त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा. बराल नियुक्त
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. केशरजङ्ग बराल नियुक्त भएका छन् । विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज त्रिविको रिक्त उपकुलपति पदमा बराललाई नियुक्त गरेको उनको सचिवालयले जनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई नेतृत्वमा रहेको उपकुलपति छनोट तथा सिफारिस समितिले बरालसहित चित्रबहादुर बुढाथोकी र टङ्कनाथ धमलाको नाम सिफारिस गरेको थियो । उपकुलपति पदका लागि दरखास्त दिएका ४३ मध्ये प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि १४ जना छानिएकामा प्रस्तुतीकरण एवं अन्तर्वार्तापछि नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरिएको थियो । शैक्षिक योग्यताको आधार, तालिम, अनुसन्धानमूलक लेख, अन्तर्वार्ता एवं प्रस्तुतीकरणका आधारमा नियुक्ति गरिएको जनाइएको छ । रासस
बीमा सर्भेयर संघको अध्यक्षमा ढकाल पुनःनिर्वाचित
ललितपुर । बीमा सर्भेयर संघ, नेपाल (निसा) को अध्यक्षमा मोहन पुरुष ढकाल पुनःनिर्वाचित भएका छन् । संघको हालै सम्पन्न १५ औं वार्षिक साधारणसभा तथा नवौं अधिवेशनबाट ढकाल आगामी दुई वर्षका लागि पुनः अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट उपाध्यक्षमा घनश्याम लेखक, महासचिवमा विकास महर्जन, सचिवमा प्रवेश पौडेल र कोषाध्यक्षमा भानु कँडेल निर्वाचित भएका छन् । यसैगरी संघका सहस्यहरुमा राजेश घिमिरे, सरोज श्रेष्ठ र नविन भट्ट रहेका छन् । एसोसिएसनको संस्थापक महासचिव हुँदै ढकालले धेरै पटक कार्यसमितिमा उपाध्यक्ष तथा एक कार्यकाल अध्यक्षको जिम्मेवारी बहन गरिसकेका छन् । नवनिर्वाचित अध्यक्ष ढकालले आफ्नो नेतृत्वमा सर्भेयरहरुको साझा संस्था निसालाई नयाँ आयामबाट माथि उठाउन प्रतिवद्ध भएर लाग्ने बताउँदै समग्र बीमा व्यवसायका सरोकारवाला सबै निकायबाट सहकार्य र सहयोगको अपेक्षा गरेका छन् ।
नेपाल पुनर्बीमा कम्पनीको सीईओका लागि दरखास्त आह्वान
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि दरखास्त आह्वान गरेको छ । कम्पनीले योग्यता पुगेका इच्छुक व्यक्तिलाई २१ दिनभित्र सिलबन्दी आवेदन दिन सूचना निकालेको हो । बीमा ऐन, २०७९ बमोजिम शैक्षिक योग्यता र अनुभव हासिल गरेका इच्छुक योग्य नेपालीले दरखास्त पेस गर्न सक्नेछन् । सीईओमा आवेदन दिन बीमा, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित, अर्थशास्त्र वा कानुन विषयमा कम्तीमा स्नातकोतर वा सोसरहको उपाधि हासिल हुनुपर्नेछ । व्यवस्थापक तहमा बीमा क्षेत्रमा भए कम्तीमा ५ वर्ष वा आर्थिक तथा बैंक वित्तीय क्षेत्रमा भए ८ वर्ष एवं दुवै क्षेत्रमा भएमा १ वर्षको अनुभवसहित कम्तीमा ७ वर्षको अनुभव भएको हुनुपर्नेछ । यसका साथै चार्टर्ड एकाउन्टेन्सी वा सोही विषयहरूमा स्नातक उपहाधि हासिल गरी व्यवस्थापक तहमा बीमा क्षेत्रमा भए कम्तीमा १० वर्ष, बैंक तथा वित्तीय क्षेत्रमा भए १५ वर्ष तथा दुवै क्षेत्रमा भए बीमामा एक वर्षको अनुभवसहित कम्तीमा १२ वर्षको अनुभवन भएक हुनुपर्नेछ । दरखास्त दिने अन्तिम मितिसम्म ६५ वर्ष पूरा नभएको हुनु पर्नेछ । दर्खास्त दिंदा शैक्षिक योग्यता, अनुभव, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, वैयक्तिक विवरण र २ प्रति पासपोर्ट साइजको फोटो तथा पाँच हजार शब्द नबढ्ने गरी व्यवसायिक कार्ययोजनाको चार प्रति खामबन्दी गरी कम्पनीमा पेस गर्नु पर्नेछ ।