श्रम भिसामा नेपाल आउँने विदेशी बढ्दै, दिनहुँ एक हजार भन्दा बढिले माग्छन श्रम स्वीकृति

काठमाडौं ६, भदौ । नेपालमा नै श्रम भिसामा आउने विदेशी वर्षेनी हजार भन्दा बढी श्रम भिसामा आउने गरेका छन । कामको खोजिमा नेपाली बाहिरिरअध्यागमन विभागमा दिनहुँ एक न एक विदेशीले श्रम स्वीकृति मागिरहेको हुन्छ । यस्तो श्रम स्वीकृतिको माग गर्ने विदेशी दैनिक एक हजारभन्दा बढी हुने गरेको विभागले जानाकारी दिएको छ । देशमा अवसर नपाएर लाखौं नेपाली वैदेशिक रोजगारीका लागि बिभिन्न देशमा पुगेका छन् । तर, विश्वका बिभिन्न देशबाट बार्षिक एक हजारभन्दा धेरै विदेशी नेपालमा नै श्रम भिसा लिएर काम गर्न आउने गरेको विभागको तथ्यांकले देखाएको छ । अध्यागमन व्यवस्था विभागका अनुसार एक हजार तीन सय ९८ जना विदेशी नेपालमा कामदार भिसामा कार्यरत छन् । धेरैजसो हाइड्रोपावर र एनजिओमा कार्यरत हुने रहेको उल्लेख छ । केही उच्च तह र केही सामान्य किसिमको कामका लागि नेपालमा ‘वर्किङ भिसा’ लिएर बस्दै आएका छन् । ‘वर्किङ भिसा’मा काम गर्नेहरु धेरैजसो जलविद्युत र एनजिओ क्षेत्रमा छन् । नेपालमा आउने हरेक क्षेत्रका प्राविधिक जनशक्ति विदेशबाट ल्याउनुपर्दा पनि वर्किङ भिसामा नै आउने गरेका छन् । गृहमन्त्रालयको कार्यादेश र बिभिन्न मन्त्रालयको सिफारिसका आधारमा ‘वर्किङ भिसा’ दिने गरेको अध्यागमन विभागका महानिर्देशक केदार न्यौपानेले बताए । उनका अनसार तीन हजारभन्दा धेरै विदेशी नेपालमा व्यावसायमा छन् । आर्थिक वर्ष ०७२र७३मा तीन हजार एक सय ७८ विदेशीले नेपालमा व्यावसाय गर्न भिसा लिएका छन् । नेपालमा व्यावसाय गर्नेमध्य सबैभन्दा धेरै चिनियाँ छन् । चिनियाँपछि कोरियन र जापानी छन् । नेपाली भारत जाँदा र भारतीय पनि नेपाल आउँदा भने भिसा लिनु नपर्ने व्यवस्था छ । नेपालमा अध्ययन गर्न आएका विदेशी विद्यार्थी एकहजार नौ सय ११ छन् । मेडिकल र भाषा पढ्न विदेशीहरु नेपाल आउने गरेका छन् । त्यसैगरी ४२ जना विदेशी नेपालमा आवासीय भिसा लिएर बसेका छन् । आवासीय भिसा लिएर जति वर्ष पनि बस्न पाइन्छ । त्यसका लागि आर्थिक स्रोत देखाउनुपर्ने हुन्छ । नेपालमा पर्यटन भिसामा आएर गैरपर्यटकीय गतिविधि बढ्न थालेको समाचार आएपछि अध्यगमनले विदेशी नागरिकले नेपाल आँउदा प्रयोग गर्ने भिसा विजनेश, पर्यटन, वर्किङलगायतका हुने जानकारी दिएको हो ।

