दुग्ध बिक्रीबाट मासिक ९० हजार नाफा कमाउँदै यादव, स्वदेशमै स्वरोजगार बन्न सकिने
इनरुवा । जिल्ला सदरमुकाम इनरुवा–२ का रविन्द्र यादवले इनरुवा–२ मा दुग्ध डेरी सञ्चालन गरी मासिक ९० हजार बचत गर्दै आएका छन् । रोजगारीको खोजीमा दैनिक रूपमा मोटो रकम खर्च गरेर विदेशतर्फ जाने युवालाई उनले उक्त रकम स्वदेशमा लगानी गरी स्वरोजगार बन्ने सकिने सन्देश दिएका छन् । मधेस आन्दोलनका बेलामा नेतृत्वदायी भूमिका निर्वाह गरेका यादवले कुनै ठाउँमा अवसर नपाएपछि ॐ शिवम दुग्ध तथा डेरी उद्योग सञ्चालन गरे । उनले स्थानीय तथा ग्रामीण क्षेत्रका किसानबाट दूध संकलन गरी बिक्री गर्नुका साथै बचेको दूधबाट दही, पनिर र खुवा बनाएर बिक्री गर्दै आएका हुन् । यादवले अहिले सबै खर्च कटाएर मासिक ९० हजार रुपैयाँसम्म आम्दनी भइरहेको जानकारी दिए । हरिनगर गाउँपालिकाबाट दैनिक तीन सय लिटर र देवानगञ्ज गाउँपालिकाबाट दुई सय लिटर दूध संकलन हुँदै आएको उनले उल्लेख गरे । दैनिक रूपमा पाँच सय लिटर दूध, एक सय किलो, दही, दुई किलो खुवा र पाँच किलो पनिर बिक्री हुँदै आएको यादवले जानकारी दिए । उनका अनुसार मासिक रूपमा एक लाख २० हजार रुपैयाँ आम्दानी हुनेमा सबै खर्च कटाउँदा ९० हजार रुपैयाँ बचत भइरहेको छ । ‘साँझ र बिहान गरी दैनिक पाँच सय लिटरसम्म दूध बिक्री गर्दै आएको छु’, यादवले भने, ‘मासिक रूपमा बिजुली, घर भाडा, कर्मचारीलाई तलबलगायत अन्य खर्च ३० हजार रुपैयाँ हुँदै आएको छ ।’ रोजगारीका लागि विदेश जानुभन्दा स्वदेशमा स्वरोजगारका अवसर सृजना गर्नुपर्नेमा उनले जोड दिए । युवालाई विदेश पलायन हुनबाट रोक्न स्थानीय सरकारले तालिम, सीप प्रदान, अनुदान वितरणलगायत सहयोग गर्नुपर्ने उनको भनाइ छ । रासस
दोर्दी खोला जलविद्युतको सीईओमा उमेश पुडासैनी
काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा उमेश पुडासैनी नियुक्त भएका छन् । पुस ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पुडासैनीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । पुडासैनीलाई पुस ८ गतेदेखि नै लागू हुने गरी सीईओमा नियुक्त गरिएको नेप्सेले जनाएको छ ।
विद्युत् प्राधिकरणले माग्यो ठुलो संख्यामा कर्मचारी
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विभिन्न पदका लागि ठुलो संख्यामा कर्मचारी मागेको छ । प्राधिकरणले एक सूचना जारी गर्दै पाँचौँ तहदेखि दसौँ तहसम्मको प्रशासन र प्राविधिकतर्फ विभिन्न पदका लागि कर्मचारी मागेको हो । खुला प्रतियोगितात्मक लिखित परीक्षामार्फत प्राधिकरणले ९५३ जना स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो । प्राधिकरणले दसौँ तह अन्तर्गत प्राविधिकतर्फ एक जना प्रबन्धक माग गरेको छ भने आठौँ तह प्रशासनतर्फ सहायक निर्देशक दुई जना र एक जना सहायक प्रबन्धकका लागि दरखास्त आह्वान गरेको हो । यस्तै, प्रशासकीय अधिकृत, कानुन अधिकृत, लेखा अधिकृत, चार्टर्ड एकाउन्टेन्ट, इलेक्ट्रिकल इन्जिनियर, इन्जिनियर लगायत सहायक स्तरका विभिन्न पदहरूमा दरखास्त मागेको हो । प्राधिकरणले विभिन्न प्रदेशका लागि मिटररिडिङ सुपरभाइजर, लेखापाल, सुपरभाइजर, सिनियर कम्युनिकेसन इक्विपमेन्ट अपरेटर, सुपरभाइजर लगायतका पदका लागि पनि दरखास्त आह्वान गरेको छ । योग्यता पुगेका इच्छुक नेपाली नागरिकले पुष २५ गतेसम्म आवेदन दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर माग ३ गतेसम्म आवेदन दिन सक्नेछन्। आवेदन अनलाइनमार्फत दिनु पर्नेछ ।