भरतपुर महानगरपालिकाले दियो निःशुल्क तालिम, ७ हजारभन्दा बढी लाभान्वित

चितवन । भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा ७ हजार २ सय ४१ जनालाई निःशुल्क सीप विकास तालिम दिएको छ । उत्पादनलाई प्राथमिकता दिंदै महानगरस्तरीय तथा वडा स्तरमा वैदेशिक रोजगार बोर्डको सहकार्यमा सञ्चालन गरिएका तालिममा पुरुष २ हजार ५९१ र महिला ४ हजार ६५० जनाले सहभागिता जनाएका थिए । महानगरको रोजगारी शाखाका अनुसार तालिममा प्लम्बिङ, केयर गिभर, मण्टेश्वरी, फेसन डिजाइन, इलेक्ट्रिसियन, ग्राफिक डिजाइन, ब्युटी पार्लर, बालबालिकाको क्षमता वृद्धि, महिलाको आन्तरिक क्षमता वृद्धि, बुटिक, पोते, कौसी खेती, पञ्चेबाजा, मादल तथा खैंजडी, झोला, जुत्ता–चप्पल, अचार बनाउनेजस्ता सीप समावेश थिए। यस्तै, कृषि, बेकरी, साबुन, सरफ, भाँडा धुने झोल, फिनेल, घरेलु फोहोर व्यवस्थापन, चित्रकला, कपाल काट्ने, अमिन, झुम्का, माला, नेकलेस, चुरा, ड्राइभिङ, एडभान्स ब्युटी पार्लर, कुक, सेनेटरी प्याड बनाउनेलगायत तालिम पनि सञ्चालन गरिएको थियो । यी तालिमहरू १५ दिनदेखि ३ महिना अवधिसम्म सञ्चालन गरिएको महानगरले जनाएको छ । श्रमलाई उत्पादनसँग जोड्दै सीप नभएकालाई सीपयुक्त बनाउन, सीप भएकालाई रोजगारी तथा स्वरोजगारमा प्रवर्द्धन गर्न र सीपयुक्त भए पनि व्यावसायिक स्तर नपुगेकालाई सुदृढ बनाउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको हो । भरतपुर महानगर प्रमुख रेनु दाहालले पूर्वाधार निर्माणसँगै विभिन्न परियोजनामा दक्ष जनशक्तिको माग बढेकाले निःशुल्क तालिमलाई प्राथमिकता दिएको बताइन् । 'यहाँका उद्योग, कलकारखाना लगायतका क्षेत्रमा भारतसहित अन्य देशबाट दक्ष जनशक्ति ल्याउनुपर्ने बाध्यता छ । त्यसलाई हटाउन हामी आफ्ना युवालाई सीपयुक्त बनाउँदैछौं,' प्रमुख दाहालले भनिन् । उनका अनुसार तालिममार्फत युवालाई स्वरोजगार बनाई स्वदेशमै बस्ने वातावरण तयार गर्ने महानगरको लक्ष्य रहेको छ । महानगरले आगामी आर्थिक वर्षमा निःशुल्क तालिम कार्यक्रमलाई अझ विस्तार गर्ने योजना बनाएको पनि जनाएको छ ।

रोजगारी सृजना र प्रवर्द्धन प्राथमिकतामा छ : मन्त्री दाहाल

काठमाडौं । भौतिक पुर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले रोजगारी सृजना र प्रवर्द्धन हुने कार्यक्रमलाई प्राथमिकतामा दिएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित विद्युतीय परिवहनको साधारणसभालाई सम्बोधन गर्दै उनले रोजगारी प्रवर्द्धनका लागि विभिन्न तालिम, प्रशिक्षण तथा सीप हस्तान्तरणका कार्यक्रम सन्चालन गरि रहेको पनि बताए ।  वातावरणमैत्री र स्वच्छ उर्जाको उपयोग गरि थप रोजगारी सृजना तर्फ लाग्नु पर्ने उनले उल्लेख गरे । स्वदेशमै उत्पादित विद्युतको उपयोग प्रवर्द्धन गरि नेपाली मुद्रा विदेश जान बाट रोक्न सकिने तर्फ ध्यान दिने बेला आएको पनि मन्त्री दाहालले बताए । विद्युतीय परिवहनको माध्यमबाट नेपाली महिला तथा युवाहरु स्वरोजगार समेत भइरहेकोले यस क्षेत्रलाई आवश्यक नियम बनाइ थप व्यवस्थित पारिने समेत उनले उल्लेख गरे ।  कार्यक्रममा ठाकुर गैरे, विभिन्न यातायात व्यवसायिक लगायतले विद्युतीय यातायात प्रवर्द्धनमा जोड दिएका थिए । 

खुला प्रतिस्पर्धाबाट बीमा प्राधिकरणको अध्यक्ष नियुक्ति गरिने, ७ दिनभित्र आवेदन दिनुपर्ने

काठमाडौं । खुला प्रतिस्पर्धाबाट नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्ति गरिने भएको छ । बीमा प्राधिकरणको सञ्चालक समिति अध्यक्ष नियुक्तिको लागि गठित सिफारिस समितिले खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने भएको हो ।  प्राधिकरणको अध्यक्षका लागि खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्ति गरिने भएकोले योग्यता पुगेका इच्छुक नेपाली नागरिकले ७ दिनभित्र आवेदन दिनुपर्नेछ । आवेदन भने अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा बुझाउनुपर्ने सिफारिस समितिले जनाएको छ ।  सिफारिस समितिका अनुसार बीमा ऐन, २०७९ को दफा ६ को उपदफा (१) (क) बमोजिम बीमा, मौद्रिक, बैंकिङ, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्याङ्कशास्त्र, गणित, अर्थशास्त्र वा कानून विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तीमा ५ वर्षको उच्च व्यवस्थापकीय कार्य अनुभव हासिल गरेको व्यक्तिले आवेदन दिन पाउने छन् ।  यस्तै, उच्च नैतिक चरित्र भएको, बीमा ऐनको दफा ८ को उपदफा (३) बमोजिम अयोग्य नभएको, ३० वर्ष उमेर पूरा भई ६५ वर्ष उमेर ननाघेको व्यक्ति आवेदन दिन पाउनेछ ।  आवेदन दिँदा दस्तुर बापत ७ हजार ५ सय रुपैयाँ भौचर बुझाउनुपर्नेछ । अध्यक्षले पाउने मासिक पारिश्रमिक, भत्ता, सुविधा तथा सेवाका अन्य सर्त सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ । नेपाल बीमा प्राधिकरणको अध्यक्ष छनोटका लागि सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ । प्राधिकरणको अध्यक्ष सिफारिस समितिको सदस्यमा अर्थ सचिव घनश्याम उपाध्याय र विज्ञ सदस्यमा खोमराज खरेल रहेका छन् ।