर्षसम्म काम गरी सेवा अवधिका आधारमा अवकाश पाएका पण्डित राष्ट्र बैंकमा कम्पनी सचिवसम्म भएका थिए । बैंक तथा वित्तिय क्षेत्रबारे राम्राे जानकारी भएका पण्डित पछिल्लाे समय अमेरिकाबाट विद्यावारिधी गर्दैछन् । यस्तै, लेखनाथ शर्मा पंगेनी नेपाल सरकारको सहसचिव पदबाट अवकाश प्राप्त कर्मचारी हुन् । उनले राजस्व परामर्श बोर्डको सदस्य भएर पनि काम गरिसकेका छन । उनले अर्थमन्त्रालय र मातहतका निकायमा तीन दशक लामो समय काम गरेका थिए । व्यवस्थापनमा स्नातकोत्तर गरेका उनको घर स्याङ्जा हो । नेपालको प्रतिनिधित्व गर्दै विभिन्न अन्तर्राष्ट्रिय फोरम तथा द्धिपक्षिय वार्तामा समेत सहभागी हुने अवसर पंगेनीले प्राप्त गरेका छन् । साथै, अर्थमन्त्रालयको राजश्व महाशाखामा रहेर बजेट निर्माणमा संलग्न रहेको उनी बताउँछन् । सर्टलिष्टमा परेका उम्मेदवारहरूमध्ये एक मात्रै निमित्त सहसचिव पंगेनी सूचना विभागको महानिर्देशक समेत बनेका थिए । यस्तै, युवा तथा स्वरोजगार कोषका हालका कार्यकारी निर्देशक विश्वमोहन अधिकारी पनि सर्टलिष्टमा परेका छन् । पूर्व बैंकर रहेका उनले तत्कालीन ओम डेभलपमेन्ट बैंकमा प्रमुख कार्यकारी अधिकृत भएर पनि काम गरिसकेका छन् । बैंक तथा वित्तीय क्षेत्रमा उनको अनुभव २५ वर्षभन्दा बढी छ । डा. शिवहरी श्रेष्ठले नेपाल खाद्य संस्थानमा चार वर्ष महाप्रबन्धक भएर काम गरिसकेका छन् । उनले राष्ट्रिय बीमा संस्थानको प्रशासक भएर पनि काम गरिसकेका छन् भने सामुदायिक लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) भएर काम गरेका थिए । र, नेपाल औद्योगिक विकास निगममा उनले  साढे दुई दशक काम गरिसकेका छन् । उनले नेपाल राष्ट्र बैंकको छात्रवृत्तिमा अर्थशास्त्रमा विद्यावारिधि पनि गरेका छन् । पाँचै जनालाई प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि पुस १७ गते नागरिक लगानी कोषको कार्यालयमा बोलाइएको छ । सीआईटीको ईडी बन्न १० जनाको प्रतिस्पर्धा, बहालवाला सीईओदेखि सहसचिवसम्मको संघर्ष

विदेशबाट फर्केर तरकारी खेती गर्दै मनिराज, मनग्य आम्दानी

भोजपुर । विदेशको अनुभव र भोगाइले आफ्नै ठाउँमा कृषिमा लाग्नेको सङ्ख्या भोजपुरमा बढ्न थालेको छ । विदेशबाट फर्केर स्वदेशमा कृषि व्यवसायमार्फत धेरैले मनग्य आम्दानी गर्दै आएका छन् । भोजपुरको रामप्रसादराई गाउँपालिका–८ खोक्सिकका मनिराज राई विदेशबाट फर्केर व्यावसायिक तरकारी खेतीमा लागेका छन् । दश वर्ष विदेश बसेका राई अहिले गाउँमा कृषि उद्यममा जोडिएका हुन् । उनले गोलभेडा, बन्दा, फुलकोभी, गाँजरलगायत