सिप्रदीको सिइओमा राजनबाबु श्रेष्ठ नियुक्त

काठमाडौं, १२ भदौ । टाटा मोटर्सको नेपाली आधिकारीक बिक्रेता कम्पनी सिप्रदी ट्रेडिङको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा राजनबाबु श्रेष्ठ नियुक्त भएका छन् । यस अघि उनी कम्पनीकै प्रमुख संचालन अधिकृत(सीओओ) को जिम्मेवारीमा थिए । सिप्रदीमा टेक्निकल मेनेजरका रुपमा सन् १९९९ मा नियुक्त भएका श्रेष्ठले १७ बर्षपछि कम्पनीको फस्ट म्यानको जिम्मेवारी पाएका हुन् । उनले डेपुटी जनरल म्यानेजर, जनरल म्यानेजर, भाइस प्रेसिडेन्ट, सीओओको जिम्मेवारी पुरा गरिसकेका थिए । हाल सिप्रदी ट्रेडिङ अन्तर्गत सिप्रदी इनर्जी, सिप्रदी अटोपार्ट्स, सिप्रदी अर्थमुभर्स, सिप्रदी एस्योर्ड र सिप्रदी हायर पर्चेज लगायतका सहायक कम्पनी रहेका छन् ।

वैदेशीक रोजगारीमा चरण ठगी,  निःशुल्कको नाममा दुई लाख उठाइदैं

काठमाडौं १०, भदौं । अलपत्र नागरिकको उद्धार र वैदेशिक रोजागारीमा दुख पाएका नेपाली नागरिकलाई सहज रुपमा स्वदेश फर्काउन सरकारले विशेष पहल गरिरहेको बेला केही म्यानपावर व्यावसायी भने यही मौकाको सदुपयोग गरेर कमाउ धन्दा चलाइरहेको पत्ता लागेको छ । आजको जनआह्वान साप्ताहिकमा खबर छ । प्रगतिशिल वैदेशिक रोजगार व्यावसायी संघको नाममा रहेको एमालेको म्यानपावर संस्था सम्वद्ध व्यक्तिले त्यस्तो धन्दा चलाएको बताइन्छ । निशुल्क टिकट र निशुल्क प्रवेशाज्ञा लागू गरिएको भएपनि मनलाग्दी रुपमा गरिब युवालाई ठग्ने काममा उनीहरु लागेको बताइन्छ । वैदेशिक रोजगारीमा जान चाहने युवालाई सहज रुपमा सो अवसर प्रदान गर्ने सरकारको लक्ष्य भएपनि केही स्वार्थी समूहको योजनामा सरकारको घोषणालाई कार्यान्वयन हुन नदिन ज्यान फालेर लागेको बताइन्छ । दैनिक एक हजार भन्दा बढी युवा रोजगारीको खोजीमा विदेसिरहेका छन् । उनीहरुलाई निशुल्क रुपमा पठाइएको भन्दै दलालहरुले दैनिक एक अर्ब भन्दा बढी रकम उठाइरहेको बताइन्छ । तर वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड भने कानमा तेल हालेर बसेको छ । म्यानपावर व्यावसयीलाई कारवाही गर्न र उनीहरुलाई कानुनी दायरमा ल्याउने तर्फ कुनै पहल गरिएको छैन ।

पर्यटन बोर्डले ५० जना कर्मचारी नियुक्ती गर्दै, रोजगारीको लागि बोर्ड उत्कृष्ट संस्था

