पञ्चकन्या माई हाइड्रोपावरको साधारण सभा सम्पन्न, दुई सञ्चालक निर्वाचित

काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावरको सातौं र आठौं वार्षिक साधारण सभा अध्यक्ष प्रेम बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ । उक्त सभा मंगलबार कोपुण्डोल, ललितपुरमा सफलता पुर्वक सम्पन्न भएको हो । उक्त सभामा संस्थापक सेयर सदस्य, सर्व साधारण सेयर सदस्य, कम्पनीका कर्मचारी, पत्रकारहरु तथा शुभचिन्तकहरुको उल्लेख्य उपस्थिति रहेको थियो । उक्त सभाबाट सर्वसाधारण सेयरधनी (समुह ख) को तर्फबाट प्रतिनिधित्व गर्ने १ जना सञ्चालक र स्वतन्त्र सञ्चालक १ जनाको निर्वाचन तथा मनोनयन कार्यक्रम रहेकोमा सर्वसाधारण सेयरधनीको तर्फबाट सनिल पक्का र स्वतन्त्र संचालकमा बरदान गिरी निर्वाचित तथा मनोनय गरी नयाँ कार्य समितिको गठन गरिएको थियो । साथै कार्यक्रममा कम्पनीको आय व्यय विवरण, नाफा नोक्सानको वासलात, वार्षिक प्रतिवेदन र भावी कार्यक्रम प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रममा कम्पनीका सञ्चालक र सेयर सदस्यहरुबाट मन्तव्य तथा सञ्चालक तथा सेयर सदस्यबीच गहन अन्तकृया समेत भएको थियो ।  

आइएमई ग्रुपद्वारा सञ्चालित भेन्चर हायर पर्चेजको सीईओमा बाबुराम शर्मा नियुक्त

काठमाडौं । आइएमई ग्रुपद्वारा सञ्चालित भेन्चर हायर पर्चेज कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा बाबुराम शर्मा नियुक्त भएका छन् । भेन्चर हायर पर्चेजमा बिजनेस हेडको रुपमा साढे ३ वर्ष अगाडि प्रवेश गरेका शर्मालाई मंगलबार बसेको बोर्ड बैठकले कम्पनीको महाप्रबन्धकबाट सीईओमा बढुवा गर्ने निर्णय गरेको हो । डेढ दशकभन्दा बढी आइएमई ग्रुपमा काम गरेका शर्मा आइएमई फाइनान्सबाट ग्रुपमा प्रवेश गरेका थिए । पछि फाइनान्स बैंकसँग मर्ज भएपछि ४ वर्षआइएमई मोटर्स वीरगन्जको प्रमुख समेत भएर काम गरिसकेका छन् । सरकारी जागिर छोडेर बैंकिङ सेवातिर लागेका उनले बैंकिङ्ग र अटोमोबाइल क्षेत्रमा विशेष दख्खल राख्छन् । त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र र अंग्रेजीमा स्नातकोत्तर गरेका उनले म्यानेजमेन्ट डेभलपमेन्ट कलेज (म्यान)बाट ईएमबीए समेत गरेका छन् । आइएमई ग्रुप अन्तर्गतको वित्तीय कम्पनी भेन्चर हायर पर्चेज नेपाल राष्ट्र बैंकबाट हायर पर्चेज कारोबार गर्न इजाजत प्राप्त संस्था हो । ३० करोड चुक्ता पुँजी रहेको कम्पनीले अहिले बजारमा २ अर्बभन्दा बढी लगानी गरेको छ । लगातार ४ वर्षदेखि नाफामा रहेको कम्पनीलाई आगामी दिनमा पब्लिक लिमिटेड कम्पनी बनाउने र छिट्टै आईपीओ समेत निष्काशन गर्ने तयारी रहेको कम्पनीले जनाएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणको कार्यबाहक अध्यक्षमा नवराज अधिकारी

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको कार्यबाहक अध्यक्षको जिम्मेवारी नवराज अधिकारीलाई दिइएको छ । सरकारले अर्को व्यवस्था नभएसम्मका लागि रिक्त पदमा प्राधिकरणका सदस्य अधिकारीलाई उक्त पदको जिम्मेवारी दिएको हो । सरकारले दूरसञ्चार नियमावलीको नियम (३) (ङ) बमोजिम अधिकारीलाई कार्यवाहक अध्यक्ष तोक्ने निर्णय गरेको हो । सरकारले नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत दिएका राजीनामा स्वीकृत गरेको छ । त्यस्तै, रिक्त अध्यक्ष पदमा नियुक्तिका लागि सिफारिस गर्न मन्त्रालयका सचिवको संयोजकत्वमा समिति गठन गर्ने निर्णय पनि गरेको छ ।