स्थानीय तहमा आफैँ कर्मचारी भर्ना गर्ने गाउँपालिका संघको चेतावनी
काठमाडौं । गाउँपालिकाका जनप्रतिनिधिहरूको छाता संगठन गाउँपालिका संघले भदौ महिनाभरि पनि केन्द्रबाट स्थानीय तहमा कर्मचारी नपुगे गाउँपालिका आफैँले कर्मचारी भर्ना गर्ने चेतावनी दिएको छ । गाउँपालिका संघको तर्फबाट प्रदेश समन्वय कमिटी प्रदेश नं. ३ र ४ का गाउँपालिकाका जनप्रतिनिधिले पत्रकार सम्मेलन गरेर सरकारलाई त्यस्तो चेतावनीपूर्ण निर्णय सार्वजनिक गरेका हुन् । गाउँपालिकामा निकै न्युन संख्यामा कर्मचारी रहँदा काम गर्न नसकेको र भएका कर्मचारीमा समेत विषयगत ज्ञानको अभाव रहेको उनीहरुको गुनासो छ । यस्तै भएका कर्मचारी समेत कार्यकारीबाट विदा स्वीकृत गराएर बाहिर बस्दा समस्या भएको उनीहरुको चिन्ता छ । सरकारले स्थानीय तहमा कर्मचारीलाई काजमा खटाउने प्रयास गरेपनि विभिन्न माग राख्दै कर्मचारी स्थानीय तहमा खटिन मानेका छैनन्। नयाँ पत्रिका दैनिकबाट ।
बेरोजगार भएपछि पाइलटले खोले पेट्रोलपम्प, पाइलट पढ्न गरेको आधा अर्ब खेर
नेपालगन्ज । अहिले मुलुकमा धेरै विमान कम्पनी सञ्चालनमा छन् । ती कम्पनीले पाइलट नपाएर विदेशबाट ल्याउनुपर्ने अवस्था छ । तर यहाँ भएका पाइलटले जागिर नपाएर अन्य व्यवसाय गर्न बाध्य छन् । नेपालगन्ज-१३ का अभयकुमार टण्डन पाइलट हुन् तर अहिले उनी पेट्रोल पम्प सञ्चालन गरिरहेका छन् । पाइलट अध्ययन गर्न ३० वर्षीय अभयले ६० लाख रुपयाँ खर्च गरे । अस्ट्रेलियामा पाइलट पढ्दै गर्दाका अभय । फोटो अन्नपूर्ण पोस्टबाट सानैबाट पाइलट बन्ने लक्ष्य राखेका अभयले अस्ट्रेलियाको बासियर एभिएसन कलेजबाट पाइलट कोर्स अध्ययन गरे । सम्पन्न परिवारका अभयले डेढ वर्ष लगाएर अस्ट्रेलियाबाट पाइलट कोर्स अध्ययन गरी नागरिक उड्ययन प्राधिकरणले लिएको लाइसेन्स परीक्षा पनि पास गरे तर उनले जहाज उडाउन भने पाएनन् । प्रारम्भिक शिक्षा नेपालगन्जमा पढेका अभयले सेन्ट जोसेफ कलेज नैनितालबाट कक्षा १० र टेगोर इन्टरनेसनल स्कुल न्यू दिल्लीबाट १२ कक्षा पास गरे । न्यू दिल्लीमै केही समय काम गरेर पाइलट अध्ययनका लागि अस्ट्रेलिया गए । उनले पाइलट कोर्स सकेर नेपाल आउँदा निजीक्षेत्रका यती र बुद्ध मात्रै सञ्चालनमा थिए । अभयले सन् २००८ मा पाइलट कोर्स पढेर फर्कंदा नेपाली ध्वजावाहक नेपाल एयरलायन्स बन्द प्राय थियो । नेपाल एयरलायन्सका जहाज बिग्रेर थन्किएका थिए । बुद्ध र यतीमा जागिर खाने प्रयास गरे पनि अभयले सकेनन् । ‘जागिरको खोजीमा लागें, तर पाइनँ’, अभय भन्छन्, ‘नेपाल एयरलायन्स बन्द थियो । बुद्ध र यतीमा जागिर पाइएन ।’ मागभन्दा धेरै पाइलट उत्पादन भएकाले जागिर नपाएको टण्डनको भनाइ छ । अहिलेजस्तो धेरै कम्पनी सञ्चालन भएको भए जागिरको समस्या नहुने उनको दाबी छ । आफूले हासिल गरेको सीप व्यवहारमा उतार्न नपाएपछि अभयलाई फ्रस्ट्रेसन भयो । मन बुझाउन उनले व्यवसायमा हात हाले । ‘मागभन्दा आपूर्ति धेरै भयो’, उनले भने, ‘अहिलेजस्तो धेरै एयरलायन्स कम्पनी भएको भए जागिरको समस्या हुँदैनथ्यो होला ।’ पढाइको सिलसिलामा उनले २५२.४ घन्टा जहाज उडाउन अभ्यास गरेका थिए । तर, नेपाल आएपछि उनले जहाज उडाउने अवसर पाएनन् । पाइलटको लाइसेन्स अवधि ६ महिना मात्रै हुने गरेको छ । जागिर खोज्दाखोज्दै उनको ६ महिना अवधि सकिहाल्यो । आफूले हासिल गरेको सीप व्यवहारमा उतार्न नपाएपछि उनलाई ‘फ्रस्ट्रेसन’ समेत भयो । मन बुझाउन उनले व्यवसायमा हात हाले । व्यवसायी घरानाको व्यक्ति भएकाले उनलाई व्यवसाय सम्हाल्न गाह्रो भएन । ६ वर्षदेखि उनले नेपालगन्जको बीपी चोकनजिक भेरी प्राविधिक शिक्षालयको प्रवेशद्वारमै कुसुम फिलिङ सेन्टर नामको पेट्रोल पप्प सञ्चालन गरेका छन् । अहिले उनी विमान उडाउनेभन्दा पेट्रोलियम पदार्थको हिसाबकिताबमा पोख्त भएका छन् । सन २००९ देखि पेट्रोलियम व्यवसायमा रहेका अभय भन्छन्, ‘अहिले सन्तुष्ट छु, तैपनि पढेको गर्न नपाउँदा खिन्न हुन्छ, यसैभित्र सन्तुष्टि खोज्नुपर्छ ।’ नेपालजस्तो विकासोन्मुख मुलुकमा ‘ब्रेन ड्रेन’को समस्या बढी नै हुने गरेको उनको भनाइ छ । ‘पाइलट पढ्ने मात्र होइन, धेरै इन्जिनियर पनि यहाँ बेरोजगार छन्’, अभय भन्छन् । सीप भएका व्यक्तिलाई राज्यले जागिर दिन नसक्नु मुलुकका लागि दुर्भाग्य भएको उनी बताउँछन् । ‘हाम्रो जस्तो देशमा यस्तो समस्या धेरै छ, एकातिर दक्ष जनशक्ति छैनन्, भएकाले पनि काम पाएका छैनन्’, अभय भन्छन् । अभयका बुबा अजयकुमार नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव हुन् । ‘हाम्रो परिवार व्यावसायिक हो । अभयले पाइलट पढ्छु भन्यो, उसको इच्छाअनुसार पाइलट पनि पढायौं तर जागिर पाउन सकेन । त्यसपछि व्यवसायमा लगायौं अजयले भने । प्राविधिक शिक्षालयको प्रवेशद्वारमै कुसुम फिलिङ सेन्टर नामको पेट्रोल पम्प सञ्चालन गरेका छन् । अन्नपूर्ण पोस्टबाट ।
विकासन्युजको सम्पादकमा बाबुराम खड्का नियुक्त
काठमाडौं । विकासन्युज डट कमको सम्पादकमा बाबुराम खड्का नियुक्त भएका छन् । विकास मिडिया प्रालिको सञ्चालक समितिको बैठकले उनलाई आइतबारदेखि लागू हुनेगरी सम्पादकमा नियुक्त गरेको हो । त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नाकोत्तरसम्म औपचारिक अध्ययन गरेका खड्का विगत १५ वर्षदेखि आर्थिक पत्रकारितामा क्रियाशिल छन् । नेपाल समाचारपत्रमा ७ वर्ष र कारोबार दैनिकमा ६ वर्ष व्यूरो चिफको रुपमा पत्रकारिता गरेका खड्का पछिल्लो समय बाह्रखरीमा आवद्ध थिए । विकास मिडियाका प्रबन्ध निर्देशक रामकृष्ण पौडेलले सम्पादक खड्कालाई स्वागत गर्दै नयाँ सम्पादकको नेतृत्वमा विकासन्युजले आर्थिक पत्रकारिताको क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । सो अवसरमा सम्पादक खड्काले सामूहिक प्रयास (टिम वर्क)मा जोड दिदै पाठकको चाहाना र भावना अनुसार आर्थिक विकास र समृद्धिलाई केन्द्रमा राखेर समाचार पस्कने बताए ।