मुस्ताङ हेलिकप्टरलले माग्यो २ जना पाइलट

काठमाडौं । मुस्ताङ हेलिकप्टरलले २ जना पाइलट मागेको छ । मुस्ताङले एएस३५० सिरिजको हेलिकप्टर उडानका लागि पाइलट मागेको हो । इन्स्ट्रक्टर पाइलट र १ हजार २ सय घन्टाभन्दा बढी समयको उडान अनुभव चाहिने कम्पनीले जनाएको छ । मुस्ताङले दुई दशकभन्दा बढी समयदेखि सार्वजनिक र निजी क्षेत्रलाइ हेलिकप्टर सेवाहरू प्रदान गर्दै आएको छ । फ्लीटमा मध्यवर्ती, मध्यम, भारी लिफ्टिङ र जुम्ल्याहा इन्जिनहरू क्याट ए र क्लास १ प्रदर्शन समावेश छन् । मुस्ताङ क्यानडाको अग्रणी हेलिकप्टर सेवा प्रदायकहरू मध्ये एक हो ।

यूनाइटेड अजोडको डीसीईओ बन्दै रेना रिजाल, वसन्तपञ्चमीका दिन शुभ साइत

काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्स कम्पनीकी उप-महाप्रबन्धक (डीजीएम) रेना रिजाल यूनाइटज अजोड इन्स्योरेन्स कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) बन्ने भएकी छिन् । अबको एक साताभित्र नै रिजाल यूनाइटेड अजोडमा आवद्ध हुने जनाइएको छ । सानिमा जीआईसीमा उनको सम्झौता मंगलबार सकिएको छ । सम्झौता सकिएसँगै उनी आज सो कम्पनीबाट बिदा भएकी छन् । उनले वसन्त पञ्चमीदेखि यूनाइटेड अजोडमा आवद्ध हुने योजना रहेको जानकारी दिइन् । यूनाइटेड अजोड इन्स्योरेन्समा विगत ५ महिनादेखि डीसीईओको पद खाली रहेको छ । तत्कालीन डीसीईओ नवीन सुवेदीले गत भदौ २८ गते राजीनामा दिएर कम्पनीबाट बाहिरिएसँगै कम्पनीमा डीसीईओको पद रिक्त भएको थियो । बीमकको संस्थागत सुशासनसम्बन्धी निर्देशिका, २०८० अनुसार कुनै पनि बीमा कम्पनीमा डीसीईओ रिक्त भएको ३ महिनाभित्र पदपूर्ति गरिसक्नु पर्दछ । निर्देशिकाको दफा २८ को उपदफा ३ मा डीसीईओ पद रिक्त भएको ३ महिनाभित्र परिपूर्ति गरिसक्नु पर्ने उल्लेख छ । तर, कम्पनीले डीसीईओ पद रिक्त भएको ५ महिनासम्म पनि पदपूर्ति गरेको थिएन । को हुन् उनी ? काठमाडौंको आनन्तकोटी विद्यापीठमा अध्ययन गर्दागर्दै रेना पाकिस्तान पुगिन् । बुबा सरकारी जागिरे भएकाले स्कुले जीवन केही वर्ष पाकिस्तानमै बित्यो । उनले एसएलसी पनि पाकिस्तानबाट नै दिइन् । उनले कलेज भने काठमाडौंमै पढिन् । विज्ञान विषय लिएर अमृत साइन्स क्याम्पसबाट १२ पास गरेपछि त्रिचन्द्र कलेजबाट बीएससीको अध्ययन पुरा गरिन् । त्रिभुवन विश्वविद्यालयबाट एमबीएको उपाधि हासिल गरेकी रिजालले २०५७ सालदेखि जागिर सुरु गरेकी थिइन् । बैंकिङ र बीमा क्षेत्रको २ दशक बढीको अनुभव रहेको छ । सर्वप्रथम उनी २०५७ सालमा तत्कालीन एभरेष्ट इन्स्योरेन्समा अफिसरको रूपमा काम सुरु गरेकी रेनाले ९ वर्षपछि कुमारी बैंकमा आवद्ध भइन् । उनी कुमारी बैंकमा सहायक प्रवन्धक पदमा आवद्ध भएकी थिइन् । ११ वर्ष काम गरेरपछि उनी कुमारी बैंकबाट बाहिरिइन् । कोभिडको समय भएकाले केही समय उनले विश्राम लिइन् । करिब ४ वर्ष अघि उनी फेरि बीमा क्षेत्रमा नै कमब्याक भइन् । करिब ४ वर्षअघि तत्कालीन सानिमा इन्स्योरेन्समा उप महाप्रवन्धक पदमा आवद्ध भएकी रेना सानिमा र जीआईसी मर्ज भएपछि बनेको कम्पनी सानिमा जीआईसीमा पनि उनी सोही पदमा थिइन् ।

