एनबी इन्स्योरेन्स कम्पनीको अध्यक्षमा हेमराज ढकाल चयन

काठमाडौं, १० पुस । एनबी इन्स्योरेन्स कम्पनी लि.को अध्यक्षमा हेमराज ढकाल चयन भएका छन् । आइतबार बसेको कम्पनीको सञ्चालक समितिले ढकाललाई अध्यक्ष बनाएको हो । ढकालले यस कम्पनीको प्रवद्र्धक समूह आइएमई ग्रुपबाट प्रतिनिधित्व गरेका हुन् । यस अघि सोही ग्रुपबाट अम्बिकाप्रसाद पौडेलले प्रतिनिधित्व गरेका थिए । मंसिर १७ गते कम्पनीको साधारणसभा सम्पन्न भएपछि पौडेलले अध्यक्षको पदबाट राजीनामा गरेका थिए ।

सनराइज बैंककाे विज्ञ संचालकमा जोशी नियुक्त, नेशनल नारायणी फाइनान्सको सिम्बोलिक प्रतिनिधित्व

काठमाडौं, ७ पुस । सनराइज बैंकको संचालक समितिले विज्ञ सञ्चालकमा ओमकृष्ण जोशीलाई नियुक्त गरेको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार व्यवसायिक विशेषज्ञको रुपमा उनलाई आगामी ४ वर्षको लागि नियुक्त गरिएको बैंकले जनाएको छ । उनको नियुक्तीसँगै सनराईज बैंकमा गाभिएको नेशनल नारायणी फाइनान्सको सिम्बोलिक प्रतिनिधित्व भएको छ । दुई संस्था मर्ज हुँदा नेशनल नारायणी फाइनान्सबाट सञ्चालक समितिमा प्रतिनिधित्व भएको थिएन । जोशी यसअघि नेशनल नारायणी फाइनान्समा विज्ञ सञ्चालक थिए ।  त्यसअघि नारायणी फाइनान्समा प्रबन्ध निर्देशकको रुपमा कार्यरत थिए । बैंक व्यवस्थापन समिति र सञ्चालक समिति दुबै तहमा बसेर काम गरेका जोशीलाई व्यवहारिक बैकर्सको रुपमा चिनिन्छन् ।

अम्बिका पौडेलले दिए एनबी इन्स्योरेन्स कम्पनीबाट राजीनामा, अरुण फाइनान्सको नेतृत्व गर्दै

काठमाडौं, ७ पुस । एनबी इन्स्योरेन्स कम्पनीका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले राजीनामा दिएका छन् । तर उनको राजीनामा सञ्चालक समितिले स्वीकृत गरेको छैन । स्रोतका अनुसार मंसिर १७ गते कम्पनीको १८ औं र १९ औं साधारणसभा सम्पन्न भएपछि पौडेलले अध्यक्ष पदबाट राजीनामा दिएका हुन् । आफू अन्य काममा व्यस्त भएको जनाउँदै पौडेलले राजीनामा गरेको बताएका छन् । सञ्चालक समितिले पौडेललाई राजीनामा फिर्ता गर्न सुझाव दिएको छ । बीमा समितिले समस्याग्रस्त घोषणा गरेको र बन्द अवस्थामा रहेको एनबी इन्स्योरेन्स कम्पनीलाई सञ्चालनमा ल्याउने र सामान्य अवस्थामा फर्काउन पौडेलले महत्वपूर्ण योगदान गरेको बताइएको छ । पौडेलको राजीनामा स्वीकृत गरि सो ठाँउमा आईएमई ग्रुपका हेमराज ढकाल आउन सक्ने अनुमान गरिएको छ । सम्बद्ध स्रोतका अनुसार अम्बिका पौडेलसहित आईएमई ग्रुपमा आवद्ध व्यक्तिहरुले समस्याग्रस्त अरुण फाइनान्समा प्रमोटर सेयर लिएका छन् । विहीबार मात्र पौडेल अरुण फाइनान्सको अध्यक्षमा चयन भएका छन् । राष्ट बैंकले समस्या ग्रस्त घोषणा गरेको यो फाइनान्सले नयाँ नेतृत्व पाए लगतै समस्याग्रस्त सूचिबाट हटाउने तयारी गरेको छ । संसद्बाट पारित हुने अन्तिम चरणमा रहेको बैक तथा वित्तीय संस्था सम्बन्धि विधेयकमा एउटै व्यक्ति बैंक र बीमा कम्पनीको सञ्चालक समितिमा बस्न नपाउने व्यवस्था गरेकोले पौडेलले इन्स्योरेन्स कम्पनीबाट राजीनामा दिएको बताईएको छ ।