कालिकोटको रास्कोट नगरमा श्रम बैंक, ५० वर्ष पुगेपछि पेन्सनसहित अवकाश

कालिकोट । जिल्लाको रास्कोट नगरपालिकाले मानवीय श्रम रोजगार बैंकको अवधारणा ल्याएको छ । ‘युवाको सान श्रमको सम्मान, नगर निर्माणको पहिचान’ भन्ने नाराका साथ नगरपालिकामा श्रम रोजगार बैंकको स्थापनासँगै औपचारिक रुपमा बुधबार उद्घाटन गरिएको छ । नगरपालिकामा वेरोजगार युवाहरुलाई रोजगार दिन आयोजित एक कार्यक्रमका बिच श्रम रोजगार बैंकको औपचारिक रुपमा उद्घाटन गरिएको हो । नगरपालिकाका नगर प्रमुख काशिचन्द्र बरालले नगरपालिकाबाट कामकै लागि भारत र खाँडी जाने दिनको अन्त्य गर्ने उद्देश्यसहित कार्यक्रम ल्याएको बताए । उनले युवा शक्ति विदेश पलायनले नकारात्मक प्रभाव परेको बताउँदै त्यसको अन्त्य गर्ने बताए । प्रमुख बरालले भने, “नगरपालिकाको बिकासको लागि आजकै दिनबाट दुई सय ६० जनालाई औपारिक रुपमा श्रममा लाग्नेछन् ।” स्थानीय तहको निर्वाचनभएको झण्डै दुई वर्ष पुग्नैलाग्दा नगरपालिकाको विकाशसँगै बेरोजगार युवाहरुलाई रोजगार दिन र नगरपालिकालाई समृद्धिको यात्रामा लैजान श्रम बैकको स्थापना गरिएको बरालले बताए । सुरुवातमा दुई सय ६० जनालाई १३ समूहमा विभाजन गरी काममा लगाउने कार्यविधि नगरपालिकाले बनाएको छ । प्रमुख बरालका अनुसार यो संख्यमा बिस्तारै सख्या बृद्धी गर्दै तीनहजार बनाउने लक्ष्य छ । “युवाहरुको समूहले नगरपालिकाभित्र जहाँ काम छ, त्यहाँ गएर काम गर्छन् । श्रम बैकमा रहेका युवाहरु ५० वर्ष पुगेको बेला प्यान्सेनसहित अवकास गर्ने कार्यबिधिमा उल्लेख गरिएको नगर प्रमुख बरालले जानकारी दिए । श्रम रोजगार बैकमा पुरुष–महिला दुबैको सहभागिता छ । नगरपालिकाभित्रको आय श्रोतमा निकै कमजोर मानियका घर परिवारका सदस्यले श्रम रोजगार बैकमा सहभागीता जनाएका छन् । बैकको अध्यक्षमा पदमवहादुर खड्कालाई जिम्मेवारी दिएको छ । यस्तै समुह व्यवस्थापकमा १२ जना खटिएका छन् । श्रम रोजगार बैकमा भाग लिने युवा तथा युवतीको छनोट प्रत्येक वडाबाट सिफारिस भइआएको आवेदक सदस्यहरुबाट छनोट गरिएको नगरपालिकाले जनाएको छ । धेरै जनसंख्या भएका वडाले ३२ जनासम्म छनोट गरेका छन् । नगरका वडा नं १ देखि ९ सम्म बढीमा ३२ र कम्तीमा २१ ज्ना छनोट गरेर श्रम रोजगार बैकमा समावेस गरिएको छ । श्रम रोजगार बैकमा भाग लिने युवाहरुको उमेर १८ वर्ष पुगेका र ४० वर्ष ननाघेको हुनुपर्ने कार्यविधिमा उल्लेख छ । उनिहरुले नगरका निर्माण,उत्पादन,सामाजिक विकृती, विपद व्यवस्थापन र सामाजिक सुरक्षाका बिभिन्न काममा भाग लिनेछन् । कुराकानीको क्रममा नगर प्रमुख बरालले साधारण लेखपढदेखि उच्च शिक्षा पढेका युवायुवतीलाई कामको सुनिश्चितता गरेर ५० वर्ष पुगेपछि अवकाश हुने गरी १० प्रतिशत रकम बचत गर्न लगाएर थप एक सय प्रतिशत नगरपालिकाले सहयोग गर्ने गरी कार्यविधि तयार पारिएको बताए । श्रम बैंकले काम दिने र मूल्यांकन पनि गर्ने र सोही आधारमा काम दिने कार्यविधिमा बनाइएको बरालले बताए । उनीहरुको श्रमको ज्याला बैंक खातामार्फत भुक्तानी गरिने बरालले बताए । श्रम बैंकमा काम गर्ने हरेक सदस्यको १० लाखको दुर्घटना बिमा नगरपालिकाले गर्ने र बिमाको प्रिमियम पनि नगरबाट भुक्तानी हुने छ । कुराकानीको क्रममा प्रमुख बरालले समाजवादी मोडेलको पहिलो खुट्किलो भएको बताए । उनले समाजवाद मुखले भनेर मात्रै हुँदैन अब योजनामा व्यक्त गर्नुपर्छ । “यो समाजवादी मोडेलको पहिलो खुड्किलो हो । यसलाई अझ परिस्कृत गर्दै लिन्छौं” बरालले भने । त्यसैगरी उपप्रमुख मिमसरा बमले श्रमयोग्य नागरिकलाई नगरपालिकाभित्रै रोजगारी प्रदान गर्ने लक्ष्य लिएर श्रम रोजगार बैंकको स्थापना गरिएको बताइन् । पहिलो चरणमा नगरपालिकाभित्रका दुई सय साठी जना युवा तथा युवतीलाई श्रम बैंकमार्फत पहिलोपटक रोजगारी दिइएको छ । घोषणा कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टि (नेकपा) का नेता जगतबहादुर शाहीले यो ब्यवस्थापनमा सबैलाई सहयोग गर्न आग्रह गरे । समाजिक बिकास समितिका संयोजक दयाराम सिम्खाडाले गरिब परिवारमा जन्मेर बेरोजगार युवाहरुको मनोभावनालाई मध्यनजर गरी नगरपालिकाले श्रम बेंकको अवधारणा ल्याएको बताए । चुनावदेखि अहिलेसम्म जनप्रतिनिधिले समाजवादको नारा लगाएपनि रास्कोट नगरपालिकाले कार्यक्रम सुरु गरेको छ । मानवीय श्रम बैंकको अवधारणा लागु गर्ने रास्कोट नगरपालिका पहिलो नै हो । यो तत्कालिन माओवादीले जनयुद्धको क्रममा छलफलमा ल्याएको थियो ।

