दक्षिण कोरियामा नेपालीको आत्महत्या बढ्दो, मालिकको व्यवहार र अत्याधिक वितृष्णा मुख्य कारण

काठमाडौ। वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जान युवाहरुको आकर्षण बढेपनि त्यहाँ गएका नेपालीले आत्महत्या गर्ने घटना बढ्दै गएको छ । वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखा तथा अंकुर नेपालको संयुक्त आयोजनामा शुक्रबार राजधानीमा आयोजित ‘गणतन्त्र कोरियामा नेपालीको आत्महत्याको कारण र समाधान’ विषयको कार्यशाला गोष्ठीका सहभागीले पछिल्लो दिनमा कोरियामा आत्महत्याका घटना बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् । कोरियामा काम गर्दै गरेका नेपाली श्रम तथा रोजगार मन्त्रालयका सचिव लक्ष्मणप्रसाद मैनालीले कोरियामा नेपालीको आत्महत्याका घटना बढ्नु संवेदनशील भएको भन्दै यसलाई घटाउन नेपाल सरकारले आवश्यक पहल गर्ने बताए । कार्यक्रममा कोरियाको मानव संशाधन विभागका निर्देशक किम कि उक्ज्युले कोरियामा नेपालीको आत्महत्या दर बढ्दो रहेको स्वीकार गर्दै कोरिया प्रस्थान पूर्व स्वास्थ्य परीक्षण गरिएता पनि मनोवैज्ञानिक परीक्षण नगरिँदा समस्या आएको बताए । विदेशको जीवन र काम स्वदेशको भन्दा बिल्कुल फरक हुने तथ्यलाई आत्मसात् नगर्दा रोजगारीमा गएकाले आत्महत्याको बाटो अँगालेको हुनसक्ने उनको भनाइ छ । वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाका नेपाल निर्देशक बाबुराम खतिवडाले सन २००८ देखि २०१७ अगस्टसम्म १३८ नेपालीको कोरियामा मृत्यु भएको जानकारी दिए । मृत्युहुने मध्ये इपिएस भाषा परीक्षामार्फत गएका ७७ जना रहेको त्यसमध्ये ठूलो संख्या आत्महत्या गर्ने रहेको बताए । उनका अनुसार सन् २०१७ मा मात्रै १६ को मृत्यु भएको र तीमध्ये आधाभन्दा बढी आत्महत्या गर्ने रहेका छन् । कोरियामा नेपाल सरकारका तर्फबाट श्रमसहचारीका रुपमा काम गरेर एक वर्षअघि फर्केका अनिल गुरुङले आफ्नो चार वर्षे कार्यकालमा १३० जनाको मृत्यु भएको र तीमध्ये ३६ जनाले आत्महत्या गरेको विवरण दिए । उनका अनुसार अत्यधिक वितृष्णा, घरपरिवारको व्यवहार, उच्च महत्वाकांक्षा, सहकर्मी एवं मालिकको व्यवहार, मानसिक तनाव जस्ता कारण आत्महत्या गर्नेको संख्या बढेको हो । रासस

सरकारले खाद्य संस्थाको महाप्रवन्धकको पदपूर्ति गर्न माग्यो आवेदन

काठमाडौं   । सरकारले नेपाल खाद्य संस्थानमा महाप्रवन्धकको नियुक्तिको काम थालेको छ । खुला प्रतिस्पर्धाबाट महाप्रवन्धक नियुक्तिको तयारी सरकारले गरेको छ । भदौ १५ गतेसम्म आपूर्ति मन्त्रालयको आपूर्ति व्यवस्थापन महाशाखा शिलवन्दी आवेदन दिन भनेको छ । अर्थशास्त्र, व्यापार र व्यवस्थापनमा न्युनतम स्नातक तहसम्म अध्ययन पुरा सम्बन्धित क्षेत्रमा ५ वर्षको अनुभव भएका व्यक्तिले मात्र आवेदन दिन सक्ने छन् ।

नेशनल हाइड्रोको प्रमुख कार्यकारी अधिकृतमा कुमार पाण्डे नियुक्त

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा कुमार पाण्डे नियुक्त भएका छन् । भदौ ३ गते बसेको हाइड्रोको सञ्चालक समितिको बैठकले पाण्डेलाई हाइड्रोको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । पाण्डेले भदौ ४ गते (आइतबार) देखि नै आफ्नो कार्यभार सम्हालेका छन् । अब उनले अब करिब ४ वर्ष सम्म कम्पनीको सिईओको जिम्मेवारी सम्हाल्नेछन् ।