रमेश शर्मा बने नेपालको लागि किर्गिजस्तानको अवैतनिक महावाणिज्यदूत

काठमाडौं । प्रतिष्ठित निर्माण व्यवसायी रमेश शर्मा नेपालको लागि किर्गिजस्तानका अवैतनिक महावाणिज्यदूत नियुक्त भएका छन् । शर्मालाई बिहीबार परराष्ट्र मन्त्रालयमा शिष्टाचार महापाल दिलिपकुमार पौडेलले अवैतनिक महावाणिज्यदूतको नियुक्तिपत्र हस्तान्तरण गरेका हुन् । नेपाल निर्माण व्यवसायी महासंघका सल्लाहकार एवं पूर्व अध्यक्ष शर्मा गुणस्तरीय कार्यका लागि देश विदेशमा ख्याति कमाएको शर्मा एण्ड कम्पनीका प्रबन्ध निर्देशक हुन् । निर्माण व्यवसायीको पृष्ठभूमिबाट अवैतनिक महावाणिज्यदूत नियुक्त हुने शर्मा पहिलो व्यक्ति हुन् । नेपाल र किर्गिजस्तानबीचको सम्बन्धलाई अझ प्रगाढ बनाइ नेपालमा किर्गिजस्तानको लगानी भित्र्याउन आफूले विशेष पहल गर्ने शर्माले बताए । निर्माण व्यवसाय लगायत अन्य विविध क्षेत्रमा समेत लगानी गरेका शर्मा विभिन्न सामाजिक संस्थामा पनि उत्तिकै क्रियाशिल हुन् ।

सलिकोको अध्यक्षमा पुनः मुल, सञ्चालकमा ५ जना निर्वाचित

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) को अध्यक्षमा पुनः मनोहर दास मुल नियुक्त भएका छन् । चैत २७ गते बसेको सञ्चालक समितिको बैठकले मुललाई पुनः अध्यक्ष पदमा नियुक्त गरेको हो । सोहि दिन सम्पन्न कम्पनीको २७औं वार्षिक साधारण सभाले मूलसहित ६ जनालाई सञ्चालक समितिमा निर्विरोध निर्वाचित गरेको छ । संस्थापक सेयरधनीको समूह क बाट बैदेशिक लगानीकर्ता सिलिन्को इन्स्योरेन्स पिएलसी, श्रीलंकाबाट अजिथ रोहण गुणवद्र्धना मनोनित भएका छन् । त्यस्तै, लोकमान्य गोल्छा, र सिद्धार्थमणि राजभण्डारी निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै, कम्पनीको सर्वसाधारण सेयरधनीकोतर्फबाट अरुणराज श्रेष्ठ र बिजन भट्टराई निर्विरोध निर्वाचित भएका छन् ।

मार्चमा दक्षिण कोरियाको बेरोजगारी दर ९.१ प्रतिशतले घट्यो

कोरिया । मार्च महिनामा दक्षिण कोरियाको बेरोजगारी दर शिक्षा सेवा, उत्पादन र थोक तथा खुद्रा क्षेत्रमा माग घटेको कारण घटेको श्रम मन्त्रालयको तथ्याङ्कले सोमबार देखाएको छ । रोजगार र श्रम मन्त्रालयको तथ्याङ्क अनुसार रोजगार खोज्नका लागि मार्चमा नयाँ आवेदकहरूको सङख्या एक लाख ३० हजार ८०० पुगेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ९.१ प्रतिशतले कमी हो । फेब्रुअरीमा दोहोरो अङ्कमा झरेको यो सङ्ख्या लगातार दोस्रो महिना पनि तल झरेको हो । शिक्षा सेवा, उत्पादन, थोक तथा खुद्रा उद्योगमा लाभग्राहीको अवस्थामा कमी आएको छ । तर वित्त, बिमा, सूचना तथा सञ्चार क्षेत्रमा भने गत महिनाको तथ्याङ्कमा वृद्धि भएको छ । बेरोजगारीको अत्यधिक सङ्ख्यालाई लिएर रोजगारी खोज्न मद्दत गर्न सरकारले रोजगारी खोज्न सघाउने प्रस्ताव गरेको छ । यो कार्यक्रम राज्यको रोजगार बिमा कोषद्वारा वित्त पोषित छ । रोजगार प्राप्तकर्ताहरूको सङ्ख्या मार्चमा छ लाख ५४ हजार ६०० थियो । जुन एक वर्ष अघिको समान अवधिको तुलनामा तीन प्रतिशतले कम हो । यसले १४ महिनाको पहिलो गिरावटलाई अङ्कित गरेको छ । कूल रोजगारी प्राप्तिको अवस्था ६.२ प्रतिशतले घटेर ९६९.६ अर्ब वोन (७१६.७ मिलियन अमेरिकी डलर) मा झरेको छ । रासस