राष्ट्रिय पुननिर्माण प्राधिकरणमा पुनः सुशील ज्ञवाली

काठमाडौ । सरकारले राष्ट्रिय पुनः निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुशील ज्ञवालीलाई नियुक्त गरेको छ ।विसं २०७२ बैशाख १२ गतेको भूकम्पबाट भएको क्षतिको पुनः निर्माणका लागि प्राधिकरणको गठनसँगै उक्त पदमा प्रा डा गोविन्दराज पोखरेल, सुशील ज्ञवाली, पुनः पोखरेल, युवराज भुसाल र अहिले पुनः ज्ञवाली नियुक्त भएका हुन्। मन्त्रिपरिषद्को मङ्गलबारको निर्णयअनुसार उनलाई दोस्रो पटक यो पदमा नियुक्त गरिएको हो । ज्ञवालीले यसअघि पनि प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतका रुपमा काम गरिसकेका छन् । उनी २०७२ साल पुस १० देखि २०७३ पुस २७ सम्म प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत थिए। मन्त्रिपरिषद्को असार २० गतेको निर्णयले पूर्वप्रमुख कार्यकारी अधिकृत युवराज भुसाल पदमुक्त भएपछि प्राधिकरण नेतृत्वविहीन थियो । प्राधिकरणमा नेतृत्व नहुँदा असार मसान्तमै सम्पन्न भएको दोस्रो किस्ता लिने म्याद के हुने भन्ने अन्योल छ । अन्योलका कारण धेरै भूकम्प पीडितले दोस्रो किस्ताको फारम भर्न नपाएको गुनासो गरेका छन् । प्रमुख कार्यकारी अधिकृतको अभावमा पुनः निर्माणका नीतिगत समस्या समाधानमा प्रभाव पर्दै आएको थियो । प्राधिकरणको विधिसँग जानकार प्रमुख कार्यकारी अधिकृतको नियुक्ति भएपछि कार्यकारी समिति र निर्देशक समितिको बैठक बसी दोस्रो किस्ताको म्याद थपलगायत प्रक्रिया अघि बढ्ने सहप्रवक्ता मनोहर घिमिरेले बताए । रासस

महासंघकी अध्यक्ष राणा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानकाे सदस्यमा मनोनित

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको सदस्यमा मनोनित भएकी छन् । बुधबारको मन्त्रिपरिषद बैठकले राणालाई ३ वर्षका लागि प्रतिष्ठान सदस्यमा मनोनित गरेको हो । प्रतिष्ठानको सदस्यमा महासंघ अध्यक्ष राणासहित पूर्वराजदूत डा. शंकर शर्मा, पूर्वसांसद लालबाबु यादव, डिल्लीराज घिमिरे, डा. खड्क केसी, प्रा.डा. मीना वैद्य मल्ल, उपरथी हिमालय थापा, अधिवक्ता हरि फुयाँल मनोनित भएका छन् । राणाले मुलकको आर्थिक कुटनीतिलाई प्रभावकारी बनाउन प्रतिष्ठानमा रहेर काम गर्ने बताएकी छन् । ‘मुलुकको बढ्दो व्यापारघाटा कम गर्न हामीले निर्यात बढाउनैपर्छ र निर्यातमा देखिएका अवरोध हटाउन हाम्रो आर्थिक कुटनीति प्रभावकारी हुनुपर्छ,’ अध्यक्ष राणाले भनिन्, ‘परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान भनेको सरकारलाई कुटनीतिक क्षेत्रमा सुल्लाह सुुझाव दिने र मार्गनिर्देश गर्ने थिंक ट्यांक पनि भएकाले यहाँ रहेर मैले निजी क्षेत्रको सुझावसहित सम्पूर्ण आर्थिक क्षेत्रकै रुपान्तरणका लागि पहल गर्नेछु ।’ सरकारले हालै विदेशस्थित राजदूत नियुक्तिमा मापदण्डसमेत लागू गरिसकेको पृष्ठभूमिमा विदेशस्थित दूतावासलाई आर्थिक कुटनीतिमा अधिकतम उपयोग गर्न सकिने राणाको भनाइ छ । नेपालस्थित अमेरिकी राजदूतावास र विभिन्न गैरसरकारी संस्थामा काम गरेको अनुभवका आधारमा राणाले कुटनीतिक क्षेत्रलाई नजिकबाट बुझेकाले उनको मनोनयनले निजी क्षेत्र पनि उत्साहित छ । प्रतिष्ठानमा निजी क्षेत्रको प्रतिनिधित्व हुनुलाई अवसरका रुपमा उपयोग गर्नुपर्ने व्यवसायीहरु बताउँछन् ।

स्वास्थ्य बीमा बोर्डले माग्यो कार्यकारी निर्देशक, ७ दिनभित्र दरखास्त दिनुपर्ने

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले कार्यकारी निर्देशक नियुक्ति गर्न लागेको छ । स्वास्थ्य बीमालाई अझ प्रभावकारी बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले करारमा कार्यकारी निर्देशक नियुक्त गर्न लागेको हो । एक साताभित्र आफनो शैक्षिक योग्यताको प्रमाणपत्र र अनुभव सहित बायोडाट पेश गर्न मन्त्रालयले भनेको छ । यस्तै आफुले सम्पादन गर्ने कार्ययोजना र प्रतिवद्धता सहित गोप्य खामवन्दी गरी दरखास्त दिन मन्त्रालयले जानकारी दिएको छ ।