नेप्सेको अध्यक्षमा हेमन्त बस्याल नियुक्त
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अध्यक्षमा हेमन्त बस्याल नियुक्त भएका छन् । मन्त्रीस्तरीय निर्णयमार्फत उनलाई ३ वर्षे कार्यकालका लागि नियुक्त गरिएको हो । नेप्से लामो समयदेखि अध्यक्षविहीन अवस्थामा थियो । शोभाकान्त पौडेल सहसचिवबाट सचिवमा बढुवा भएपछि नयाँ अध्यक्ष नियुक्ति नभएको अवस्थामा बस्याललाई जिम्मेवारी दिइएको हो । बस्याल यसअघि एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० थिए । उनले केही दिनअघि व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएका थिए । करिब दुई वर्षअघि उनी सो कम्पनीको सीईओ बनेका थिए ।
गल्फ लुब्रिकेन्ट्सको पार्टनर मिटमा पूजा महतो ब्रान्ड एम्बेसडर नियुक्त
काठमाडौं । नेपाल ल्युब आयलले हालै पोखरामा आयोजित वार्षिक पार्टनर मिट सम्पन्न गरेको छ । रेडीफाइन योर लिमिटस भन्ने नारासहित आयोजना गरिएको कार्यक्रममा देशभरका ३३ भन्दा बढी व्यवसायिक पार्टनर, कम्पनी सञ्चालक समिति तथा प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रममा पार्टनरहरूको क्षमता विकासका लागि विशेष प्रशिक्षण सत्र, विगत वर्षको समग्र समीक्षा तथा आगामी वर्षका लागि रणनीतिक रोडम्याप प्रस्तुत गरिएको थियो । त्यस्तै, उत्कृष्ट प्रदर्शन गर्ने पार्टनरलाई विभिन्न विधामा सम्मानसमेत गरिएको कम्पनीले जनाएको छ । सोही अवसरमा नेपाल ल्युब आयल लिमिटेडले राष्ट्रिय महिला यू–१९ क्रिकेट टोलीकी उप–कप्तान पूजा महतोलाई गल्फ लुब्रिकेन्ट्सको आधिकारिक ब्रान्ड एम्बेसडर नियुक्त गरेको घोषणा गर्यो । महतोले हालै आईसीसी यू–१९ महिला विश्वकप २०२५ को टिम अफ द टुर्नामेन्ट मा स्थान बनाउन सफल हुँदै एसोसिएट राष्ट्रबाट यो सम्मान पाउने एकमात्र खेलाडीको रूपमा इतिहास रचेकी थिइन् । कम्पनीका अनुसार महतोको लगनशीलता र अथक मेहनतले नेपाली महिला क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ उचाइमा पुर्याइरहेको छ र यो सहकार्यले कम्पनीसँगै सम्पूर्ण नेपाली महिला क्रिकेटलाई समेत लाभ पुग्ने अपेक्षा गरिएको छ । ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त भएपछि महतोले गल्फजस्तो विश्वव्यापी प्रतिष्ठित ब्रान्डसँग सहकार्य गर्न पाउँदा खुशी व्यक्त गर्दै यसले आफूलाई मात्र होइन, भविष्यका महिला क्रिकेटरलाई पनि प्रेरणा दिने विश्वास व्यक्त गरिन् ।
रविन्द्र ढाँट बने रोहिणी इन्टरनेसनल एजुकेसन सर्भिसेजका ब्रान्ड एम्बास्डर
काठमाडौं । नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) फाइटर रविन्द्र ढाँट रोहिणी इन्टरनेसनल एजुकेसन सर्भिसेजको ब्रान्ड एम्बास्डरमा नियुक्त भएका छन् । १७ वर्षअगाडि स्थापना भएको रोहिणी इन्टरनेसनलले आफ्नो सफलतायात्रामा ढाँटलाई एम्बास्डरको रूपमा प्रस्तुत गर्दै नयाँ अध्याय सुरू गरेको हो । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) अध्यक्ष शेषराज भट्टराईले रोहिणीलाई इतिहास बोकेको संस्था भन्दै ढाँटलाई एम्बास्डर बनाउनु गर्वको विषय भएको बताए । उनले ढाँटको प्रशंसा गर्दै भने, 'देशले यस्तो व्यक्तित्व पाउनु सौभाग्य हो, उनले नेपालको खेल क्षेत्रमा ठूलो योगदान दिएका छन् ।' त्यस्तै, रोहिणी इन्टरनेसनल एजुकेसन सर्भिसेजका म्यानेजिङ डाइरेक्टर श्याम भण्डारीले ढाँटको समावेशीले संस्थाको गरिमा बढ्ने विश्वास व्यक्त गरे । उनले भने, 'ढाँटले मेहनत र समर्पणबाट सफलता हासिल गरेका छन् । यसले युवालाई प्रेरणा दिनेछ ।' ब्रान्ड एम्बास्डर नियुक्त भएपछि रविन्द्र ढाँटले रोहिणी परिवारलाई धन्यवाद दिदैँ यो जिम्मेवारीलाई प्रचारभन्दा बढी सहयोगको रूपमा लिने बताएका छन् । 'जीवनमा अझ धेरै गर्न बाँकी छ, आगामी बाटो सहज हुने विश्वास छ,' उनले भने । इक्यानका पूर्वअध्यक्ष राजेन्द्र बरालले ढाँटको योगदानलाई ऐतिहासिक ठहर गर्दै भने, 'बैतडीबाट काठमाडौं आएर उनले नयाँ इतिहास रचेका छन् । भारतमा घाइते भएर पनि देश चिनाएका ढाँटलाई रोहिणीले एम्बास्डर बनाउनु गौरवको विषय हो ।' रोहिणी इन्टरनेसनलका मार्केटिङ डाइरेक्टर दया थापाले एम्बास्डर नियुक्तीलाई कसैलाई सहयोग गर्ने उद्देश्यसँग जोडिएको बताए । उनले भने, 'रोहिनीले समय–समयमा विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ । ढाँटलाई पनि निरन्तर साथ दिनेछ ।' रोहिणी इन्टरनेसनल एजुकेसन सर्भिसेज काठमाडौंस्थित एक अग्रणी विदेश अध्ययन सल्लाहकार संस्था हो । विशेषगरी न्यूजिल्यान्डमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि विशेषज्ञ मार्गदर्शन प्रदान गर्दै आएको छ । संस्थाले अंग्रेजी तयारी कक्षा, आईईएलटिएस तयारी कक्षा तथा अन्य शैक्षिक परामर्श सेवा पनि प्रदान गर्दै आएको छ ।