इन्स्पेक्टरसहित सशस्त्र प्रहरीमा भर्ना खुल्यो, १ हजार १७९ जनालाई रोजगारीको अवसर
काठमाडौं । सशस्त्र प्रहरीमा १ हजार भन्दा धेरै जनाका लागि भर्ना खुलेको छ । सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) देखि चर्मकर्मीसम्मका लागि भर्ना खुलेको हो । शुक्रबार विभिन्न पदमा १ हजार १७९ जनाका लागि आवेदन आह्वान गर्दै सशस्त्र प्रहरी बल प्रधान कार्यालयले सूचना पक्राशित गरेको हो। सशस्त्र प्रहरी निरीक्षकमा ६८ जना, सशस्त्र प्रहरी सहायक निरीक्षकमा ८३ जना र सशस्त्र प्रहरी जवानमा ९४१ जनाका लागि भर्ना खुलेको छ । यसैगरी भान्छे २० जना, कूचिकार १९ जना, सूचिकार १० जना, केशकर्तक २४ जना र चर्मकर्मी १४ जनाका लागि भर्ना खुलाएको हो । दरखास्त दिने म्याद पुस २४ गतेदेखि माघ २४ गतेसम्म छ ।
सीडीएससीको प्रबन्ध सञ्चालक पन्दाकले लिइन् शपथ
काठमाडौं । धितोपत्र कारोबार राफसाफ कम्पनी सिडिएस एण्ड क्लियरिङको प्रबन्ध सञ्चालकले प्रविन पन्दाकले शपथ लिएकी छन् । उनले बुधबार सिडिएस सञ्चालक समितिका अध्यक्ष कृष्ण बहादुर कार्कीबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरी कार्यभार समालेकी छन् । ४ वर्षे कार्यकालका लागि उनलाई प्रबन्ध सञ्चालक पदमा नियुक्त गरिएको हो । उनी यसअघि सीडीएससीकै सञ्चालक सदस्य थिइन् । यसअघिका सीईओ रहेका पूर्णप्रसाद आचार्यको कार्यकाल तीन महिनाअघि सकिएपछि सीडीएससी प्रमुख कार्यकारीविहीन रहँदै आएको थियो ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयको रजिष्ट्रारमा डा पाल नियुक्त
काठमाडौं । प्रधानमन्त्री एवं कृषि तथा वन विज्ञान विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले कृषि तथा वन विज्ञान विश्वविद्यालयको रिक्त रजिष्ट्रारमा प्रा डा पुष्करबहादुर पाललाई नियुक्त गरेका छन् । सोही विश्वविद्यालयमा कार्यरत डा पाल पशु चिकित्साविज्ञ हुन् । विश्वविद्यालयका उपकुलपति प्रा डा शारदा थपलियाको सिफारिसमा कुलपति ओलीले आज डा पाललाई नियुक्त गरेका हुन् । चितवनको रामपुरस्थित सो विश्वविद्यालयमा करिब चार हजार विद्यार्थी अध्ययनरत छन् ।