काठमाडौँ, ९ भदौ । मुलुकको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले निजी क्षेत्रको संलग्नतामा स्थापित नेपाल पर्यटन बोर्डले करिव ५० जना नयाँँ कर्मचारी नियुक्त गर्ने भएको छ । अहिले बोर्डमा ७१ नयाँ दरबन्दी रहेकोमा २१ जना कर्मचारी मात्रै कार्यरत रहेकोले बाँकी पदपूर्ति गर्न लागिएको बोर्डका सञ्चालक समिति सदस्य राजेन्द्रप्रसाद सापकोटाले जानकारी दिए । बोर्डमा एक कार्यकारी कार्यकारी प्रमुख र उपकार्यकारी प्रमुख तथा (पोखरामा एक थपिएको) सहित छ जना निर्देशक, २१ जना व्यवस्थापक र ३१ जना अधिकृत रहने छन् ।राम्रो तलब सुविधा, निरन्तर देश विदेश घुम्न पाउने भएकोले नेपाल पर्यटन बोर्ड जागिरको लागि आकर्षक गन्तव्य मानिन्छ । यहाँ जागिर खान र खुवाउन शक्ति केन्द्रबीच गतिलो चलखेल हुने गरेको छ । बोर्डले कर्मचारी विनियमावलीको १०औँ संशोधन गरी पदपूर्तिको तयारी थालेको बुझिएको छ । अधिकृत तहका कर्मचारी भर्ना गर्ने र त्यसमुनिका तहमा अस्थायी र करारमा कर्मचारी नियुक्त गर्ने बोर्ड सदस्य सापकोटाले बताए । एक निर्देशकसहित २० बढी अधिकृत लिने बोर्डको सोच छ । बोर्डमा पाँच निर्देशक रहेकामा अहिले सबैको मुद्दा अदालतमा विचाराधीन अवस्थामा छ । बोर्डमा जनशक्तिको अभावमा प्रवद्र्धनात्मक गतिविधि प्रभावकारी रुपमा सञ्चालन हुन सकेका छैनन् । विगत नौ वर्षदेखि बोर्डमा कुनै पनि कर्मचारी नियुक्ति नहुँदा प्रशासनिक तथा प्रवद्र्धनात्मक काम प्रभावित भएको हो । अघिल्लो कार्यकालका बोर्ड प्रमुखसहित केही पदाधिकारी भ्रष्टाचार मुद्दामा मुछिएपछि बोर्डको गतिविधि झनै प्रभावित बन्यो । बोर्डका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुवास निरौलासहित २३ पदाधिकारी तथा कर्मचारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कारबाहीमा परेपछि बोर्डका महत्वपूर्ण शाखा जनशक्तिविहीन छन् । ती अधिकारीका मुद्दा अझै टुङ्गिएका छैनन् । लामो प्रयासपछि झन्डै सात महिना अघि बोर्डले सिइओ पाए पनि अन्य विभाग र शाखामा कर्मचारी नहुँदा कामले गति लिएको छैन ।सङ्क्रमणको चपेटामा परेको मुलुकको पर्यटन उद्योगलाई पुनर्जीवन दिन अभियानमा बोर्डले दत्तचित्त छ । आन्तरिक पर्यटन प्रवद्र्धनका साथै अन्तर्राष्ट्रिय प्रचार प्रसारमा जुटेको बोर्डले चाँडै जनशक्ति पूर्ति गरी बोर्डलाई अझ सक्रिय बनाउने भएको छ । सापकोटाले बोर्डको जनशक्तिलाई चाँडै पूर्णता दिई प्रवद्र्धनका कामलाई प्रभावकारी रुपमा अघि बढाइने बताए । “बढीमा दुई हप्ताभित्र नयाँ कर्मचारी पदपूर्तिका लागि विज्ञापन आह्वान गछौँ, निष्पक्ष ढङ्गले दश कर्मचारी छनोट गरी बोर्डलाई दसैँअघि पूर्णता दिएर चलायमान बनाउछौँ”– बोर्डको पदपूर्ति समितिका संयोजक समेत रहेका सापकोटाले बताए । ठूलो सङ्ख्यामा विदेशी पर्यटक भित्र्याउने लक्ष्यका साथ बोर्ड यतिखेर बिबिसी, सिएनएनजस्ता ठूला मिडियामार्फत प्रचारात्मक अभियानमा जुटेको छ । बोर्डले यस वर्षका लागि रु एक अर्ब १२ करोड ५० लाख बजेट पाएको छ । । यसमध्ये पर्यटन प्रवद्र्धनका लागि रु २७ करोड ५० लाख तथा बजारीकरणका लागि करिब रु २३ करोड विनियोजन गरिएको छ । बोर्ड सञ्चालक समिति सदस्य सापकोटाका अनुसार बिबिसीका लागि रु नौ करोड, भारत र चीनका ठूला मिडियका लागि रु पाँच करोड तथा अन्तर्राष्ट्रिय संस्था, ट्रिप एडभाइजरीका लागि रु दुई करोड ५० लाख र अन्तर्राष्ट्रिय समाचार एजेन्सी ९रोयटर्स० का लागि रु ८० लाख बजेट व्यवस्थापन गरिएको छ । पहिला निर्णय भई विभिन्न कारणले रोकिएको यो कार्यका लागि अहिले टेन्डर आह्वानको प्रक्रिया अघि बढेको छ । बोर्डले यो वर्षदेखि परम्परागत प्रचार शैलीलाई अब पूरै विद्युतयीय प्रणालीमा लैजान रु एक करोड ७० लाख बजेट व्यवस्थापन गरेको छ । त्यस्तै अहिलेको बजेट तालिम, अनुसन्धान आदिका लागि करिब रु छ करोड र पूर्वाधार विकासका लागि रु १६ करोड बजेट विनियोजन गरिएको छ । सङ्क्रमणका बेला पनि ७० प्रतिशत बजेट खर्च गरिएको र यो वर्ष चाँडै बजेट आएकाले शत प्रतिशत काम गरिने बोर्डको दाबी छ । खाली दरवन्दी पूरा गरी बोर्डलाई जेट इन्जिनको रुपमा सञ्चालन गरिने दृढता बोर्ड सदस्य सापकोटाले प्रकट गरे । पर्यटन मन्त्रालयले तयार पारेको सन् २०१५ को ‘नेपाल पर्यटन तथ्याङ्क’ अनुसार सन् २०१५ मा पाँच लाख ३८ हजार ९७० पर्यटक नेपाल भ्रमणमा आएका थिए । सन् २०१४ मा सात लाख ९० हजार ११८ पर्यटकले नेपालको भ्रमण गरेका थिए । राससको सहयोगमा