गाउँपालिका र नगरपालिकामा ४५९० कर्मचारी आवश्यक
काठमाडौं । स्थानीय तह शुक्रबारदेखि कार्यान्वयन भएको छ। उपप्रधानमन्त्री तथा संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले राजपत्र सार्वजनिक गरेसँगै स्थानीय तह कार्यान्वयन भएको हो। नवगठित स्थानीय तहमा १५ दिनभित्र पाँच सय १३ कार्यकारी अधिकृत पुग्ने भएका छन्। स्थानीय विकास मन्त्रालयका अनुसार महानगरपालिकामा तीन, नगरपालिकामा २९ र गाउँपालिकामा ४ सय ८१ कार्यकारी अधिकृत आवश्यक पर्छ। मन्त्रालयले एक सय २२ कार्यकारी अधिकृत आफ्नैबाट खटाउने तयारी गरेको छ भने बाँकी तीन सय ९१ सामान्य प्रशासन मन्त्रालयसँग मागेको छ। माग भएकामा तीन सहसचिव, एक सय ९७ उपसचिव र एक सय ९१ शाखा अधिकृत छन्। स्थानीय विकास मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले उपलब्ध कार्यकारी अधिकृतलाई एक साताभित्र स्थानीय तहमा पठाउने जानकारी दिए। बाँकी भने सामान्य प्रशासन मन्त्रालयले कर्मचारी उपलब्ध गराएलगत्तै पठाइने उनको भनाइ छ। उनले भने, ‘सबै कर्मचारी खटिन करिब १५ दिन लाग्नेछ।’ स्थानीय तह सात सय ४४ तय गरिएको छ। यसमध्ये चार महानगरपालिका र १३ उपमहानगरपालिका छन्। दुई सय ४६ नगरपालिका र चार सय ८१ गाउँपालिका छन्। स्थानीय तहको शासन सञ्चालन सम्वन्धि आदेश–०७३ अनुसार गाउँपालिकामा उप सचिव वा शाखा अधिकृत मध्ये एक कार्यकारी अधिकृत रहने छन्। नगरपालिकामा उपसचिव कार्यकारी रहने व्यवस्था छ। उप महानगरपालिकामा बरिष्ठ उप सचिव र महानगरपालिकामा सहसचिव कार्यकारी अधिकृत रहने व्यवस्था छ। महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका व्यवस्थित गर्न स्थानीय विकास मन्त्रालयले अर्थ मन्त्रालयसँग ११ अर्व ९१ करोड रुपैयाँ बजेट मागेको छ। ‘नव गठित स्थानीय तहका लागि बजेट माग गरेका छौं। प्रत्येक स्थानीय तहमा एक–एक करोडका दरले बजेट माग गरिएको छ,’ मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले भने, ‘सवै गरि करिब १२ अर्व रुपैयाँ बजेट तत्काल आवश्यक छ। अर्थबाट स्वीकृत भएर आएलगत्तै स्थानीय तहमा पठाइनेछ।’ ४५०० कर्मचारी आवश्यक गाउँपालिका र नगरपालिकाका लागि तत्काल चार हजार पाँच सय ९० कर्मचारी आवश्यक पर्ने संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ। गाउँपालिकमा एक कार्यकारी अधिकृतसहित नौ कर्मचारी रहने व्यवस्था छ। मुलुकभर चार सय ८१ गाउँपालिका गठन भएका छन्। सवै गाउँपालिकामा गरी तत्काल चार हजार तीन सय २९ कर्मचारी आवश्यक पर्ने मन्त्रालयको विवरण छ। नगरपालिका संख्या दुई सय ४६ छ। प्रत्येक नगरपालिकामा कार्यकारी अधिकृतसहित नौ कर्मचारी अवश्यक पर्नेछ। नयाँ नगरपालिकका लागि मात्रै तत्काल दुई सय ६१ कर्मचारी अवश्यक पर्ने स्थानीय विकास मन्त्रायले जनाएको छ। नयाँ पत्रिकाबाट ।