सिंहदरवारमा इमेल गर्दै २,७०० कर्मचारीले सरुवा मागे, स्वीकृत पत्र इमेलमा नै आउने

काठमाडौँ, २ भदौ । यस आर्थिक वर्षका लागि दुई हजार ७६४ जना निजामती कर्मचारीले सरुवा माग गरेका छन् । अन्तरमन्त्रालय र निकाय सरुवाका लागि उनीहरुले सामान्य प्रशासन मन्त्रालयसँग सरुवा माग गरेका हुन् । मन्त्रालयका उपसचिव मुकेश किशोरले सरुवाका लागि दुई हजार ७६४ कर्मचारीले आवेदन दिएको जानकारी दिए । मन्त्रालयले यही साउन ३ गतेदेखि मसान्तसम्म श्रेणीविहीनदेखि राजपत्राङ्कित द्वितीय श्रेणीसम्मका कर्मचारीलाई अन्तरमन्त्रालय र निकाय सरुवाका लागि आवेदन दिन भनेको थियो । मन्त्रालयका सहसचिव तथा प्रवक्ता नीता पोखरेल अर्यालले फाराम मङ्गलबारसम्म बुझ्ने काम भएको र अब सरुवाको प्रक्रिया थालिने जानकारी दिए । उनका अनुसार आवेदन दिएका कर्मचारीहरुको भदौ १५ गतेभित्र सरुवा गरिसक्ने मन्त्रालयको तयारी छ । सरुवा माग गर्नेमा राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव) का ९३, राजपत्राङ्कित द्वितीय श्रेणी (अधिकृत) का ३१२ जना रहेका कर्मचारी प्रशासन शाखाका शाखा अधिकृत लीलाराज काफ्लेले जानकारी दिए ।  उनका अनुसार नायब सुब्बा एक हजार १३४, खरिदार ९०२ र श्रेणीविहीन ३१० जनाले सरुवाका लागि आवेदन दिएका छन् । यसैगरी प्राविधिकतर्फ पाँचौँ तहका दुई र चौथो तहका ११ जनाले पनि सरुवाका लागि मन्त्रालयमा निवेदन दिएका छन् । मन्त्रालयले २४ घन्टा नै कर्मचारीलाई अनलाइनको फाराम भर्ने व्यवस्था मिलाएको थियो । अनलाइनमा फाराम भरेपछि एसएमएसमार्फत सरुवाको निवेदन दर्ता भएको र दर्ता नम्बर कर्मचारीले पाउने गरेका थिए । अनलाइनबाट सरुवाको फाराम भरेका कर्मचारीहरुलाई सरुवाको पत्र पनि इमेलमार्फत पठाइने छ । उपसचिव मुकेशकुमार केशरीले सरुवाको जानकारी कर्मचारीको इमेलमा पठाउने बताए । “सरुवाको पत्र हामीले इमेलमा नै पठाउने गर्छौं”, उनेले भने “सरुवाको पत्र लिन काठमाडौँ आउनुपर्दैन ।” मन्त्रालयले कर्मचारीलाई सजिलो र सरुवालाई व्यवस्थित बनाउन पहिलो पल्ट अनलाइनबाट फाराम भर्ने व्यवस्था गरेको हो । भौतिक निर्माण तथा योजना मन्त्रालयमा ६८३, अर्थ मन्त्रालयमा ४६४, गृहमन्त्रालयमा ३१४, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा २५० जना, मन्त्रिपरिषद्मा ११९ जनाले सरुवा माग गरेको शाअ काफ्लेले जानकारी दिए ।  मन्त्रालयले साउन महिनामा मात्र कर्मचारी सरुवाका लागि आवेदन माग गर्ने गरेको छ । देशभर ८३ हजार ५७० निजामती कर्मचारी कार्यरत छन् । रासस

गण्डकी विकास बैंकको सीईओमा शर्मा नियुक्त, पुँजी वृद्धि पहिलो प्राथमिकता

काठमाडौं, १ भदौ । गण्डकी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा छविन्द्रनाथ शर्मा नियुक्त भएका छन् । साउन ३१ गते बसेको बैंक सञ्चालक समितिको बैठकले भदौ १ गतेदेखि लागू हुने गरी शर्मालाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । उनी विगत तीन वर्षदेखि कामु प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए । विगत १४ वर्षदेखि बैकिङ क्षेत्रमा कार्यरत शर्मा २०६५ सालदेखि गण्डकी विकास बैंकमा कार्यरत छन् । उनले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् । पोखरामा केन्द्रीय कार्यलय रहेको यो बैंक १० जिल्ला कार्यक्षेत्र भएको बैंकको हो । यो बैंकले गत असार मसान्तसम्ममा ५ अर्ब ५५ करोड निक्षेप र ४ अर्ब ६२ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । गत वर्ष बैंकले १३ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । १० जिल्ला कार्यक्षेत्र भएको बैंकको चुक्ता पुँजी १ अर्ब २० करोड रुपैयाँ हुनु पर्ने भएकोले बैंकको अहिलेको प्राथमिकता पुँजी वृद्धि भएको शर्माले बताए । हाल यस बैंकको चुक्ता पुँजी ५३ करोड ८५ लाख रुपैयाँ छ । ‘समय धेरै छैन, मर्ज गरेर पुँजी वृद्धि गर्ने विकल्पमा छलफल चलाईरहेका छौं’ शर्माले विकासन्युजसँग भने ।