विदेशमा नेपाली नेपालीबाटै असुरक्षित, आफ्नै साथिको हत्या गर्ने १५ जना जेलमा

काठमाडौं । देशमै रोजगारीको अवसर सिर्जना हुन नसक्दा वैदेशिक रोजगारीका लागि दैनिक दुई हजारभन्दा बढी नेपाली विदेश पलायन भइरहेका छन्। यसरी पलायन हुने नेपाली कामदार नेपालीबाटै असुरक्षित हुने गरेको प्रधानमन्त्री कार्यालयका वैदेशिक जानकार सुशील ढुंगाना बताउँछन् । रोजगारीकै लागि मलेसिया र खाडीका देशमा वार्षिक पाँच लाखको हाराहारीमा नेपाली पलायन भइरहेका छन् । त्यसमा पनि मासिक १० हजारदेखि १५ हजार संख्यामा कामकै लागि साउदी अरब पुग्ने गरेका छन् । साउदीमा रोजगारीकै लागि पुगेका नेपालीमध्ये अहिले साउदीको जेलमा १५ नेपाली हत्या अभियोगमा जेल जीवन बिताइरहेका छन् । जेलमा रहेका १५ जनामध्ये तीन जनालाई त्यहाँको अदालतले मृत्युदण्ड सुनाइसकेको छ । हत्या अभियोगमा जेल जीवन बिताइरहेका १५ जनामध्ये ५ जनालाई नेपाली दाजुभाइ नै हत्या गरेको अभियोग छ । अन्नपूर्ण पोस्टबाट ।

नयाँ म्यानपावरलाई अनुमति रोक्न निर्देशन, अदालतको आदेशबाट अनुमति लिनेको पनि कारोबार रोकियो

काठमााडौं । नयाँ म्यानपावर कम्पनीलाई नयाँ लाइन्सेन्स नदिन संसदको अन्तर्राष्ट्रिय सम्वन्ध र श्रम समितिले बिहीबार निर्देशन दिएको छ । वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीहरुको अनुगमन तथा नियमन राम्रोसंग गर्न नसकिरहेको अवस्थामा चालु आर्थिक वर्षमा मात्र एकसयभन्दा बढी म्यानपावर कम्पनीहरुलाई अनुमति दिएकोले थप नयाँ अनुमति नदिन समितिले निर्देशन दिएको हो । समितिले वैदेशिक रोजगारी बढ्दो ठगी नियन्त्रण गर्ने कार्यमा वैदेशिक रोजगार विभागले प्रभावकारी ढंगमा कार्य गरेको नदेखिएकोले ठगी नियन्त्रणको योजना नभएको बताएको छ । यसलाई प्रभावकारी ढंगले कार्य गर्न वैदेशिक रोजगार व्यवसाय सञ्चालन गरिरहेका कम्पनीहरुको प्रभावकारी अनुगमन गरी गैरकानूनी क्रियाकलापमा संलग्न म्यानपावर कम्पनीहरुलाई कारवाही समेत गरी सो सम्बन्धी प्रतिवेदन ३(तीन) महिनाभित्र समितिमा पठाउन निर्देशन दिएको छ । चालु आ.व.मा अदालतको अन्तिम पैmसलाबाट दर्ता भएका म्यानपावर कम्पनीलाई पनि काम कारवही गर्न रोक लगाउन समितिले निर्देशन दिएको छ । अन्य म्यानपावर कम्पनीहरुको हकमा अदालतको आदेशको पुनरावलोकनको लागि निवेदन दिन र अदालतको अन्तिम आदेश नआउँदासम्म अन्तरिम आदेशबाट दर्ता भएका कम्पनीहरुको कारोवार र कामकारवाही रोक्का राख्न निर्देशन दिएको उल्लेख छ । वैदेशिक रोजगारीमा जाने कामदारले अनिवार्य रुपमा अभिमुखिकरण तालिम लिए नलिएको प्रभावकारी अनुगमन गर्नुपर्ने पनि उल्लेख छ । तालिममा सहभागी नभएका कामदारलाई पनि तालिम पूरा गरेको प्रमाणपत्र दिने कार्यको छानविन गर्नुपर्छ । तालिममा सहभागि नगराई कामदारलाई प्रमाणपत्र दिने तालिम प्रदायक संस्थाको इजाजतपत्र रद्द गर्न निर्देशन दिएको छ । वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने कम्पनीहरुको नियमन र व्यवस्थापनमा देखापरेका समस्याहरुको समाधानको लागि कानूनी सुधारको लागि वैदेशिक रोजगार ऐन, २०६४ संशोधनको प्रकृया तुरुन्त शुरु गर्न पनि समितिले श्रम मन्त्रालय तथा मातहतका निकायलाई निर्देशन दिएको छ ।

महिला नेतृत्वले हाँक्दै मुलुक, राष्ट्राध्यक्ष, संसद र न्यायलयपछि निजी क्षेत्रको नेतृत्वमा पनि महिला

काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघकी नवनिर्वाचित अध्यक्ष भवानी राणाले पदभार ग्रहण गर्नुभएको छ । बुधबार महासंघ सचिवालय टेकुमा निवर्तमान अध्यक्ष पशुपति मुरारकाले पद हस्तान्तरण गर्नुभएको हो । अध्यक्ष राणा, बरिष्ठ उपाध्यक्ष शेखर गोल्छासहित सम्पूर्ण पदाधिकारी तथा सदस्यले सपथ ग्रहण गरेका छन् । महासंघको नयाँ कार्यसमितिका लागि मंगलबार निर्वाचन भएको थियो । महासंघको ५२ वर्ष पुरानो इतिहासमा राणाले पहिलो महिला अध्यक्ष हुने सौभाग्य प्राप्त गर्नुभएको हो । महासंघको संशोधित विधानअनुसार उहाँ स्वतः अध्यक्ष हुनुभएको हो । संशोधित विधानमा बरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था गरिएको छ । उहाँले पदभार ग्रहण गर्दै तीन वर्षे कार्यकालका लागि २६ बुँदे कार्ययोजनासमेत घोषणा गर्नुभयो । उहाँले सबै उद्योगी व्यवसायीलाई एकतावद्ध गरेर आर्थिक समृद्धिका लागि अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभएको छ । अध्यक्ष राणाले मुलुकको आर्थिक समृद्धिका लागि सरकारसँग सशक्त सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभएको छ । निवर्तमान अध्यक्ष मुरारकाले अगाडि बढाएका काम कार्यान्वयन गर्ने पहिलो प्राथमिकता भएको उहाँले बताउनुभयो । नेपालबाट वार्षिक साढे चार लाख युवा रोजगारीको खोजीमा विदेश पलायन भइरहेका छन् । बिदेसीने युवाशक्तिलाई स्वदेशमै रोक्नका लागि सातवटै प्रदेशमा टेक्निकल स्कुल खोल्न पहल गरिने उहाँको घोषणा छ ।