तरकारीको व्यावसायिक खेती गरिरहेका छन् । वडा कार्यालयको पहलमा आवश्यक तालिमसँगै औजार तथा उपकरण पाएपछि व्यवसायमा थप सहजता भएको राईले बताए । ‘विदेशमा गरेको दुस्ख र अनुभव आफ्नै ठाउँमा उपयोग गर्ने उद्देश्यले परिवारसँग मिलेर तरकारी खेती सुरु गरेको छु । अहिले प्रशस्त आम्दानी भइरहेको छ’, उनले भने । कृषिमा लाग्ने युवालाई राज्यले विभिन्न प्रोत्साहनमूलक कार्यक्रम गरेर सहयोग गरिरहेको राईको भनाइ थियो । करिब दुई रोपनी क्षेत्रमा तरकारी खेती लगाइएको उनले जानकारी दिए । तरकारी व्यवसायबाट प्रशस्त आम्दानी गर्न सकिने देखेपछि यसको विस्तारमा जोड दिइएको राईले बताए । ‘स्वदेशमा व्यावसायिक भएर काम गर्न सकियो भने प्रशस्त आम्दानी गर्न सकिने रहेछ’, उनले भने । तरकारी खेतीबाट सबै खर्च कटाएर मासिक रुपमा रू २० देखी २५ हजारसम्म आम्दानी हुने गरेको राईले जानकारी दिए । खेतीलाई थप विस्तार गरेर आम्दानीलाई अझ बढाउने लक्ष्य रहेको उनले योजना सुनाए । उत्पादन भएको तरकारी स्थानीय बजारमा खपत हुने उनको भनाइ छ । वडा कार्यालयले व्यावसायिक रुपमा तरकारी खेतीमा जुटेका किसानको पहिचान गरेर उनीहरुको व्यावसायिक योजनाको आधारमा अनुदानसँगै तालिम तथा कृषियन्त्र, उपकरण सहयोग गर्दै आएको छ । यहाँका कतिपय ठाउँ भौगोलिक रुपमा उर्वरभूमि रहेकाले कृषिलाई प्राथमिकतामा राखेर काम गरिरहेको वडाध्यक्ष बाचकुमार राईले बताए । भावी दिनमा व्यावसायिक खेतीका लागि माटोको परीक्षण गरेर माटो सुहाउँदो बाली लगाउन प्रोत्साहन गरिने उनको भनाइ थियो । ‘आर्थिक रुपमा किसानलाई सक्षम बनाउन कृषिमा जोड दिन आवश्यक छ’, वडाध्यक्ष राईले  भने, ‘स्थानीयवासीलाई व्यावसायिक कृषिमा जोड्न आवश्यक काम गरिरहेका छौँ । किसानलाई तरकारी खेती, व्यावसायिक बाख्रापालन, विभिन्न सीपमूकल तालिम दिँदै आएका छौँ । अहिले व्यावसायिक कृषिमा लाग्नेको सङ्ख्या बढ्दो छ ।’ किसानले उत्पादन गरेको कृषि उपजलाई बजारीकरणमासमेत सहयोग गर्ने लक्ष्य रहेको वडाध्यक्ष राईले जानकारी दिए । वडाको बजेट बाहेक अन्य सङ्घ संस्थासँग सहकार्य गरेर पनि कृषिका कार्यक्रम सञ्चालन गर्दै आएको उनको भनाइ थियो । वडामा विनियोजन हुने बजेटले सबै क्षेत्रलाई समेट्नुपर्ने भएकाले अन्य निकायसँग सहकार्य गरेर किसानलाई प्रोत्साहन गर्दै आएको उनले बताए । ‘वडामा आउने बजेटले सबै पक्षलाई समेट्न समस्या हुन्छ’, वडाध्यक्ष राईले भने, ‘विभिन्न निकायसँग सहकार्य गरेर कृषि क्षेत्रको विकासमा जोड दिएका छौँ । कृषिमा वडालाई नमुनायोग्य बनाउने लक्ष्य लिएका छौँ ।’ रासस