निक्षेप तथा कर्जा सुरक्षण कोषको अध्यक्षमा राजन खनाल नियुक्त
काठमाडौं, १९ कात्तिक । मन्त्रिपरिषद् बैठकले निक्षेप तथा कर्जा सुरक्षण कोषको अध्यक्षमा अर्थ मन्त्रालय, राजस्व सचिव राजन खनाललाई नियुक्त गर्ने निर्णय गरेको छ । यसैगरी बैठकले ख्वपः विश्वविद्यालयसम्बन्धी विधेयकलाई थप छलफलका लागि विधेयक समितिमा पठाउने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिए। सिंहदरबारमा शुक्रबार बसेको बैठकले सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत रहेको उपेक्षित, उत्पीडित तथा दलित उत्थान विकास समितिको कार्यकारी निर्देशकमा डा वुद्धिबहादुर नेपालीलाई मनोनयन तथा स्वास्थ्य मन्त्रालयअन्तर्गतका विकास समितिहरुका अध्यक्ष नियुक्तिका लागि सम्बन्धित समितिमा पठाउने निर्णय गरिएको प्रवक्ता कार्कीले जानकारी दिए । रासस
एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा सोमेश्वर सेठ नियुक्त
काठमाडौं, १९ कात्तिक । एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सोमेश्वर सेठ नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले सेठलाई ४ वर्षे कार्यकालको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । सेठले कात्तिक १६ गतेदेखि नै आफ्नो कार्यभार सम्हालेका छन् । अब उनले आगामी ४ वर्ष सम्म एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्नेछन् ।
भारतको रोजगारीमा बेवास्ता, ११० मुलुकमा रोजगारी खुलेपनि धेरै नेपाली पुग्छन भारत
काठमाडौं १९, कात्तिक । भारत र नेपालबीचको सम्बन्ध छिमेकी राष्ट्रमा मात्रै सीमित छैन, रोटीबेटीको साइनोले झन प्रगाढ बनाएको छ । हुन पनि नेपाली र भारतीय नागरिक रोजगारीको शिलशिलामा एक अर्काका देशमा पुग्नु कुनै नौलो होइन । भारतबाट पनि काम खोज्दै नेपाल आउनेको सङ्ख्या कमी छैन । अर्को कुरा कुटुमेली साइनो, धर्म, संस्कारले पनि भारत र नेपालबीचको सम्बन्धलाई अझै नजिकाएको छ । भारत एक त छिमेकी मुलुक अर्को खुला सिमानाका कारण नेपाली र भारतीय नागरिकलाई काम खोज्दै एक अर्काका देश आतेजाते गर्न सजिलो पनि छ । पूर्वको काकडभिट्टादेखि पश्चिमको कञ्चनपुरसम्मका २२ वटा नाकाबाट दिनहुँ हजारौँ नेपाली काम खोज्दै भारतको विभिन्न सहरमा पुग्छन् । कोही मौसम अनुसार सानोतिनो रकम कमाएर फर्किन्छन् पनि । रोजगारी खोज्दै भारत जाने चलन धेरै पुरानो हो । पछिल्लो समयमा सरकारले खाडी मुलुकहरू, मलेसियालगायत ११० वटा मुलुकमा रोजगारीका लागि खुला गरेको छ । खुला गरिएका देशको रोजगारी धेरै युवालाई भारतको रोजगारीको विकल्प भएको छ । तर सुदूरपश्चिम र मध्यपश्चिम नेपालका नागरिकलाई खाडी मुलुकको रोजगारीभन्दा भारतकै रोजगारी काम लागेको छ । यस क्षेत्रमा प्रत्येक घरबाट कम्तीमा एकजना रोजगारीका लागि भारत गएको भेटिन्छन तर यति ठूलो सङ्ख्या रोजगारीका लागि पुगेका देशमा नागरिकको सुरक्षाका लागि कुनै निकाय नै छैन । त्यसो त भारतबाट पनि थुप्रै नेपाली रोजगारीका लागि नेपाल आएका छन तर उनीहरूको सुरक्षाका लागि भारतले पनि कुनै नीति बनाएको देखिँदैन । मलेसिया, खाडीलगायतका ११० मुलुकमा पुगेकालाई सुरक्षित गर्न र उनीहरूको रोजगारीलाई व्यवस्थित र मर्यादित गराउन श्रम तथा रोजगार मन्त्रालय, वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको गठन गरिएको छ तर सुदूरपश्चिम र मध्यपश्चिमबाट रोजगारीका लागि भारतमा यति नै नेपाली गएका छन् । तिनीहरूका सुरक्षाका लागि कुनै नीति नै छैन । गोरखापत्र दैनिकबाट ।