सिद्धार्थ इन्स्योरेन्सको सञ्चालकमा सुमितकुमार केडिया

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीको सञ्चालकमा सुमितकुमार केडिया नियुक्त भएका छन् । कम्पनीको १४३औँ सञ्चालक समितिको बैठकले केडियालाई सर्वसाधारण सेयरधनीको तर्फबाट संचालकमा नियुक्त गराएको हो । कम्पनीको सञ्चालक समितिको बैठक गत फागुन २१ गते बसेको थियो । यसअघि कम्पनीको सञ्चालकपद सम्हालेका प्रमोद पाण्डेयले राजिनामा दिएपछि उक्त रिक्त पदमा केडियालाई नियुक्त गरिएकाे इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विरेन्द्र बैदवार क्षेत्रीले बताएका छन् ।

आईएमई लाइफइन्स्योरेन्सको सञ्चालक समितिमा दिपकशर्मा पोख्रेल नियुक्त

काठमाडौँ । आईएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिमा संस्थापक शेयरधनी एक्रशमनि ट्रान्सफर लिमिटेडको तर्फबाट दीपकशर्मा पोख्रेल नियुक्त एका छन् । कम्पनीलाई गराइएको जानकारी अनुसार सञ्चालक समितिमा शर्मालाई स्वागत गरिएको हो । समितिका अध्यक्ष, सदस्य तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले शर्मालाई स्वागत गरे । यसअघि उक्त कम्पनीको प्रतिनिधित्व इश्वरकुमार कार्कीले गर्दै आएका थिए । कार्यक्रममा सञ्चालक कार्कीलाई बिदाई समेत गरिएको थियो । कार्यक्रममा बोल्दै समितिका अध्यक्ष डा.रामहरि अर्यालले भर्खरै नियुक्ति पाएर सञ्चालक समितिमा आएका शर्मालाई सफल कार्यकालको शुभकामना दिएको कम्पनी सचिव प्रकाश न्यौपानेले जनाएका छन् ।