बैंकर पन्थी बने राष्ट्रिय जीवन बीमा कम्पनीको सीईओ, आईपीओबाट ५ अर्बको पुँजी पुर्‍याउने प्रतिबद्धता

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुन्दर पन्थी नियुक्त भएका छन् । मंगलबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पन्थीलाई चार वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीले मसिंर ६ गते सीईओको दरखास्त माग गर्दै सूचना सार्वजनिक गरेको थियो । सीईओ बन्नका लागि आठ जनाले आवेदन दिएका थिए । कम्पनीको पदपुर्ति समितिले चार जनाको नाम सर्टलिष्टमा राखेको थियो । पन्थीसँगै महेश रिमाल, राजुनाथ खनाल र रामदेव यादव सर्टलिष्टमा परेका थिए । अन्य प्रतिस्पर्धीलाई पछि पार्दै पन्थी सीईओ बनेका हुन् । तत्कालीन बीमा संस्थान २०८० सालको कात्तिकमा कम्पनीमा परिणत भएको थियो । त्यससँगै कम्पनी व्यवस्थापकीय नेतृत्वविहीन भएको थियो । कम्पनीको कार्यवाहक सीईओको रुपमा कम्पनीका नायब कार्यकारी अधिकृत (डीसीईओ) महेश रिमालले काम गर्दै आएका थिए । पन्थी बैंकरका रुपमा परिचित छन् । व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका पन्थीसँग बैंकिङ क्षेत्रमा दुई दशक काम गरेको अनुभव छ । वि.सं २०६१ सालमा उनी बैंकिङ क्षेत्रमा प्रवेश गरेका थिए । वि.सं २०६१ सालमा नेपाल बैंकको उपप्रबन्धक पदबाट करिअर सुरु गरेका उनले सोही बैंकमा २० वर्षसम्म काम गरे । नेपाल बैंकमा उपप्रबन्धक, प्रबन्धक, वरिष्ठ प्रबन्धक हुँदै मुख्य प्रबन्धक भएर काम गरेका थिए । सो अवधिमा उनले बैंकको विभिन्न विभागमा रहेर काम गरे । अर्घाखाँचीको छत्रदेवमा जन्मिएका पन्थीले स्कुलसम्मको पढाइ गृहजिल्लामै गरे । उनले १२ कक्षासम्मको पढाइ भैरहवाबाट र स्नातकसम्मको पढाइ पोखराबाट पुरा गरे । पोखराको पीएनसी क्याम्पसबाट बीबीएसको अध्ययन पुरा गरेर उनी एमबीएस अध्ययनका लागि काठमाडौं आएका थिए । त्रिभुवन विश्वविद्यालयबाट एमबीएस पास गरेका उनीसँग वित्तीय क्षेत्रको राम्रो ज्ञान छ । नवनियुक्त सीईओ पन्थीले नयाँ चुनौती सामना गर्न बैंकिङ क्षेत्रबाट बीमामा प्रवेश गरेको धारणा राखे । बीमा संस्थान कम्पनीमा परिणत भएसँगै कम्पनीका रुपमा उभ्याउन धेरै कामहरु गर्न बाँकी रहेको बताउँदै उनले ती कामहरु आफ्नो नेतृत्वमा सम्पन्न गर्ने बताए । ‘कम्पनीको बाँकी रहेको लेखा परीक्षणको काम गर्छु, नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीका लागि तोकेको पुँजी ५ अर्बको चुक्ता पुँजी पुर्याउने मेरो पहिलो प्राथमिकता रहन्छ, त्यसका लागि आईपीओमा पनि जान सकिन्छ,’ उनले विकासन्युजसँग भने ।