खनिजको विकास र बजारीकरणमा जोड, पूर्वाधारका संरचना बनाउँदा भूबनोटमा ध्यान दिनुपर्ने

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुक समृद्धिको प्रमुख आधार खनिजको विकास र बजारीकरणमा लाग्नुपर्ने बताएका छन्। नेपाल भौगर्भिक समाजले साेमबार यहाँ आयोजना गरेको ‘नवौँ नेपाल अन्तर्राष्ट्रिय भौगर्भिक सम्मेलन’को उद्घाट्न समारोहमा उनले मुलकका बहुमूल्य खनिजको चाँडो उत्खनन गरी यसमा योजनाबद्ध विकास प्रयासको खाँचो औँल्याए। विकास पूर्वाधारका संरचना बनाउँदा भूबनोटमा पनि ध्यान दिनुपर्ने उल्लेख गर्दै उनले भने, “प्राकृतिक विपद्बाट बच्न आवश्यक तयारीका साथै भूगर्भविद्को ज्ञान र अनुभव आवश्यक छ ।” कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा कृष्णप्रसाद ओलीले प्राकृतिक स्रोतसाधनको व्यवस्थापन र सदुपयोगमा लाग्नुपर्ने बताए । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जटिल भौगोलिक विविधताका कारण व्यवस्थित बसोबासमा देखिएका चुनौतीका बारेमा बताउँदै भूकम्पपछिको पुनःनिर्माणमा भएका प्रगतिका बारेमा जानकारी दिए । कार्यक्रममा समाजका अध्यक्ष डा कविराज पौड्याल, उपाध्यक्ष गणेश त्रिपाठी, सम्मेलनका संयोजक राजेन्द्रप्रसाद खनाललगायतले समाजका गतिविधिका बारेमा जानकारी दिएका थिए । कार्यक्रममा भूगर्भ विकास क्षेत्रमा योगदान पुर्याएवापत भूवैज्ञानिक डा मेघराज धिमाल र नरेन्द्रबहादुर कायस्थलाई सम्मान गरिएको थियो । यही मङ्सिर ५ गतेसम्म चल्ने सम्मेलनमा १५ देशका करीब १५० भूगर्भविद्, भूवैज्ञानिक, खानी विशेषज्ञ, इञ्जिनीयरलगायत विज्ञको सहभागिता छ । विसं २०३७ मा स्थापित समाजले भूविज्ञानसम्बन्धी राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरको सम्मेलन, कार्यशाला, गोष्ठी, तालीमलगायत कार्यक्रम गर्दै आएको छ । रासस

आदित्य घोष ओयो होटल्सको दक्षिण एशियाको कार्यकारी अधिकृतमा नियुक्त

काठमाडौँ । दक्षिण एसियाकै सबैभन्दा ठूलो तथा संसारकै सबैभन्दा छिटो वृद्धि दर भएको ओयोको होटेल श्रृंखलालले भारत र दक्षिण एशियाको सीईओमा भारतको आदित्य घोषलाई नियुक्त गरेको छ । ओयो होटल व्यवसायको निरीक्षण र विकास गर्नको लागि दक्षिण एशिया जसमा इंडिया, नेपाल र अन्य आगामी बजारहरु पर्दछन् । आदित्य २१ वर्षको अनुभव भएका व्यवसायी हुन् । उनले उच्चस्तरीय ग्राहक अनुभव र निरन्तर उपजका लागि ध्यान दिनुका साथै यसको वृद्धि जारी गर्नेछन् । उनको भूमिका सल्लाहकार हुनुका साथै एक उच्च प्रदर्शनलाई पुरस्कार दिने र विविधता कायम राख्ने हुनेछ । यस होटेलको श्रृंखला विशाल बनाउन मात्र नभएर यसलाई लोकप्रिय होटल बनाउन पनि उनको नियुक्ति अति आवश्यक छ । आदित्यले ओयो होटल एंड होम्सका संस्थापक एवं समूह सीईओ रितेश अग्रवाललाई रिपोर्टिंग गर्नेछन् ।

छिमेक लघुवित्तका सीईओ रामचन्द्र जोशीको कार्यकाल थपियो

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीईओ) रामचन्द्र जोशीको कार्यकाल थपिएको छ । सञ्चालक समितिको कात्तिक २८ गते बसेको २१७औँ बैठकले जोशीको कार्यकाल थप्ने निर्णय गरेको हो । जोशीको पदावधी यही मंसिर १९ गतेबाट सकिने भएकाले लघुवित्तले उनको कार्यकाल आगामी एक वर्षसम्मलाई थपेको हो । कार्यकाल थप पश्चात जोशीले २०७६ साल मंसिर मसान्तसम्म प्रमुख कार्यकारी अधिकृतका रुपमा यस छिमेक लघुवित्तको नेतृत्व सम्हाल्नेछन् ।