ज्योति विकास बैंकको सीईओमा कपिल ढकाल, को हुन् उनी ?
काठमाडौं । ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कपिल ढकाल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको मंसिर २० गते बसेको बैठकले ढकाललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि सीईओ रहेका श्रीचन्द्र भट्टले राजीनामा दिएपछि ढकाललाई कामु सीईओ जिम्मेवारी दिएको थियो । बुधबारदेखि लागू हुने गरी उनलाई सीईओको जिम्मेवारी दिईएको कम्पनी सचिव बलदेव थापाले जानकारी दिए । ढकालले तत्कालीन हाम्रो विकास बैंकको सीईओ भएर सन् २०१० देखि सन् २०१६ सम्म ६ वर्ष काम गरिसकेका छन् । ढकालले यसअघि एनआईसी एसिया बैंकको व्यवस्थापकीय भूमिकामा रहेर काम गरेका थिए । आईसीआईसीआई बैंक र डिलोइट इण्डियामा समेत काम गरिसकेका उनीसँग बैंकिङ्ग क्षेत्रको डेढ दशक बढीको अनुभव छ । ढकाल एनआईसी एशिया बैंकमा हुँदा एनआईसी एशिया क्यापिटल र एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको अध्यक्ष समेत हुने अवसर प्राप्त गरेका थिए । उनी चार्टर्ड एकाउन्टेन्ट्स हुन् भने अर्थशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गरेका हुन् । उनको स्थायी ठेगाना रुद्रपर ४ रुपन्देही हो ।
नेपाल इन्स्योरेन्सको सञ्चालकमा सजल मास्के नियुक्त, पुस १३ गते बोलायो एजीएम
काठमाडौं । नेपाल इन्स्योरेन्सको सञ्चालकमा सजल मास्के नियुक्त भएकी छिन् । मंगलबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले मास्केलाई सञ्चालक पदमा नियुक्त गरेको हो । नेपाल इन्स्योरेन्सको सञ्चालक समितिमा आइएमई इन्स्योरेन्सबाट प्रतिनिधित्व गर्दै आएका सञ्चालक दिवाकर पौडेल बिदा भएसँगै कम्पनीले उक्त पदमा मास्केलाई नियुक्त गरेको हो । मास्के यसअघि एशियन लाइफ इन्स्योरेन्सको सञ्चालक थिइन् । उनले हालै मात्रै उक्त पदबाट राजीनामा दिएकी हुन् । नेपाल इन्स्योरेन्स कम्पनीबाट आईएमई समूह बाहिरिएसँगै उक्त समूहबाट प्रतिनिधित्व गर्दै आएका सञ्चालक बाहिरिएका हुन् । गत साउनमा मात्रै नेपाल इन्स्योरेन्समा रहेको आईएमई समूहको २१ लाख ५७ हजार ६१५ कित्ता अर्थात १५ प्रतिशत संस्थापक सेयर एशियन लाइफ इन्स्योरेन्स कम्पनीले किनेको थियो । साथै, मंगलबार बसेको सोही बैठकले आगामी पुस १३ गते वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको छ ।
अटोचालक महिला भन्छिन् : इमानदार भएर काम गरे जुनसुकै पेसाले पनि सन्तुष्टि दिनेरहेछ
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका- ६ की अनिता सारुलाई हरेक दिन सबेरै घरधन्दा सक्ने हतारो हुन्छ । उनी भन्छिन्,’जतिसक्दो चाँडो घरको काम सक्यो, उति चाँडो अटो लिएर निस्कन पाइन्छ ।’ उनी छोरीसँगै अटो लिएर बिहान साढे ९ बजे घरबाट निस्कन्छिन् । छोरीलाई स्कुल छाडेपछि अनिताको अटोको काम सुरु हुन्छ । महिलाले सवारीसाधन चलाउने काम गर्नु हुँदैन भन्ने सोचलाई परिवर्नन गर्न र आर्थिक उपार्जनका लागि पनि अटो चलाएको अनिताको भनाइ छ । ‘अटो चलाउन थालेको पाँच वर्ष बितिसक्यो, परिवारको पूरापुर सहयोग भएर यहाँसम्म आएको छु’, उनले भनिन्,’महिला भएर पनि अटो चलाउन सक्छौँ भन्नेले मेरो मेहनत देखेर अहिले प्रशंसा गर्न थालेका छन् ।’ अटो चलाउन थालेपछि अनिताको दैनिकी फेरिएको छ । आम्दानी बढेको छ, घर-घडेरी जोडिएको छ । छोराछोरी पढाउन सजिलोमात्रै भएको छैन, विदेश गएका श्रीमान् पनि श्रीमतीको मेहनत र कमाई देखेर स्वदेश फर्किएका छन् । ‘पहिले सानो एउटा घर थियो, अहिले अर्को पक्की घर बनाएकी छु’, उनले भनिन्,’मेरो काम देखेर श्रीमान् विदेश नजाने हुनुभएको छ, यही पसल गर्ने योजना बनाएका छौँ।’ महिलाहरू आत्मनिर्भर बन्दा हिंसाबाट गुज्रिनु नपर्ने उनको अनुभव छ । सम्पत्तिमा महिलाको पहुँच बढाउन सक्ने हो भने महिलामाथिको विभेद र हिंसा घटाउन सकिने उनले बताइन् । ‘लगनशील र इमानदार भएर काम गरे जुनसुकै पेसाले पनि सन्तुष्टि दिनेरहेछ’, उनले भनिन्,’महिलाले सीप सिक्न र आत्मनिर्भर बन्न जरुरी छ, यसबाट महिलाहरूकै मेहनतले घर सम्पत्ति जोडेका उदाहरण पनि भेटिन्छन् ।’ महिलालाई सीप सिक्न र स्वरोजगारमा जोडिएर आत्मनिर्भर बन्न अनिताको सुझाव छ । यसले परिवार र समाजबाट हुने हिंसा घटाउने उनको बुझाइ छ । अहिले नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा अनिताजस्तै अरू महिला पनि सवारी चालक बनेका छन् । गैँडाकोटमा दुई जना महिला व्यावसायिकरूपमा अटो चालक रहेका छन् । सङ्गठित भएका चालकहरूको सम्पर्कमा दुई जनामात्र महिला छन् । रासस