एमाले कञ्चनपुर अध्यक्षमा लक्ष्मी बुढा सर्वसम्मत

महेन्द्रनगर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कञ्चनपुरको नवौँ जिल्ला अधिवेशनबाट लक्ष्मी बुढा अध्यक्ष पदमा सर्वसम्मत चयन भएका छन् । यसअघि कार्यवाहक अध्यक्ष रहेका बुढालाई नवौँ अधिवेशले सर्वसम्मत अध्यक्ष बनाएको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा अध्यक्षसहित पदाधिकारीहरूले सोमबार राति पद तथा गोपनियताको शपथ लिएका छन् । निर्वाचनका बेला बनाइएको अध्यक्षमण्डलले पदाधिकारीमा आकाङ्क्षी सबै उम्मेदरवारसित छलफल गरेर जिल्ला नेतृत्वसहित पदाधिकारी सर्वसम्मत निर्वाचित गरेको हो । त्यस अवसरमा अध्यक्ष ओलीले पार्टीको ‘मिसन–८४’ का लागि जिल्ला नेतृत्वलाई केन्द्रित गर्न निर्देशन दिए । सबैले पार्टीलाई बलियो बनाउन जोड दिनुपर्ने बताउँदै उनले गुटबन्दीबाट मुक्तभएरक काम गर्न आग्रह गरे । गत बिहीबार नवौँ जिल्ला अधिवेशन अध्यक्ष ओलीले नै उद्घाटन गरेका थिए ।

शुक्लाफाँटाका बेरोजगारलाई सय दिनको रोजगारी

कञ्चनपुर । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत शुक्लाफाँटा नगरपालिकामा ५९ जनालाई सय दिनको रोजगारी उपलब्ध गराइएको छ । कार्यक्रमअन्तर्गत रोजगारीका लागि तीन सय ९० महिला र ७३ पुरुष गरी चार सय ६३ जना सूचीकृत भएका छन् । सूचीकृत भएकामध्ये ५९ जनालाई रोजगारीमा संलग्न गराइएको हो । नगरपालिकाको रोजगार शाखाका प्रमुख कृष्ण भट्टका अनुसार युवा रोजगारीका लागि रुपान्तरण पहलअन्तर्गत ३४ र कामका लागि परिश्रममा आधारित सामुदायिक आयोजनाअन्तर्गत २५ जनालाई रोजगारी उपलब्ध गराइएको छ । रोजगारीमा संलग्न ५९ जनामा ९५ प्रतिशत महिला छन् । चालु आर्थिक वर्षका स्वीकृत ६० वटा आयोजनामध्ये १८ आयोजनालाई कार्यान्वयनमा ल्याई नगरपालिकाका बेरोजगारहरूलाई रोजगारीमा संलग्न गराइएको शाखा प्रमुख भट्टले बताए । ‘कार्यक्रमको मापदण्डअनुरुप दैनिक ६ सय २८ रुपैयाँ न्यूनतम पारिश्रमिक दिने गरी सय दिनको रोजगारी उपलब्ध गराएका छौँ,’ उनले भने, ‘रोजगारीका लागि सूचीकृत भएकामध्ये दलित, आदिवासी जनजाति, गरिबीको रेखामुनि रहेका व्यक्तिलाई छनोट गरी रोजगारीमा संलग्न गराएका छौँ ।’ रोजगारीमा संलग्नलाई सम्बन्धित वडा कार्यालयको साझेदारीमा भू क्षय हुँदै गरेका क्षेत्रमा जैविक तटबन्ध निर्माण, बगैँचा निर्माण तथा वृक्षरोपण, नाली सरसफाइ तथा खोदान र नयाँ सडकको ट्रयाक खोल्ने कार्यमा लगाइएको नगरपालिकाको रोजगार शाखाका प्राविधिक सहायक धिरज ऐरले बताए । ‘आर्थिक अवस्था कमजोर हुँदा मजदुरी खोज्दै हिँडनुपर्ने अवस्था थियो,’ नगरपालिकाको वडा नं ९ का दुर्गादेवी तिरुवाले भनिन्, ‘नगरपालिकाका बेरोजगारलाई सूचीकृत गर्न सूचना टाँस गरिएको देखेपछि निवेदन दियौँ, सूचीकृत भएको जानकारी पायौँ, त्यसको केही महिनामा रोजगारीमा छनोट भएको जानकारी पाइयो ।’ अहिले सय दिनको रोजगारीमा संलग्न भई काम गर्दै आएकाले अरु क्षेत्रमा मजदुरी खोज्न जानु नपरेको उनले बताइन् । ‘बाह्य क्षेत्रमा कामदारलाई दैनिक ज्यालाबापत रु पाँच सयमात्रै उपलब्ध हुने गरेको छ,’ उनले भनिन्, ‘महिला भएपछि सबैले मजदुरी दिँदैनन्, सहजरूपमा कार्यक्रमअन्तर्गत दैनिक ज्याला रु छ सय २८ पाइन थालेको छ, रोजगारी पाउँदा घरखर्च सहजरूपमा चल्न थालेपछि निकै खुसी छौँ ।’ गत आर्थिक वर्षमा नगरपालिकामा पाँच सय ७७ जना प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचीकृत भएकामा ८९ जनालाई छनोट गरी रोजगारीमा संलग्न गराइएको थियो ।

विकास, आर्थिक मामिला तथा सुशासन समितिको सभापतिमा पन्त चयन

काठमाडौं । राष्ट्रियसभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको सभापतिमा नेपाली कांग्रेसका सांसद कमलादेवी पन्त सर्वसम्मत रुपमा निर्वाचित भएकी छिन् । समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले सांसद पन्तलाई सभापतिमा चयन गरेको हो । नवनिर्वाचित सभापति पन्तलाई राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पद तथा गोपनीयताको शपथ गराए । उनले नवनिर्वाचित सभापति पन्तलाई बधाई तथा शुभकामनासमेत दिए। राष्ट्रियसभा नियमावलीअनुसार समितिको सभापति पदमा निर्वाचित सदस्यले राष्ट्रियसभाका अध्यक्ष समक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था रहेको छ । नवनिर्वाचित सभापति पन्तले शपथ लगत्तै पद बहाली गरिन् । समितिको सभापतिको कार्यकाल दुई वर्षको हुन्छ । सो अवसरमा सभापति पन्तले समितिको कार्यक्षेत्रबमोजिम सुशासन कायम गर्न सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिन् । उनले दिगो विकासका लक्ष्य हासिल गर्न आर्थिक सबलीकरण, जलवायु परिवर्तनको जोखिम न्यूनीकरणलगायत महत्वपूर्ण विषयलाई प्रभावकारी रुपमा उठाउने बताइन् । सभापति पन्तले समितिको कार्यक्षेत्रसँग जोडिएका विषयलाई ‘टिमवर्क’ (समूहमा मिलेर गरिने काम) मार्फत प्रभावकारी कार्यान्वयनका लागि सरकारलाई समितिकातर्फबाट सहजीकरण गर्ने बताइन्यो । भ्रष्टाचार न्यूनीकरण नभएसम्म सुशासन प्रवर्द्धन नहुने भन्दै उनले त्यसतर्फ समिति क्रियाशील रहने बताइन् ।