ज्योति विकास बैंकको सीईओमा मनोज ज्ञवाली

काठमाडौं । ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मनोज ज्ञवाली नियुक्त भएका छन् । बुधबार बसेको सञ्चालक समिति बैठकले ज्ञवालीलाई आगामी ४ वर्षको लागि बैंकको सीईओमा नियुक्त गरेको हो । सीईओ कृष्णबहादुर कुँबरले राजीनामा गरेपछि उनले कार्यवाहक सीईओको रुपमा जिम्मेवारी सम्हाल्दै आएका थिए । नव नियुक्त सिईओ ज्ञवालीको करिब ५ वर्ष अधिकृतस्तरमा नेपाल राष्ट्र बैंकमा विभिन्न विभाग अन्तर्गत कार्य गरेको अनुभव, करिव ८ वर्ष वाणिज्य बैंकमा विभिन्न विभागको प्रमुखको रुपमा रही व्यवस्थापन समुहमा कार्य गरेको अनुभव, मर्चेन्ट बैंकिङ्ग कम्पनीमा निर्देशक तथा प्रवन्ध निर्देशक रही २ वर्षको कार्य अनुभव रहेको छ । त्यस्तै, उनको जलविद्युत क्षेत्रमा १ वर्ष कार्य गरेको अनुभव तथा विकास बैंकमा २ वर्षमा नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गरेको अनुभव रहेको छ भने उनी वरिष्ठ चार्टर्ड एकाउण्टेण्ट समेत हुन् ।  

१३ सय कर्मचारीले स्वेच्छिक अवकास पाए, अरुले नपाउने

काठमाडौं । १३ सय जना निजामति कर्मचारीले स्वेच्छिक अवकास पाएका छन् । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले दिएको जानकारी अनुसार अहिलेसम्म १३ सय कर्मचारीले स्वेच्छिक अवकाश लिएका छन् र उनीहरुको पेन्सन पट्टा धमाधम बनिरहेको छ । उनले भने,‘अब बाँकीको जतिपनि निवेदन आएका छन्, तीनीहरुको स्वेच्छिक अवकाश स्विकृत हुँदैन, नियमितबाहेक अरु कर्मचारीले स्वेच्छिक अवकास पाउनुहुन्न ।’ मन्त्री बनेदेखि नै आक्रमक रुपमा काम गर्दै आएका मन्त्री पण्डितले सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीलाई राष्ट्रसेवकको रुपमा नहेरिने चेतावनी समेत आज दोहोर्याए । उनले भने,‘मन र व्यबहार अलि फरक कुरा हुन, मन छिटो दर्गुछ, व्यबहार विस्तारै देखिन्छ, हामीले धेरै कामका बारेमा आफूलाई क्रियाशिल बनाएका छौँ ।’ कर्मचारीको हकमा स्वेछिच्क अवकास लिने व्यवस्था आफूहरुले हटाएको उनको दाबी थियो । उनले भने, ‘नियमितबाहेक अरु कर्मचारीले स्वेच्छिक अवकास पाउनुहुन्न, सरकारले खटाएको ठाउँमा काम गर्न जानुपर्छ, अहिलेको अवस्थामा सरकारले कर्मचारीलाई पैसा साथमा राखेर घर पठाउन सक्ने स्थिति नै छैन्, राष्ट्रसेवकले राष्ट्रको काम गर्नुपर्छ, समृद्धिको अभियानमा साथ दिनुपर्छ ।’

एनएमबि माइक्रोफाइनान्सको सिईओमा फनीलाल चौधरी नियुक्त

काठमाडौं । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत(सिईओ)मा फनीलाल चौधरी नियुक्त भएका छन् । हालै सम्पन्न संस्थाको सञ्चालक समितिको बैठकले चौधरीलाई १० गते(हिजो)देखि लागू हुने गरी उक्त पदमा नियुक्त गराएको हो । नवनियुक्त सिईओ चौधरीको बैंकिङ यात्रा नेपाल राष्ट्र बैंकबाट प्रारम्भ गरि पूर्वाञ्चल ग्रामीण बिकास बैंक लिमिटेड (हालको नेपाल ग्रामीण बिकास बैंक), नेरुडे लघुवित्त बिकास बैंक हुँदै मेरो माइक्रोफाइनान्स वित्तीय संस्थामा प्रमुख कार्यकारी अधिकृत भई कार्य गरेको झण्डै २६ वर्षको अनुभव रहेको छ । यसका साथै, प्लान नेपाल, यूएनडीपी, केयर नेपाल लगायतका विभिन्न अन्तराष्ट्रिय गैह्रसरकारी संस्थाहरुमा कार्य गरेका चौधरी पछिल्लो समयमा उन्नति वित्तीय पहुँच परियोजनामा कार्यरत थिए । निजले वित्तीय संस्थाहरुमा कार्यरत कर्मचारी, सरोकारवालाहरुका साथै वित्तीय संस्थाका सदस्यहरुलाई विभिन्न किसिमका तालिमहरु प्रदान गर्दै आएको र राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा तालिम, गोष्ठी तथा सेमिनारहरुमा पनि भागलिई अनुभव प्राप्त गरेका छन् । यस अघि कम्पनीको सिईओको कार्यभार तिर्थरत्न कोनाजोले सम्हालेका थिए । कोनाजोले उक्त पदबाट राजिनामा दिएपछि मात्र संस्थाले कम्पनीको नयाँ सिईओको रुपमा चौधरीलाई नियुक्त गरेको हो ।