इजरायलले नेपाली कामदारको कोटा बढाउने
काठमाडौं । ठूलो सङ्ख्यामा नेपाली कामदारलाई रोजगारीको अवसर प्रदान गर्न इजरायल सरकार सकारात्मक देखिएको छ । नेपाली कामदार मिहेनती, इमान्दार र अनुशासित भएका कारण नेपाली कामदारको सङ्ख्या बढाउन इजरायल सरकार सकारात्मक भएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग नेपालका लागि इजरायलका राजदूत बेन्नी अमेरले मंगलबार गरेका भेटमा नेपाली कामदारलाई थप रोजगारीको अवसर प्रदान गर्न इजरायल सरकार तयार रहेको बताए । सो अवसरमा मन्त्री विष्टले कृषि, पर्यटन तथा रोजगारीको क्षेत्रमा सहयोग आदानप्रदान गर्ने पर्याप्त सम्भावना रहेको र नेपाली कामदार विशेष गरी ‘केयर गिभर’को सङ्ख्या थप गर्न सकेमा दुवै देश लाभान्वित हुने बताए । श्रम सम्बन्धको माध्यमबाट नेपाल र इजरायलबीचको द्विपक्षीय सम्बन्धलाई अझै प्रगाढ बनाउन सकिने उनले बताए श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । भेटमा राजदूत अमेरले इजरायलबाट फर्की आएका युवाले इजरायली कृषि प्रविधिको प्रयोग गरी विभिन्न व्यवसाय सञ्चालन गरेका जानकारी पाउँदा आफू खुशी भएको बताए। घरेलु कामदारका रुपमा खाडी मुलुक पुगेका नेपालीले धेरै दुःख पाए पनि इजरायलमा केयर गिभरमा काम गर्ने नेपालीले शारीरिक तथा आर्थिक शोषणमा पर्नु पर्दैन । इजरायलले मुख्यगरी केयर गिभरमा नेपाल, फिलिपिन्स, श्रीलङ्का र भारतबाट महिला कामदार लैजाने गरेको छ । रासस
गभर्नरबाट सनराइज बैंकका अध्यक्ष मोतीलाल दुगडले लिए सपथ ग्रहण
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले सनराइज बैंकको संचालक समितिका अध्यक्ष मोतीलाल दुगडलाई आफ्नो कार्यालयमा पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् । मोतीलाल दुगड गत पुस २९ मा भएको बैंकको साधारण सभावाट पुनः संचालकमा निर्वाचित भई सर्वसम्मतबाट अध्यक्ष चुनिएका हुन् । सपथ ग्रहण समारोहमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटी, कार्यकारी निर्देशक तथा प्रवक्ता नारायणप्रसाद पौडेल, नेपाल राष्ट्र बैंकका अन्य पदाधिकारीहरु लगायत सनराइज बैंकका नवनिर्वाचित संचालक शारदाशर्मा पुडासैनी, प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, नायव महाप्रबन्धक अपछकुमार यादव र रविन नेपाल तथा कम्पनी सचिव ईश्वरकुमार पाठक उपस्थित थिए ।
साँग्रिला डेभलपमेन्ट बैंकका अध्यक्षले लिए शपथ ग्रहण, सञ्चालक समितिमा ६ जना
काठमाडौं । साँग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको अध्यक्षमा अच्युुतप्रसाद प्रसाई चयन भएका छन् । पुस ३० गते बसेको संस्थाको २२४औँ बैंठकले सञ्चालक समितिको अध्यक्षमा प्रसाईलाई चयन गरेको हो । नवनियुक्त अध्यक्ष प्रसाईले माघ १ गते नेपाल राष्ट्र बैंकका डेपुुटी गभर्नर चिन्तामणी शिवाकोटी समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ लागुु भएपछि ऐनमा बैंक तथा वित्तीय संस्थाका अध्यक्षले निर्वाचित भएसंगै तोकीएको ढाँचामा नेपाल राष्ट्र बैंक समक्ष शपथ लिनुु पर्ने व्यवस्था बमोजिम प्रसाईले शपथ लिएका हुन् । सोमबार सम्पन्न चौंधौ बार्षिक साधारण सभाले संस्थापक तथा सर्वसाधारण सेयरधनीहरुको तर्फबाट ३/३ जना गरि जम्मा ६ जनालाई संचालकमा निर्वाचित गरेको हो ।