सिन्धु विकास बैंकको डीसीईओमा गणेश कुमार केसी नियुक्त

काठमाडौं । सिन्धु विकास बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)मा गणेश कुमार केसी नियुक्त भएका छन् । मंसिर २६ गते बसेको बैंक संचालक समितिको बैठकले केसीलाई डीसीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त डीसीईओ केसीले पौष १ गतेदेखि कार्यभार सम्हाल्नेछन् ।

अख्तियारको प्रवक्तामा नरहरि घिमिरे नियुक्त

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्तामा नरहरि घिमिरे नियुक्त भएका छन् । हालका प्रवक्ता भोला दहालको सरुवा भएसँगै उनको ठाउँमा सहसचिव घिमिरेलाई नयाँ प्रवक्ताको रुपमा तोकिएको हो । नवनियुक्त प्रवक्ता घिमिरेले मंसिर २५ गतेदेखि नै आफ्नो जिम्मेवारी सम्हाल्ने छन् ।

साझा यातायातमा सीईओका लागि दरखास्त आह्वान

काठमाडौं । साझा यातायातमा रिक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको छ । कम्पनीले सोमबार सूचना प्रकाशित गर्दै रिक्त रहेको सीईओको पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गरिने जनाएको छ । कम्पनीका अनुसार दरखास्त दिने व्यक्तिको कम्तीमा स्नातकोत्तर वा सो सरह उत्तीर्ण गरी सार्वजनिक वा सङ्गठित सङ्घ संस्थामा दशौँ तह वा सो सरहको श्रेणीको जिम्मेवारी लिइसकेको हुनुपर्नेछ । त्यस्तै सहकारी वा सार्वजनिक प्रशासन वा यातायात व्यवस्थापनको क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव हासिल गरेको, दरखास्त दिने अन्तिम मितिसम्म पैँतिस वर्ष उमेर पूरा भएको र दरखास्त दिने अन्तिम मितिसम्म अन्ठाउन्न वर्ष उमेर ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ । इच्छुकले ४५ दिनभित्रमा आवेदन दिन सक्ने कम्पनीको जनाएको छ ।