इप्पानको प्रमुख कार्यकारीमा भीम गौतम नियुक्त
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)को प्रमुख कार्यकारीमामा भीम प्रसाद गौतम नियुक्त भएका छन् । ऊर्जा उत्पादकहरुको छाता संस्था इप्पानले गौतमलाई बुधवार ३ वर्षका लागि प्रमुख कार्यकारीमा नियुक्त गरेको हो । इप्पान अध्यक्ष गणेश कार्कीले गौतमलाई प्रमुख कार्यकारीको रुपमा इप्पानमा स्वागत गर्दै, गौतमको कार्यकालमा इप्पानले नयाँ उचाईं हासिल गर्ने विश्वास व्यक्त गरे । इप्पानका नवनियुक्त प्रमुख कार्यकारी गौतमले पनि इप्पानलाई नयाँ उचाईं दिन आफूले सतप्रतिशत योगदान दिने बताए । काभ्रेपलाञ्चोकको बनेपाका गौतमसँग दुई दशक लामो पत्रकारिताको अनुभव छ भने पछिल्लो १५ वर्षदेखि ऊर्जा र पूर्वाधार क्षेत्रका विविध मुद्दामा कलम चलाउँदै आएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) का पूर्व अध्यक्षसमेत रहेका गौतमले राजधानी दैनिक, सौर्य दैनिक, रेडियो नेपाल, इमेज च्यानल, नेपाल वान च्यानल, कारोबार दैनिक हुँदै पछिल्लो समय नेपाल पूर्वाधार डट कममा सम्पादकीय नेतृवमा थिए । नयाँ बानेश्वर स्थित सेफर्ड कलेजमा पत्रकारिता अध्ययपन गराउने गौतम अनुसन्धान गर्ने संस्था सिआरआई नेपालका कार्यकारी निर्देशकसमेत हुन् । उनले त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता विषयमै एमफिल गरेका छन् । देशभरका ४५० भन्दा बढी ऊर्जा उत्पादकहरु आवद्ध रहेको इप्पान ऊर्जा उद्यमीहरुको साझा संस्था हो । इप्पानमा आवद्ध संस्थामध्ये १६३ आयोजनाबाट १ हजार ७०० मेगावाट विद्युत उत्पादन हुनुका साथै, ३ हजार २०० मेगावाट क्षमताका १३६ आयोजनाहरु निर्माणाधिन र ३ हजार ५०० मेगावाट क्षमताका १२६ आयोजनाहरु निर्माणमा जाने तयारीमा छन् । क्षेत्रगत लगानीका हिसबाले सबैभन्दा धेरै लगानी भएको ऊर्जा क्षेत्रमा नेपालको निजी क्षेत्रबाट १३ खर्ब रुपैयाँ लगानी भइसकेको छ ।
खेर गएको अल्लोबाट आयआर्जन गर्दै महिला, गाउँघरमै रोजगारी सिर्जना गर्न सकिने
बझाङ । जिल्लाको तलकोट गाउँपालिका–६ का स्थानीय महिलाले गाउँघरमा खेर गइरहेको अल्लो प्रशोधन गरी अल्लोको धागो र अल्लोको कपडा बनाई आयआर्जन गर्न थालेका छन् । यस क्षेत्रमा प्रशस्तमात्रामा अल्लो उपलब्ध हुने भए तापनि त्यसबाट कसैकसैले डोरी बनाएर गाईबस्तुलाई बाँध्नका लागि प्रयोग गर्थे भने बाँकी ज्ञान सीपको अभावका कारण जङ्गलमै कुहिएर खेर जाने गरेको थियो । अहिले स्थानीयस्तरमै अल्लोको डोरी, अल्लोको कपडा र अल्लोको झोलाहरु बनाउने तालिम लिएपछि यहाँका महिलाहरुले तलकोट गाउँपालिका, घरेलु तथा साना उद्योग कार्यालय, आन्तरिक राजस्व कार्यालयका रुपमा दर्ता गरी व्यावसायिकरुपमा अल्लोको धागो र अल्लोको कपडा र अल्लोको अन्य सामान उत्पादन गर्न सुरु गरेका छन् । जिआइजेड र तलकोट गाउँपालिकाले अल्लोको महत्व र उपयोगिताबारे जानकारी गराएपछि उनीहरु व्यवसाय सञ्चालन गर्न अग्रसर भएका हुन् । जङ्गलमा त्यतिकै खेर गइरहेको अल्लोबाट धागो र कपडाहरु उत्पादन गरी प्रत्यक्ष र अप्रत्यक्षरुपमा घरमै रोजगारी सिर्जना गर्ने र समूहका महिलाहरु आत्मनिर्भर हुने भएपछि स्थानीय महिला व्यवसायमा लाग्न हौसिएका छन् । एक महिनासम्म सञ्चालन गरिएको तालिममा अल्लोको धागो बनाउने र त्यसबाट कपडा बुन्ने प्रशिक्षण दिइएको थियो । तालिममा २८ महिला र दुई पुरुष गरी ३० जनाको सहभागिता रहेको थियो । समूहका महिलाले अल्लो व्यवसायको महत्व बुझी अल्लो व्यवसाय सञ्चालन गर्न सीप तालिम र आवश्यक पर्ने मेसिन औजारहरुको माग गरेपछि मेसिन औजार र तालिम सञ्चालन खर्च गाउँपालिकाले व्यहोरेको थियो । उनीहरुलाई व्यवसाय सञ्चालन गर्न मेसिन औजारका साथै कच्चा पदार्थहरु खरीद गर्न गाउँपालिकाले नगद एक लाख ९० हजार सहयोग गरेको थियो भने व्यवसाय दर्ता गर्न र अन्य प्राविधिक सहयोग जिआइजेडको रिप कार्यक्रमले गरेको थियो । एक महिनाको तालिमपछि देखिएको उत्साहले उनीहरुलाई थप दक्ष बनाउन र थप मेसिन खरिद गर्न कार्यक्रमले सहयोग गर्न पहल गरेको कार्यक्रमका क्लस्टर कोर्डिनेटर सुरतबहादुर चन्दको भनाइ छ । तालिमका सहभागीहरुले अहिले व्यवसायबाट अल्लोको धागोबाट बुनिएका दोसल्ला र टोपीहरु उत्पादन गरेका छन् । कतिपयले अल्लोको धागो काठमाडौंमा पठाएर एक पटकमै रु २० हजार आम्दानी पनि गरेका छन् । तालिमपछि आफूहरु व्यवसायप्रति आकर्षित हुनुको साथै सामूहिक भावनाको पनि विकास भएको औद्योगिक ग्राम उत्पादन समूहकी अध्यक्ष रमिला शाहीले बताइन्। उनी भन्छिन्, ‘सबै समूहका महिलाहरु मिलेर स्थानीयस्तरमा कुहिएर जान लागेको कच्चा पदार्थको सदपयोग गरी अरुलाई पनि रोजगारी दिने सोच बनाएका छौँ ।’ कतिपयले घरायसी प्रयोजनका लागि अल्लोका सामग्रीहरु लैजाने गरेको र कतिपयले उपहारका लागि पनि लैजाने गरेको उनी बताउँछिन् । अहिले समूहले एक लाख २२ हजार पाँच सय धागो र कपडा बचेर आमदानी गरेको छ । धागो रु पाँच सय प्रतिकिलो र कपडा एक हजार दुई सय मिटरका दरले बिक्री भएको थियो । जङ्गलमा खेर गइरहेको अल्लोको प्रशोधन गरी गाउँघरमै रोजगारी सिर्जना गर्न सकिने भएकाले लगानी गरिएको पालिका अध्यक्ष कलकबहादुर रोकायाले बताए । उनले भने, ‘युवा पैसा कमाउन विदेश जान्छन् तर यहाँ पैसा फलाउने कच्चा पदार्थ कुहिएर गएको छ, कुहिएर गइरहेको अल्लोलाई प्रशोधन गर्दा कम लगानीमै राम्रो आम्दानी गर्न सकिन्छ । यसले पालिकाका विपन्न वर्गका वासिन्दाको जीवनस्तरमा सुधार ल्याउन मद्दत पुग्दछ ।’ अल्लो व्यवसायबाट, अल्लो सङ्कलन, अल्लोको धागो उत्पादन, अल्लोको कपडा उत्पादन र अल्लोको अन्य विभिन्न वस्तुहरु उत्पादन गर्दा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा धेरै व्यक्तिले स्थानीयस्तरमै रोजगारी सिर्जना गर्न सकिने सम्भावना रहेको उनको भनाइ छ । बझाङको तलकोट गाउँपालिकाले बाहिरबाट आयात हुने खादा, ब्याज र मालालाई रोक लगाउने निर्णय गरेको छ । केही महिनाअघि बसेको कार्यपालिकाको बैठकबाट फजुल खर्च घटाउने उद्देश्यले बाहिरबाट ल्याइने खादा, ब्याजहरु र मालाहरुलाई रोक लगाउने निर्णय गरेको तलकोट गाउँपालिका–१ का वडाध्यक्ष रामचन्द्र रावलले बताए । कुनै पनि सार्वजनिक कार्यक्रमहरु सञ्चालन गर्दा पालिकाले नै उत्पादन गरेका अल्लोबाट प्रशोधित गरी तयार पारीएका खादा र टोपीमात्रै प्रयोग गर्न पाउने नियम बनाइएको छ । गाउँपालिकाले आयोजना गरेका कार्यक्रममा समेत उक्त अल्लोबाट उत्पादित खादा, टोपीलाई प्रयोग गर्ने गरेको गाउँपालिका उपाध्यक्ष पार्वती कुँवर भण्डारीले बताए । पालिकाले आफ्नै मातहतमा उद्योग ग्राम सञ्चालनमा समेत ल्याएको छ । उक्त उद्योगग्राममा अल्लोबाट नै गलैंचा, टोपी, खादा जस्ता बस्तु उत्पादन हुने गरेको उद्यम विकास सहजकर्ता सुस्मिता धामीले बताए । उद्योमग्राम उत्पादन समूहका अध्यक्ष रमिला शाहीका अनुसार उद्योगग्रामले अहिले सामान्य रुपमा भए पनि आम्दानी गर्न सुरु गरेको छ । उनले भने, ‘अहिले अल्लोको बेर्ना राखेर अल्लो खेती गर्नका लागि समितिका सदस्यहरु लागिपरेका छन् । यस ठाउँमा अल्लो प्रशस्तमात्रामा उत्पादन हुने भएकाले निकट भविष्यमा अल्लोबाट झोला, कोट, पाइन्ट, जुत्तालगायतका सामग्री उत्पादन गरेर अन्य जिल्लामा समेत पठाउने लक्ष्य उद्योम ग्रामले लिएको छ ।’ रासस
सगरमाथा जलविद्युतको सीईओमा संदिप अधिकारी नियुक्त
काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा संदिप अधिकारी नियुक्त भएका छन् । कम्पनीको मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले अधिकारीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको अध्यक्ष डा. भोगेन्द्र कुमार गुरागाईंले जानकारी दिए । साथै, सञ्चालक समितिले सुदत्त लामालाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको छ ।