कोरियाली भाषा परीक्षाको आवेदन खुल्यो, भाषा परीक्षा जेठ २७ र २८ गते
काठमाडौं । नेपाली युवाको लागि आकर्षक रोजगारीको गन्तव्य बनेको दक्षिण कोरियामा जानु पहिले दिनुपर्ने भाषा परिक्षाको आवेदन खुला भएको छ । कोरियामा काम गर्न अनुमतिका लागि पहिले लिनुपर्ने भाषा परिक्षामा यो वर्ष कृषिमा ६२ सय र उत्पादनमूलकमा ४ हजार गरी १० हजार २ सय जनालाई कोरियाले अवसर दिने भएको छ । भाषा परीक्षा आगामी जेठ २७ र २८ गते हुने भएको छ । यसका लागि यही चैत ९ देखि १८ गतेसम्म आवेदन दिनुपर्ने एचआरडी कोरियाले जानकारी दिएको छ ।
इजरायल पठाउन आवेदन खुला, नौ वर्षदेखि रोकिएको रोजगारी खुल्यो
काठमाडौं । इजरायलमा ६० नेपाली केअरगिभर लान प्रक्रिया अघि बढेको छ। करिब ९ वर्ष रोकिएर केहीअघि मात्र ‘केअरगिभर’ लान थालिएको इजरायलमा दोस्रो समूह लान आवेदन खुला गरिएको छ। यसअघि असोजमा ६० नेपाली केअरगिभर इजरायल गएका थिए। वार्षिक १ हजारभन्दा बढी नेपालीलाई केअरगिभरका रूपमा रोजगारी दिने इजरायलले बताउँदै आएको छ। हाल त्यहाँ ६ हजार नेपाली केअरगिभरका रूपमा कार्यरत छन्। यीमध्ये ८० प्रतिशत महिला छन्। म्यानपावर कम्पनीहरूले निकै बढी शुल्क लिएको भन्दै इजरायल सरकारले सरकारीस्तरबाटै कामदार लैजाने बताउँदै आएको थियो। म्यानपावर कम्पनीले यसलाई रोक्न राजनीतिक नेतृत्वलाई दबाब दिएका कारण यो रोकिएको थियो। गत वर्ष कोरियाझैं इजरायलमा पनि परीक्षणका लागि भन्दै सरकारीस्तरमै कामदार लैजाने सहमति भएपछि पहिलो समूह गएको थियो। नौ वर्षबीचमा जम्मा डेढ सय नेपाली मात्र केअरगिभरका रूपमा इजरायल गएका छन्। कैयौं नेपाली भारतीय बनेरसमेत पुगे। गत वर्ष पाइलट प्रोजेक्टमा सहमति भएर दुई वर्षभित्र तीन सय नेपाली लैजाने सहमति भएको थियो। यो प्रोजेक्ट सफल भए यही मोडलबाट इजरायलमा नेपाली नियमित जान पाउने नेपालका लागि इजरायलका राजदूत यारोन मायरले बताएका छन्। उनले नेपालीहरू इजरायलीको रोजाइमा रहेको पनि बताउने गरेका छन्। इजरायलमा भारत, फिलिपिन्स, थाइल्यान्ड, पूर्वी युरोपका कामदारहरू छन्। नेपाली र फिलिपिनो इजरायलीको पहिलो रोजाइमा पर्दै आएका छन्। केअरगिभरका रूपमा जान आवश्यक न्यूनतम योग्यता पूरा भएकामध्येबाट छनोट हुनेहरूले भाषा परीक्षा पनि पास गर्नुपर्ने छ।केयरगिभरको अन्तिम छनोट वैदेशिक रोजगार विभाग र इजरायलस्थित पीआईबीए (जनसंख्या तथा अध्यागमन निकाय) ले गर्नेछन्। छनोट भएका आवेदकले इजरायलमा वृद्ध, अपांग तथा अशक्तको स्याहारसुसार गर्नुपर्छ। यस्तो काममा एक लाखदेखि दुई लाखसम्म पारिश्रमिक पाइने बताइन्छ। कान्तिपुर दैनिकबाट ।