आयल निगमकाे कार्यकारी निर्देशकका लागि ५ जना सर्टलिष्टमा

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक पदका लागि प्रारम्भिक छनोटमा पाँच जना परेका छन् । निगमको कार्यकारी निर्देशका लागि आवेदन दिएका उम्मेदवारमध्ये शैक्षिक योग्यता, कार्यानुभव, व्यावसायिक कार्यायोजना र मामला अध्ययनसमेतको आधारमा उच्चतम अङ्क प्राप्त गर्ने पाँच जनालाई प्रारम्भिक रुपमा छनोट गरिएको हो । छनोट हुनेमा अनिलकुमार झा, तारानाथ पौडेल, रामप्रसाद धिताल, लोकबहादुर खड्का र सुरेन्द्रकुमार पौडेल रहेका छनोट तथा सिफारिश समितिले जनाएको छ । पाँच जना उम्मेदवारलाई व्यावसायिक कार्ययोजना र मामिला अध्ययनको प्रस्तुतीकरण एवं अन्तर्वार्ताका आधारमा छनोट गरिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले जानकारी दिए । छनोट भएका उम्मेदवारबाट यही पुस १९ गते मन्त्रालयमा व्यावसायिक कार्ययोजना र मामला अध्ययनको प्रस्तुतीकरण लिइनेछ । तीमध्ये निगमलाई व्यवस्थित ढङ्गबाट सञ्चालन गर्ने योजना पेश गर्ने योग्यतम् उम्मेदवारलाई निगमको कार्यकारी निर्देशकमा नियुक्तिका लागि सिफारिश गरिनेछ । निगमको डिपोका लागि जग्गा खरीद प्रक्रियामा भएको अनियमितापछि सरकारले पूर्वप्रबन्ध निर्देशक गोपालबहादुर खड्कालाई बर्खास्त गरेको थियो । (रासस)

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा पौडेल पुनः नियुक्त

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा प्रकाश पौडेल थप कार्यकालका लागि नियुक्त भएका छन् । पुस १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पौडेललाई आगामी चार वर्षका लागि सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो । पाैडेलको नयाँ कार्यकाल माघ १ गतेबाट शुरु हुनेछ ।

मेगा बैंकको स्वतन्त्र संचालकमा शिवादेवी काफ्ले पुनः नियुक्त

काठमाडौं । मेगा बैंक लिमिटेडको स्वतन्त्र संचालकमा शिवादेवी काफ्ले पुनः नियुक्त भएकी छिन् । हालै सम्पन्न बैंक सञ्चालक समितिको बैठकले काफ्लेलाई आगामी चार वर्षसम्मको लागि स्वतन्त्र संचालक पदमा नियुक्त गरेको हो । साथै, काफ्लेले गत पुस १२ गते आफ्नो पद तथा गोपनियताको सपथ ग्रहण गरी पदवहाली गरिसकेकी छिन् । यसअघि बैंकले गत भदौ १० गते कम्पनीको स्वतन्त्र संचालकको पदमा काफ्लेलाई नियुक्त गरेको थियो । सो अवधिमा काफ्ले देश बाहिर रहेकाले निर्धारित समयावधि भित्र पद तथा गोपनियताको सपथ ग्रहण गर्न असमर्थ रहेकी थिइन् । सोही कारणले बैंकले गत पुस ४ गते कम्पनीको स्वतन्त्र संचालक पदमा काफ्लेलाई पुनः नियुक्त गरेको हो ।