सोनापुर मिनरल्सको साधारण सभा सम्पन्न, २ जना सञ्चालक निर्विरोध निर्वाचित

काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयलको १६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा घोराही उपमहानगरपालिका वार्ड नं १५, दाङ्ग स्थित होटल माला इनमा सम्पन्न भएको हो । सभाले लेखापरिक्षकको प्रतिवेदन सहितको २०८० आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त भएको आ.व. २०७९/०८० को नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण पारित गरेको छ । सभाले आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताप पनि स्वीकृत गरेको छ । सभाले सर्वसाधारण सेयरधनी समुहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुमा अंकित खड्का र रचना कुमारी ओझा निर्विरोध निर्वाचित गरेको छ ।

नेपाल प्रहरीले माग्यो १ हजार ९५० जना नयाँ प्रहरी

काठमाडौं । नेपाल प्रहरीले ठूलो संख्यामा नयाँ भर्ना लिने भएको छ । नेपाल प्रहरीले शुक्रबार एक सूचना प्रकाशन गरी १ हजार ९५० जना प्रहरीका लागि दरखास्त आह्वान गरेको हो । प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरी जवानदेखि भान्छे, हजाम, कुचीकार र खेलाडीका लागि दरखास्त आह्वान गरिएको हो । जसअन्तर्गत प्रहरी जवानका लागि १ हजार ८५६ जना, ५३ जना भान्छे, ७ जना हजाम, २० जना कुचिकार र १४ जना खेलाडी माग गरिएको छ । खेलाडीतर्फ एथ्लेटिक्स, उसु, भारोत्तोलन, कराँते, तेक्वान्दो, भलिबल, फुटबल, टेबल टनिस र बक्सिङ विधातर्फका खेलाडीहरूले मात्र दरखास्त दिन सक्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ । इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले फागुन २ गतेदेखि चैत ९ गतेसम्म तोकिएको प्रहरी कार्यालयमा उपस्थित भई दरखास्त दिन सक्नेछन् ।

स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा. मुक्तिराम श्रेष्ठ

काठमाडौं । स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा. मुक्तिराम श्रेष्ठ नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले श्रेष्ठलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको हो । निर्देशक डा दामोदर बसौलालाई हटाइएपछि अर्को व्यवस्था नभएसम्मको लागि श्रेष्ठलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको हो । उनी हालै स्वास्थ्य बीमा बोर्डका सदस्य भएका थिए ।